यो गठबन्धन प्रतिगमनको पक्षमा छैन, जाँदैन : ओली

काठमाडौँ ,२५ पाैष ।

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धन प्रतिगमनको पक्षमा नरहेको बताएका छन् । आफू प्रधानमन्त्री भएको बेला दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेका ओलीले त्यो काम सही भएको जिकिर गरेका थिए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा ओलीले प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको जिकिर गर्दै भने‚ ’नेपालमा बडो हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन भनेको प्रतिगमन हो कि ! बेलायतमा त कतिपल्ट प्रतिगमन भएछ त्यसो भए त ! संसदीय प्रणालीको जन्मदाता देशामा प्रतिगमन अस्तिसम्म भएको थियो । यति धेरै जान्ने पनि अलिक नहौं कि !’

मौकाअनुसारका व्याख्या यति धेरै भएको भन्दै उनले भने, ’प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन । जनताका अधिकार खोसिनु प्रतिगमन हो । जनताको अभिमतका लागि जनतामा जानु र सार्वभौम सत्ताबाट आदेश प्राप्त गर्नु प्रतिगमन होइन । संसद्बाट सरकार बन्नु, संसद्बाट सरकार ढल्नु प्रतिगमन होइन । अन्यत्रबाट सरकार ढाल्ने गरियो भने त्यो प्रतिगमन हो । अहिलेको गठबन्धन प्रतिगमनमको पक्षमा छैन, जाँदैन । सरकार बनाउने र कुठाउँबाट सरकार बनाउनेमा जाँदैन, जानु हुँदैन ।’

वर्तमान सत्ता समीकरण राष्ट्रियताको पक्षमा जाने ओलीले बताए । उनले राजनीतिक दलहरूलाई सुशासन र भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने बताए । सरकारले तत्काल जनताको पक्षमा लाग्नुपर्ने र सस्तो प्रचारमा लाग्न नहुने उनको भनाइ थियो ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया