२२ औं आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई

पोखरा,२४ पाैष ।

पाहुना टोली भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकालाई अतिरिक्त समयमा पराजित गर्दै संकटा क्लब २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। निर्धारित समयमा २–२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको दोस्रो हाफमा संकटाका कप्तान सुनिल बलले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए। जित संगै संकटाले आहा रारा पोखरा गोल्डकपमा दोस्रो पटक उपाधि उचाल्यो। यस अघि संकटाले १९ औं संस्करणको उपाधि उचालेको थियो। त्यति बेला संकटाले विदेशी टीम अफ्रिकन रुट्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।

पोखरा रंगशालामा शनिबार भएको फाईनल खेल निकै प्रतिस्पर्धात्मक रहयो। दुई गोलले पछि परेको भुटनिज युथ कम्ब्याक गर्दै पहिलो हाफमै बराबरी गोल फकाउन सफल रहयो। दोस्रो हाफमा पनि भुटनिज युथले निकै राम्रो अवसर पाएर पनि उपयोग गर्न सकेन। संकटाको आक्रमणलाई पनि विफल बनाएको थियो। संकटाले खेलको पहिला गोल पहिलो हाफको ८ औं मिनेटमा गर्दै अग्रता लिएको थियो।

निसान खड्काको क्रसबललाई भुटनिजका गोलकिपर पुजन थापा मगरले बचाउँ गर्ने क्रममा रिवाउण्ड भएको बललाई उपयोग गर्दै सुरजजिउ ठकुरीले पहिलो गोल गरेका थिए। खेलको ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै टीमलाई दुई गोलको अग्रताको अवस्थामा पु¥याए। मेसुकेले सुनिल बलको क्रस बललाई उपयोग गर्दै हेडबाट गोल गरेका थिए।

२ मिनेटमै भुटनिजका रेने सान्तलिनले गोल फर्काउँदै गोल अन्तर कम गराए। ३७ औं मिनेटमा मिगेल पालाफक्सको क्रसमा रेनेले बललाई जाली चुमाएका थिए। पहिलो हाफको अतरिक्त समय (४५ प्लस ३ )मा भुट्निजका विल्स ग्रिफिथले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। धिरज थाजलीको फ्रिकिकलाई विल्स ग्रिफितले उपयोग गर्दै गोल गरेका थिए। पहिलो हाफ २–२ बराबरी गोलमा टुगिएको खेल दोस्रो हाफको निधारित समयमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेलको निणार्यार्थ ३० मिनेट थपिएको थियो।

अतिरिक्त समयको पहिलो हाफ पनि गोल रहित रहयो। खेलको ११७ र्औ मिनेटमा संकटाका कप्तान सुनिल बलले गोल गर्दै उपाधि दिलाए। बलले मेसुकेको पासमा पाएको बललाई जाली चुमाएका थिए। फाईनल खेलको म्यान अफ दि म्याच मेसुके भए।

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी पुरस्कार संकटाका सुनिल बलले पाए। उनले इलेक्ट्रिक स्कुटर पाए। सर्वाधिक गोलकर्ताको पुरस्कार चार गोल गरेका संकटाका स्ट्राईकर मेसुकेले पाए। संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलरक्षक घोषित हुँदा उत्कृष्ट डिफेण्डर भुटनिजका हेक्टर ओर्टेगा भए। बेष्ट मिडफिल्ड संकटाका आयुष घालान बने।

उत्कृष्ट स्ट्राईकरको पुरस्कार संकटाका स्टेफन विनोङले पाए। उत्कृष्ट प्रशिक्षक संकटाकै सल्यान खड्गी बने। उत्कृष्ट पाँच विधाका विजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गरे।

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको च्याम्पियन संकटा क्लबले १२ लाख नगद सहित ट्रफी उचाल्यो। उपविजेता भुटनिज युथ स्पोर्टस मिनेसोटा अमेरिकाले ६ लाख रुपैयाँ नगदसहित ट्रफी पायो ।

सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपका पुरस्कार वितरण कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायतले विजेता, उपविजेता लगायतलाई पुरस्कार प्रदान गरेका थिए। गोल्डकपको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउ थियो।

अन्नपुर्ण

तपाईको प्रतिक्रिया