साहित्य कुञ्ज : ‘फ्ल्यास–ब्याक’ फोक्सुण्डा

सुरेन्द्र राना ‘ घुमफिरे’

सुर्खेत,२३ पाैष ।

गत सालदेखि सुरु भएको कोरोना महामारीले विश्वलाई नै आक्रान्त पार्यो । बन्दाबन्दी र निषेधाज्ञाले लामो समय हिँड्डुल र घुमघाम पनि रोकिएको छ । मान्छे स्वभावैले घुमन्ते प्राणी हो । यो बीचमा घुम्न नपाएर छट् पट्टिँदै गर्दा दुई वर्षअघि ’कन्सेप्ट नेपाल’ द् बारा आयोजना गरेको ’फोक्सुण्डो काव्ययात्रा २०७६’ लाई सम्झदा मन – मसि्तष्कमा  फोक्सुण्डो ’फ्ल्यासब्याक’ नाचिरह्यो ।

त्यस साल जेठ अन्तिम सातातिरै म रुकुम (पूर्व) तिर पुगेको थिएँ, घुमघाम र भूमे पर्वमा सहभागी हुन । डोल्पा यात्राको योजना बनेकोले म सीधै रुकुमकोट, खलङ्गा हुँदै राडीतिर हनिएँ । उता काठमाडौँदेखि पत्रकार, साहित्यकार, कवि र चित्रकार मित्रहरुको टोली नेपालगञ्ज हुँदै डोल्पा हिँड्ने तरखर गर्दै थिए ।

त्यसदिन बेलुकी रुकुम पश्चिमको राडीमा बास बस्न पुगे । अर्को दिन ठूलीभेरीको झोलुङ्गे पुल तरेर बगारा, तल्लु बजार, गोतामकोट, त्रिवेणी, खदाङ हुँदै ठूलीभेरी नदीको किनारैकिनार ४ वटा जीप फेर्दै त्रिपुराकोट पुगेको थिए । त्यहाँ डोल्पाका नागरिक संबाददाता विष्णुजीसँग भेट भयो । बिहान चर्चित त्रिपुरासुन्दरी मन्दिर दर्शन गरें ।

मन्दिर समुन्द्र सतहदेखि २१०१ मि. उचाइमा डोल्पा जिल्लाका त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्दछ । मुकटेश्वर हिमालको काखमा बसेको मन्दिरको पश्चिममा ताम्रमणी नदी, उत्तरमा कागमारा हिमाल, दक्षिणतिर मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवीगङ्गा बग्छ । आँखाअगाडि नजिकै कठायत टोल, ब्राहमण टोल, विष्ट टोल र मन्दिरको फेदतिर दलित टोलहरु छन् । त्रिपुरादेवीको दर्शन गरी पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वस छ ।

दुई रात बसेर तेस्रो दिन बिहानै विष्णुजी र म दुनै बजारतिर हिँड्यौ । डोल्पाको डाँडाकाँडा, खोला– नाला, गाउँ–बस्तीको दृश्य हेर्दै भेरी किनारैकिनार हामी दुई गाडीको कच्ची बाटो पछ्याउदै दुनै बजार पुग्दा दिउँसोको करिब १ बजेको थियो । समुन्द्र सतहदेखि २०३५ मी.मा अवस्थित ठूली भेरी किनारमा बसेको डोल्पाको सदरमुकाम सुन्दर दुनैबजार केहीबेर घुमेर फर्किएर सुलिगाढ पुग्दा लगभग ४ बजेको थियो ।

सुलिगाडको पुल तरेर फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ’इन्ट्री बुक’ हेर्दा सहयात्री मित्रहरु दिउँसै २ बजेतिर अगाडि बढिसकेका रहेछन् । मित्र विष्णुजी र म फोक्सुण्डो खोलाको तीरैतीर करिब २ घण्टा हिँडेर कागेनी पुग्दा झमक्क साँझ परिसकेको थियो । त्यस दिन पनि साथीहरुसँग भेट हुन सकेन ।

चार दिनपछि सहयात्री भेट

बिहानै ५ बजे बाटो ततायौँ, अन्य साथीहरु भेट्ने आशासहित । करिब एक घण्टा जति हिँडेर साङ्ता (२४५५ मि.) पुगिएछ । दाहिने छेउमा स्यानो होटल रहेछ । सुरुमा एक– दुई जना साथीहरु देखिए। आँखा मिच्दै– सागर दाइ, मित्रहरु– कवि भूपिन, गनेश, अमृत, चन्द्र र देवेन्द्र दाइ । त्यसपछि अरु साथीहरु ।

कोही ओछ् यानमै त कोही दाँत मोल्दै निस्किँदै हुलहरु फटाफट देखिए । केहिबेर भलाकुसारी र चिया पिउँदै यात्राबारे गन्थनमा बित्यो । पत्रकार कमल र चित्रकार कृष्णबाहेक सबै साथी पूर्वपरिचित थिए । फापरको रोटी खाजा खाएर यात्रा बढायौँ । करिब एक घण्टामा छेप्का (२६७०मि) पुग्यौँ । एकछिन थकाइ मार्दै चियाको चुस्की सकेर फैरि यात्रा अगाडि बढ्यो ।

हिमालको नमूना– तापिरिचा स्कुल सुमदुबाबाट बायाँतिर पुङ्मो गाउँ हुँदै कागमारा ला–तिर जाने बाटो छुटियो । हामीले दाहिने बाटो पछ्यायौँ । २५ मिनेट दूरीमा साइजल (३१३० मि.) पुग्दा निकै थकाई लागिसकेको थियो । फोक्सुण्डो खोलाको किनारमा वरीपरि डाँडाले घेरिएको स्यानो समथल भूभागमा अवस्थित कलात्मक ढाँचाको ठूलो कम्पाउण्डसहितको सुन्दर तापिरिचा स्कुल भवन र गुम्बा देखियो ।

फोक्सुण्डोलगायत अपर डोल्पा यात्रा गर्ने जो कोहीको आँखा टक्क अडिन्छ । यो क्षेत्रकै नमूना तापिरिचा स्कुल स्थापनाको लागि सेम्दुक लामा सरले आफ्नो पूरै जीवन समर्पण गरे । स्वीट्जरल्याण्डको ’तापारिचा भेहराइन’ र अमेरिकाको ’फ्रेण्ड्स अफ डोल्पा’ले स्थानीय ’तापिरिचा एसोसियसन फर सोसल हेल्प इन डोल्पा’ सँगको सहकार्यमा स्कुल चलिरहेको छ ।

शिक्षासेवी सेम्दुक सरको यो क्षेत्रमा शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण योगदान गरेको छ । डोल्पाको दुर्गम गाउँमा जहाँ राम्रो स्कुल अभाव भएको ठाउँमा तपरिचा स्कुलले डोल्पा र छिमेकी जिल्ला बालबच्चाहरुले राम्रो शिक्षादीक्षा पाइरहेका छन् । शिक्षासेवी सेम्दुक सरलाई नमन !

अन्तिम उकालो

यात्री टोलीले झरना होटलमा तोङबा र सुकुटीसहित लामो भलाकुसारीले अबेर रातसम्म भरपुर आनन्द लियौँ ।  ढिँडो र खसीको मासु, तोङबासँगको विशाल भोजन, त्यो रात अवस्मरणीय भयो । बिहान सबेरै उठेर हेर्दा चारैतिर अग्ला– अग्ला पहाड देखियो । उत्तरतिर पहाडको पछाडि ’फोक्सुण्डो ताल’ एक स्थानीयले बताउँदा अब चाहिँ गन्तव्य नजिकै पुगेको भान भएको थियो ।

तेर्सो पैदल मार्ग हुँदै नाकै ठोकिने करिब ४५ मिनेटको उकालो यात्राले निकै थकित बनायो । अधिकांश साथीहरु माथि ’भ्यू पोइन्ट’ पुगेर थकाइ मारेका थिए । मित्र गनेसजी र मलगायत केही साथी बिस्तारै उकालो चढ्दै थियौँ । उकालोमा स्वाँ– स्वाँ गर्दै पसिनैपसिनाले निथ्रुक्क भिज्दै थकानले हैरान पार्यो ।

बिस्तारै–बिस्तारै पाइला बढाउदै ’भ्यू पोइन्ट’ ( ३७२० मी ) पुगेर भित्तामा २०० मी. लामो फोक्सुण्डो झर्नाको मनोरम दृश्यले थकान मेट्दै आनन्द लियौँ, फोटाहरु खिचियो । बाटाभरि हिमाली रङ्गीबिरङ्गी फूलहरु, हरिया वन–जङ्गल, वरिपरि अग्ला–अग्ला डाँडा र पहाडले मन शान्त बनायो । अन्तिम उकालो कटेर तेर्सो यात्रा सुरु भयो ।  कलात्मक डोल्पाली गाउँ रिग्मो र निलो विशाल ताल देखियो, मन प्रफुल्ल बनायो ।

श्रष्टाको सम्मान र कविता वाचन

’कन्सेप्ट नेपाल’ले चार जना डोल्पाली स्थानीय लोक–संस्कृतिमा योगदान पुर्याएको व्यक्तित्वलाई सम्मान गर्यो । होइसेर डोल्मा बैजी, नाम्दाक लामा, निमा लातार बैजी र सेम्दुक आङ्क्याल रोकायालाई जनही १० हजार पुरस्कार राशीसहित प्रमाणपत्र हस्तान्तरण गर्यो ।

इतिहासमै पहिलोचोटी सम्मान पाएकोमा कलाकरहरुले हर्षको आँसु खसाले । ताल किनारमा छोटो कार्यक्रम निकै रोमाञ्चक थियो । निकुञ्ज प्रमुख, वडा अध्यक्ष निमा लामा र स्थानीयहरुको उपस्थितिमा श्रष्टालाई सम्मान कार्यक्रम राखिएको थियो । कवि हेमन्त विवश, हेमन यात्री, गनेस पौडेल, सागर उदास, दीपेन्द्र लगायतले आ–आफ्नो रचना कविता वाचन गरे ।

त्यस्तै चित्रकार कृष्णबहादुर नेपालीले त्यही कोरेको फोक्सुण्डोको चित्र प्रदर्शन गरेका थिए । त्यसैगरी कवि अभय श्रेष्ठले छोटो मीठो मन्तव्य दिए भने पर्यावरण र साइकल विज्ञ देवेन्द्र बस्न्यातले वातावरण र सरसफाइको महत्वबारे जानकारी तथा अनुभव बाँडेका थिए ।

पत्रकार अमृत भादगाउँलेले निकै भावुक र हर्षित मुद्रामा कार्यक्रम सञ्चालन गरिरहदा, लस्करै उपस्थित सबै जना ताल किनारमा बसेर दत्तचित्तले सुनिरहेका थिए । त्यस दिनको माहौल निकै रोमाञ्चक थियो, फोक्सुण्डो ताल किनारमा । वडा अध्यक्ष निमा लामालाई मीठो आतिथ्यताको लागि धन्यवाद ! (बाँकी अर्को शनिवार प्रकाशित गरिनेछ । )

तपाईको प्रतिक्रिया