पुल मर्मत नहुँदा घण्टौंको घुमाउरो बाटो

सल्यान,२२ पाैष ।

 वर्षा र पहिरोका कारण भासिएको सल्यान–जाजरकोट सिमानामा पर्ने भेरी नदीको झोलुङगे पुल अहिलेसम्म मर्मत नहुँदा बन्गाड कुपिण्डे नगरपालिका २ वाँमेका बाहुनडाँडा, पारिल्ला, चैते, कुरिल्ले लगायत स्थानका बासिन्दाहरू तीन महिनादेखि सामान्य उपचारका लागि पनि दुई घन्टा हिँडेर स्वास्थ्य जान बाध्य भएका छन् ।

छेडागाड बजार नजिकै रहेको पुल भासिँदा वारपार गर्न नसकिने र बिरामीलाई लिएर सिधै भेरी तर्न नसकिने भएकाले उपचारका लागि ती स्थानका बासिन्दा घुमाउरो बाटो हिँड्न बाध्य भएका हुन् । ती स्थानका बासिन्दाहरूलाई आफ्नै वडामा रहेको स्वास्थ्य चौकी अपायक भएको र उकालो चढ्दा दुई घन्टाभन्दा धेरै समय लाग्ने भएकाले उपचारका लागि र मेलापात गर्न भेरी नदी पारि रहेको जाजरकोटको छे्डागाड बजारमा रहेको स्वास्थ्यसंस्था तथा बजार पुग्नु पर्ने बाध्यता छ ।

भासिएको पुल मर्मत नभएकै कारण सामान्य उपचारका लागि पनि घण्टौं हिँड्नु पर्दा चार गाउँका दुई सयभन्दा धेरै परिवार प्रभावित भएका छन् । पछिल्नो समयमा चिसो बढ्दै गएकाले गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएका छन् । तर बस्ती नजिकै मेडिकल पनि नहुँदा उपचार गर्न झनै कठिनाइ भएको स्थानीय गोपीलाल आचार्यले बताए ।

लामो समय हिँडेर छेडागाडस्थित स्वास्थ्यसंस्था जानुपर्दा सामान्य बिरामी भएका झनै बिरामी हुने गरेको उनले जानकारी दिए । ‘पहिला झोलुङगे पुल छँदा बढीमा २० मिनेट मात्र लाग्ने गर्थ्यो छेडागाड बजार र स्वास्थ्यसंस्था पुग्न । तर पुल भासिएका कारण आउजाउ गर्न धेरै गाह्रो भएको र हल्लिएर भेरीमा खस्ने डर भएकाले करिब एक घन्टाभन्दा लामो समय भेरी नदीमा रहेको अर्को झोलुङगे पुलबाट आउजाउ गर्नुपर्छ’ उनले भने ‘गम्भीर बिरामी भएकालाई समयमै अस्पताल पु¥याउन झनै सकस भएको छ’ ।

जाडोमा चिसोका कारण हुने बिरामी र गर्भवती महिलाहरूलाई आपतकालीन अवस्थामा पनि स्वास्थ्यसंस्था तथा अस्पताल पु¥याउन कठिन हुने गरेको स्थानीयहरुको गुनासो छ । यसबीचमा दुई महिनाको अवधिमा सुत्केरीलाई बच्चा जन्माउन अस्पताल लैजाने क्रममा तीन जना बाटैमा सुत्केरी भएको थियो । ‘बस्ती आसपासमा मेडिकल छैनन् ।

नजिकै स्वास्थ्यचौकी छैनन् । पालिकाले चार गाउँका स्थानीयको लागि भन्दै आधारभूत स्वास्थ्य इकाइ केन्द्र संचालन गर्ने भने पनि गरेन । सिटामोल किन्नका लागि पनि छेडागाड नगई नहुने बाध्यता छ’ उनले भने ।

पुल मर्मत नभएकै कारण गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउन नपाएको र आइरन चक्की सेवनमा पनि कठिनाइ भएको स्थानीय लिलु खत्रीले गुनासाो गरे । उनका अनुसार २०७२ सालमा तत्कालीन जिल्ला विकास समिति सल्यानद्वारा संचालित बिबीएलएल नामक कार्यक्रमबाट करिब २५÷३० लाख खर्चेर १ सय ५७ मिटर लम्बाइ भएको झोलुङगे पुल बनाएको थियो । पुल हुँदा स्वास्थ्य संस्था नजिक थियो र धेरै सजिलो पनि । अहिले बिरामीलाई स्टेचरमा बोकेर दुई घन्टा हिँड्नु पर्दा राम्रै मान्छे पनि बिरामी हुने अवस्था सिर्जना भएको बताइएको छ ।

बन्गाड कुपिण्डे नगरपालिका २ बाँमेका वडा अध्यक्ष मानबहादुर खत्रीले कुरिल्ले, बाउनडाँडा, चैते पालिकाको सबैभन्दा विकट बस्ती भएकाले स्थानीयको लागि सहज होस् भनेर बनाएको झोलुङ्गे पुल गत असोज १८ गते लगातार परेको वर्षातले भासिएपछि बिरामीलाई उपचार गर्ने मात्र नभइ स्थानीयलाई दैनिक उपभोग्य बस्तु किनेर ल्याउन र उत्पादित बस्तु बजारसम्म पुर्याउन पनि गाह्रो भएको बताएका छन । पुल मर्मतको लागि नगरपालिका लगायत अन्य सम्बन्धित निकायमा माग राखे पनि मर्मत हुने सम्भवना कमै देखिएको उनले जानकारी दिए।

कान्तिपुर 

तपाईको प्रतिक्रिया