अकालमा ज्यान गुमाउँदै राउटे बालबालिका

सिर्जना बुढाथोकी
सुर्खेत,२१ पौष ।

अहिले दैलेखको नारायण नगरपालिका–८ मा बस्दै आएकी राउटे समुदायकी २५ वर्षिया सिलंगी शाहीको गतवर्ष पुस महिनामा तीन महिने छोराको मृत्यु भयो । सुर्खेतको गुर्भाकोट नगरपालिकामा अस्थायी वस्ती बसेको बेला उनले छोरा गुमाइन् । ‘अहिले हामीलाई बेस्सरी जाडो हुन्छ, हाम्रो बच्चाहरु जाडो सहन सक्दैन अनि मर्छ ।’

उनी भन्छिन्, ‘अहिले वनका गिठा, भ्याकुर र फलफूल पाईँदैनन् हामीलेपनि पेटभरी पनि खान पाउँदैन् ।’ राउटे समुदायकै अविवाहिता किशोरी शान्ति शाहीले जन्माएको नौ महिनाकी छोरीको पनि गत वर्ष मृत्यु भयो । राउटे समुदायका बच्चाहरुले पाउनुपर्ने जत्ति खाना, पोषण र स्याहार सुसार नपाएका कारण अकालमै मृत्युको मुखमा पुग्ने गरेका छन ।

वन मासिँदै गएपछि राउटेहरु पछिल्लो समय अन्य समुदायसंग नजिक हुने गरेका छन् । पहिले जंगल बीचका खोला किनारमा बस्ने राउटेहरु पछिल्लो समय अन्य समुदाय नजिक बस्ने गरेका छन् ।

राउटे पुरुषहरु घर व्यवहारभन्दा बाहिरको काममा बढि व्यस्त हुने र बचेखुचेको समय जाँडर क्सीमै बिताउने र महिलाहरुमा स्वास्थ्यचेतना, आवश्यक पौष्टिक आहार र पर्याप्त लत्ताकपडाको अभावमा जाडोको समयमा राउटे शिशुहरुको बढि मृत्यु हुने गरेको छ । राउटे समुदायको अहिले १ सय ४४ जना जनसंख्या छ । २०७७ असारदेखि २०७९ असारसम्म मात्र सात जना शिशुको एक वर्ष नपुग्दै मृत्यु भएको राउटेको क्षेत्रमा काम गर्दै आएको दैलेखेको सामाजिक सेवा केन्द्र (सोसेक) ले जनाएको छ ।

सोसेकको राउटे परियोजनाका लालबहादुर खत्रीले राउटे महिलाहरु साना बच्चा छाप्रामै छोडेर खानापानीको जोहो गर्न टाढा टाढा जानुपर्ने भएकाले बच्चाको स्याहार सुसार गर्ने कोही नहुँदा दूधे बच्चाहरुको मृत्यु भईरहेको बताए । भर्खरै जन्मिएको शिशुलाई समेत दिनभर बस्तीमै छाडेर आमाबुवा गाउँघरतिर जाने भएकाले बच्चाहरूले खासै स्याहार नपाउने गरेको स्वाथ्यकर्मी समेत रहेका खत्रीले उल्लेख गरे ।

अत्याधिक मदिरा पिउने कुलतसँगै आमाबुवाको लापरवाही, चिसोका कारणले पछिल्लो समय राउटे बच्चाहरूको अकालमै ज्यान जान थालेको खत्री बताउँछन । मदिराको कुलत छुटाउन नसकिए राउटे समुदाय नै लोप हुने खतरामा रहेको भन्दै उनले राउटे महिलाहरुले समेत गर्भावस्थामा अत्याधिक मदिरा सेवन गरेका कारण दुई जना महिलाको गर्भपतन समेत भईसकेको जानकारी दिए ।

यता सरकारी निकायहरुसंग भने राउटे समुदायमा भएका बालबालिका, महिला तथा नवजात शिशुको मृत्युको भने कुनै तथ्यांक नभएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निमित्त निर्देशक दीपा भट्टराईले देशभरका स्वास्थ्य संस्थाले दिएको विवरण र जानकारीका आधारमा मातृशिशु मृत्युको समग्र तथ्यांक मात्र संकलन हुने गरेको बताइन ।

जिल्ला जिल्लाबाट संकलन भएको विवरणसहितको देशभरीकै समग्र तथ्यांक केन्द्रमा पठाउने गरिएको बताउँदै उनले कुनै समुदाय विशेषको मात्र अलगै तथ्यांक विवरण नहुने उल्लेख गरिन । ‘जिल्ला र प्रदेशमा तथ्यांक हुँदैन ।’ उनले भनिन् ‘हामीले पनि देशभरको समग्र तथ्यांकबाट आपूmलाई चाहिए अनुसारको विवरण छुट्टाउनु पर्छ चाहिएको बेलामा ।

’ संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले भने सन् १९९६ देखि २०१६ सम्ममा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ६७ प्रतिशतले घटेसँगै उद्देश्यअनुरुप बाल मृत्युदर न्युनिकरण गर्न सफल सात देशहरूमध्ये नेपाल पनि एक बनेको जनाइसकेको छ । युनिसेफले नेपालका सामु अझै कैयौं चुनौतीहरू बाँकी रहेको बताउँदै प्रत्येक १ हजार जिवित शिशुको जन्म हुँदा २१ को मृत्यु हुने गरेको तथ्यांक रहेको जनाएको छ ।

उसका अनुसार नेपालमा जन्मपछिको पहिलो २८ दिनभित्र हुने मृत्यु दर नवजात शिशु मृत्युदर एकदमै उच्च रहेको जनाउँदै यसबाहेक पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रति १ हजारमा ३९ जना रहेको देखाएको छ । यसरी हुने मातृ तथा शिशु मृत्युमा पनि धनी  सम्पन्न महिलाहरुको तुलनामा गरिब समुदायका नवजात शिशु मृत्युदर लगभग दोब्बर छ र कलिला आमाहरूमा संख्यापनि उच्च रहेको युनिसेफले जनाएको छ ।

तपाईको प्रतिक्रिया