सडकभरि छाडा चौपाया

वीरेन्द्रनगर,२१ पाैष ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा छाडा चौपाया व्यवस्थापनका लागि बर्सेनि ३० देखि ४० लाख रुपैयाँ खर्च हुन्छ । तर व्यवस्थापनको काम नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा छाडिएका पशुचौपाया । तस्बिर ः तृप्ति÷कान्तिपुर

प्रदेश ट्रफिक प्रहरी कार्यालयका अनुसार छाडा चौपायाका कारण दैनिक ५ वटासम्म सवारी दुर्घटना भइरहेका छन् । ३ वर्षयता छाडा चौपाया व्यवस्थापनमा १ करोड ३ लाख रुपैयाँ खर्च भइसकेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

सडकभरि छाडा चौपाया हुँदा सवारी दुर्घटना मात्र बढेका छैनन्, पैदल यात्रीलाई समेत हिँडडुलमा समस्या छ । बजारमा जथाभाबी हिँडिरहने छाडा चौपायाले सवारी साधन चलाउनै मुस्किल भएको अटो व्यवसायी कर्णबहादुर खत्रीले बताए । एक वर्षदेखि अटो चलाउँदै आएका उनी छाडा चौपायाकै कारण ३ पल्ट दुर्घटनामा परिसकेका छन् । ‘जता पनि चौपाय नै चौपाय छन्, कतिबेला ठोक्किन्छन् भन्ने पत्तो नै हुँदैन,’ उनले भने, ‘हामी होशियार हुँदाहुँदै पनि दुर्घटनामा पर्न सक्ने जोखिम भएको छ ।’

सवारी चालकहरूलाई मात्र होइन छाडा चौपायाले स्थानीयलाई पनि समस्यामा पारेका छन् । सडक छेउछाउका बारीहरूमा गएर बालीनाली खाइदिने समस्या पनि उस्तै रहेको स्थानीय भरत शाहीले बताए । उनले बांगेसिमल नजिकै झण्डै एक कट्ठामा लगाएको तोरी छाडा चौपायाले नष्ट पारिसकेका छन् ।

अहिले वीरेन्द्रनगरमा छाडाचौपाया नभएको चोक नै भेटाउन गाह्रो भएको स्थानीय कमल शर्माले बताए । ‘पशुचौपायाका कारण मंगलगडी, मूलपानीचोक, इत्राममा दुर्घटना नभएको दिनै हुँदैन,’ उनले भने, ‘पशुचौपायाको शौचले बजार नै दुर्घन्धित भएको छ ।’ ३ वर्षदेखि वीरेन्द्रनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनमा बजेट विनियोजन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए । उनले यो अवधिमा १ करोड ३ लाख रुपैयाँ खर्च भएको बताए ।

उनका अनुसार यो वर्ष पनि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । उनका अनुसार वीरेन्द्रनगरमा करिब १ सय २५ छाडाचौपाया छन् । उनले अहिले २ कर्मचारीलाई छाडाचौपाया व्यवस्थापनमै खटाइएको उनले बताए । नगरपालिकाले काञ्जी हाउसको २ वटा भवन निर्माण पुरा गर्दै छ । तर अझै चौपायाको लागि घाँस, पराल राख्ने स्टोर र कुरुवा भवन बनाउन भने बाँकी रहेको तिवारीको भनाइ छ ।

४० वटा छाडा चौपाया भने वीरेन्द्रनगरकै कटकुवामा गैरनाफामूलक ट्रस्टबाट ओमदत्त रेग्मीले पालिरहेका छन् । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक नेत्र कुवँरले वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापन गर्न पनि छाडा पशुचौपायालाई व्यवस्थित गरिनुपर्ने बताए । उनका अनुसार व्यवस्थापनका लागि नगरपालिकासँग समन्वय भइरहेको छ ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया