सुर्खेत,२० पाैष ।
बहुविवाह अपराधमा जिल्ला कारागारमा पुर्पक्षका लागि दैलेखबाट ल्याइएकी मनीषा विक एक महिने सुत्केरी हुन् । बहुविवाहकै मुद्दामा सुत्केरी भएको एक हप्तामा प्रहरीले पक्राउ गरी सुर्खेत कारागार पठाइएकी मनीषालाई कैदीबन्दीकै अटेसमटेसले शिशुलाई स्याहार गर्न कठिन भएको छ । ३० महिला बन्दी राख्ने क्षमता भएको सुर्खेत कारागारमा यतिखेर ४५ महिला कैदीबन्दी छन् । ६ महिलासँग १० वर्षमुनिका नाबालक पनि छन् ।
सुर्खेत कारागारमा यतिखेर ७० पुरुष कैदीबन्दीको क्षमता छ । उक्त कारागारमा ३ सय ६० पुरुष छन् । भवन अभावका कारण कारागारमा कोचाकोच गरी कैदीबन्दी राखिएको छ । भवन अभावमा सुर्खेत कारागारका कैदीबन्दीहरूले कारागार बसाइँ कष्टपूर्ण र यातना दिएको जस्तो भएको गुनासो गरेका छन् । भवन अभावका कारण कार्यालय हाताभित्र पाल टाँगेर सुताउनुपर्ने बाध्यता रहेको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागारको भवन २०३३ सालमा बनेको हो । हाल सोही जीर्ण भवनमा कैदी राखिएको छ । भवनमा पर्याप्त खुला ठाउँ पनि छैन, जसले गर्दा कैदीहरूलाई सास्ती हुने गरेको छ ।
कारागारमा पानी र शौचालयको पनि समस्या छ । ‘साँघुरो ठाउँमा धेरै बस्नुपर्दा सास्ती भोग्नुपरेको छ’, एक कैदीले भने, ‘ त्यसमाथि आवश्यक शौचालय र पानी नहुँदा कारागार यातना गृह बनिरहेको छ ।’ सुर्खेत कारागारको अनुगमनका क्रममा पुगेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसँग कैदीबन्दीहरूले उक्त गुनासो गरेका हुन् ।
गुनासोपछि स्थानीय प्रशासनले खानेपानी शुद्धीकरण गर्ने उपकरण जडान र थप शौचालयको व्यवस्था गरेको प्रअिज रिजालले बताए । सुर्खेतस्थित क्षेत्रीय अस्पतालको टोलीले महिनामा दुई पटक कैदीबन्दीको स्वास्थ्य परीक्षण पनि गर्दै आएको छ । चिसो भुइँमा सुत्न पर्दा र एकै स्थानमा कोचिएर बस्नुपर्दा पीडित हुनुपरेको कैदीबन्दीको भनाइ छ ।
कान्तिपुर
युग संवाददाता । । २० पुष २०७९, बुधबार ०७:३०