‘बोल्न डराउने म, समाजमा ज्ञान बाँड्ने भैसके’

सिर्जना बुढाथोकी
सुर्खेत,१९ पौष ।

काम गर्दै पढ्दै बित्यो बाल्यकालः

म झरना ओली । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ मा वि.सं. २०३३ सालमा मेरो जन्म भएको हो । परिवारमा हामी बुवा, आमा, पाँच बहिनी र एक भाई गरेर आठ जना थियौ । भाई बहिनी भरीको म माइली छोरी हो । सल्यान जिल्लाको पनि गाउँमै गाउँले परिवेशमा हुर्किएकी म काम गरे मात्रै खान अनि लाउन पुग्ने अवस्थाको परिवेश हो ।

विकट ठाउँ थियो । घरधन्दामा आमालाई सघाउनेदेखि खेतबारीमा बुवालाई सघाउने, घाँसदाउरा, मेलापात, मुहानबाट घरसम्म पानी बोक्ने अनि बचेको समयमा मात्रै पढ्ने हाम्रो काम हुन्थ्यो । यसरीनै मैले मेरै गाउँको खड्गनाथ प्रा.विमा कक्षा ५ पास गरेकी थिएँ । त्यसपछिको पढाई मेरो कृष्ण मा.वि. मा कक्षा दशसम्म पढें तर एस.एल.सी पास भने गर्न सकिन् ।

किनकी कक्षा आठमा पढ्दै गर्दा वि.सं. २०५९ सालमा मेरो विवाह भएका कारण मेरो पढाई करिब तीन वर्षनै रोकियो । अर्काको घरमा गैसकेपछि एउटा बुहारीको भूमिकामा बाँधिएकी म घरधन्दा र परिवारको रेखदेख, सेवा चाकरीमै दिन कटाउन थाले । त्यो समयमा मेरी जेठी छोरीको जन्म भैसकेको थियो र मेरो कामपछिको खाली समय छोरीको स्याहार सुसारमै बित्थ्यो ।

मैले आफुलाई फेरि पढ्ने इच्छा रहेको कुरा श्रीमान्लाई जानकारी गराएर उहाँको अनुमतिमा फेरि पढाई सुचारु गर्ने अवसर पाएँ । घर नजिकैको एउटा विद्यालयमा बिहे गरेको तीन वर्षपछि मैले कक्षा आठमा नाम लेखाएर पढ्न थाले । यसरीनै आठ, नौ गर्दै म दश कक्षामा पढ्न थाले तर अन्तिममा मैले एस.एल.सी परीक्षा कटाउन सकिन ।

घरधन्दासंगै पढाईलाई मैले अलि समय र ध्यान दिन नसक्दा म असफल भएँ । त्यसपछि मैले पढाई पनि छोडे । त्यसपछि मेरी कान्छी छोरी जन्मिइन् र उनकै रेखदेखमै मेरो समय खर्चिन थाले । मेरा दुईवटा छोरी हुन् । अहिले त एउटा छोरी १८ वर्षकी छिन् उनी स्टाफ नर्स पढिरहेकी छिन्, दाङ्गको तुलसीपुरमा अनि अर्की छोरी ९ वर्षकी छिन् उनी गाउँकै विद्यालयमा कक्षा ५ मा पढ्दै छिन् ।

स्वास्थ्य स्वयम्सेविका हुने अवसरः

वि.सं. २०७१ सालदेखि सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ मा रहेको आमा समूहका सदस्यहरुको प्रोत्साहन र उत्प्रेरणाले गर्दा मैले स्वास्थ्य स्वयम्सेविकाका रुपमा छनौट हुने अवसर पाएँ । उहाँहरुकै विश्वास र मायाले म आजका मितिसम्म स्वयम्सेविकाका रुपमा यस ठाउँमा परिचित छु।

म बिहे भएर गएको केहि समयपछि त्यहाँकी एक मात्रै स्वयम्सेविकाले काम गर्न नभ्याउने भएपछि गाउँमा मलाई मेरो समाजले मेरो इमान्दारिता र काम गर्ने इच्छा देखेर पनि काम गर्न प्रोत्साहन गर्नुभयो । म स्वयम्सेविका हुनका लागि पहिलो तालिम लिएँ । पहिलो पटक तालिम लिएर त्यसलाई व्यवहारमा लागू गर्दै गाउँघरमा भएका समस्या समाधानकातर्फ लागि परें ।

मैले आमा समूहलगायत सुनौला हजार दिनका आमाहरुलाई बच्चा र आमाहरुका लागि चाहिने पोषणयुक्त खाना हरेक बार खाना चार भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै खाना बनाउन र खुवाउन सिकाउने काम गरे । पोषण मात्रै होइन बालबालिकाले पाउनुपर्ने पूर्णखोपको बारेमा पनि घर घरमा गएर जानकारी गराउने काम गर्ने गर्छु।

जसका कारण सानो समस्या हुँदा अस्पताल जानुपर्छ, बालबालिकाको खोपदेखि नियमित चेकजाँचका लागि जाने कुरा र गर्भवती महिलाले गर्नुपर्ने चेकजाँचका सवालमा पनि अहिले मेरो गाउँ पूर्ण जानकार छ । म आफैपनि पहिलो सन्तान जन्माउँदा स्वास्थ्यचौकी जान नचाहने मान्छे अहिले गाउँलाई नै परिवर्तन गरेकी छु।

अहिले त धरै फरक छ अधिकांश मानिस स्वास्थ्यकर्मीको निगरानीमा छन् । तर पहिले त्यस्तो हँुदैन थियो । सामान्य टाउको दुखाई भएकादेखि सुत्केरी हुनेसम्मका विरामीहरु मेरै घरमा आउने गर्थे । स्वास्थ्य संस्थामा जाँदा हुने फाइदा र अकाल मृत्युको विषयमा सिकाउन अग्रसर भएकी छु। स्वयम्सेविका भएदेखि मैले आफ्नो परिवारसंगै सिंगो गाउँको रेखदेख गर्न थाले । खाँदै गरेको गाँस छोडेर पनि छिमेकमा परेको समस्यामा मलम लगाउन हिडे ।

पारिश्रमिक नहुदाँ सकसः

बेलाबेखतमा हुने तालिमहरुमा सहभागी हुँदा र स्वास्थ्यचौकीमा भएका विभिन्न कार्यक्रममा सहभागी हँुदा आउने भत्ताले मात्रै हामी स्वयम्सेविका भएर बाँचेका छौ । गाउँ समाजका लागि दिन रात नभनी खटिने हामिनै  सरकारको अँाखामा  परेका छैनौ । हामी त स्वयम्सेवी नै हौ काम पनि सित्तैमा गरेका छौ ।

अहिलेपनि मैले गर्भवती र सुत्केरी आमाका अनि बालबालिकाका लागि चाहिने आवश्यक पौष्टिक खाना, प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड जस्ता खाने कुराहरु जुन तालिमहरुबाट सिकेका थियौ त्यसलाई अहिले समाजमा यसैलाई सिकाई रहेका छौ । अहिले मानिसको सोचाई परिवर्तन भएको छ । स्वास्थ्य चौकीसम्म कहिल्यै नजाने समाज अहिले हरेक सानो समस्यामा पनि जान्छन् र अनुभवी चिकित्सकको माग गर्ने भैसकेका छन् ।

दुई चार जना मान्छेका अगाडि बोल्न डराउने म अहिले गाउँघरमा सिकाउँदै हिड्छु। स्वयम्सेविका बनेपछि यति कुरा सिक्ने अवसर मिल्यो की मलाई आज यसले सक्षम बनाएको अनुभूति भएको छ । हामीले केहि तालिममा सहभागी भएर सिकेका ज्ञान आमा समूहको बैठकमा जानकारी गरायो भने टोलभरीको मानिसले थाहा पाउनुहुन्छ र यसले गर्दा समाजमा छिटो परिवर्तन हुने र सिकाईको काम गर्ने गरेको छ ।

म सामान्य परिवारमा जन्मिएर सामान्य परिवारमै विवाह गरेर आएकी थोरै मात्रै पढेकी मान्छे अहिले समाजमा परेका हरेक घटनामा अग्रजका रुपमा भूमिका निर्वाह गर्न पाउँदा निकै खुशी छु। पढेको भन्दा परेकोले केहि गर्न सक्छन् भन्ने कुरापनि केहि हदसम्म मेरो जीवनमा सहि सावित भएको छ ।

अहिले नमूना कुखुरा पाल्ने तरिकादेखि तरकारीका लागि धेरै कुराको सिकाई भएकाले धेरै ज्ञान प्राप्त भएको छ । विषादीमुक्त गाउँपनि घोषणा गरिसकेका छौ हामीले । अब अरु नयाँ पुस्तालाई मैले आफ्नो स्थान दिने निधोसम्म गरेकी हुँ तर मलाई मेरो काम देखेर छोड्नै दिनु हुँदैन ।

काम गर्दा खुशी त हुन्छ, खुशीले मात्रै केहि दिदैन रहेछ । नामले मात्रै खान दिदैन रहेछ त्यसैले सरकारले पनि यसतर्फ ध्यान दिन आवश्यक रहेको देख्छु मैले । दुःख छ तर पारिश्रमिक नहँुदा निकै सकस हुने गर्छ । महिला भएकै कारण खेप्नुपर्ने दुःख, संघर्ष, पीडाभन्दा माथि उठेर सिकाई, आत्मनिर्भर र आयआर्जनका सीपमूलक काम गर्न आवश्यकता छ ।

म पढेको छैन मैले घरकै काम धन्दामा व्यस्त हुने हो भन्ने सोच भन्दा माथि उठेर कसरी के कुरा सिक्ने नयाँ कुराको ज्ञान लिने काम गरे मात्रै अघि बढ्न सकिने कुरामा हामी आफै अग्रसर हुनुपर्ने जस्तो लाग्छ मलाई । हामीले सिक्ने र सिकाउने कुरालाई आफैले चासो दिएर लाग्नुपर्छ अनि मात्रै सफल हुन सकिन्छ ।

महिला भनेको चुलोचौको र घरधन्दामै व्यस्त हुने हो भन्ने सोचनै हामी आफैले परिवर्तन गर्नपर्छ भन्ने लाग्छ मलाई । मेरो श्रीमान वैदेशिक रोजगारीका लागि साउदी अरेबियामा हुनुहुन्छ र मेरो छोरी पढाउन अनि घर चलाउन सकस छैन। जुन काम हाम्रो छ यसमा अझै मन, समय दिएर काम गर्न सकिन्छ पनि तर कामवापत केहि त पारिश्रमिक पाउनुपर्ने हुन्छ हामीले जुन कुरा सरकारी तवरबाट सोच्न आवश्यक देखिन्छ ।

झरना ओली

छत्रेश्वरी गाउँपालिका–४ सल्यान

तपाईको प्रतिक्रिया
error: Content is protected !!