परिवारबाटै मारिँदैछन् मधेसका महिला

जनकपुरधाम,१९ पाैष ।

यही पुस ११ गते साँझ धनुषाको विदेह नगरपालिका–७, बेलापट्टीमा ग्यास सिलिन्डर पड्केर एक महिलाको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय, धनुषामा सूचना आयो। घटनास्थलमा प्रहरी पुग्दा ३० वर्षीया कवितादेवी साहको रक्ताम्य र अर्धनग्न अवस्थाको शव उनी सुत्ने कोठामै थियो।

उनका परिवारजनले प्रहरीलाई करेन्ट लागेर कविताको मृत्यु भयो भने। शवको प्रकृति हेरेर प्रहरी करेन्ट लागेको कुरा पत्याउन तयार भएन, हत्या भएको शंका गर्यो। अनुसन्धान गर्दै जाँदा प्रहरी टोलीले कविताका जेठाजुका २० वर्षीय छोरा दिलीप साहले हत्या गरेको प्रमाण फेला पार्यो।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीप क्षेत्रीका अनुसार दिलीपले लगाएको कपडामा रगत लागेको देखियो। उनले भने, ‘दिलीपको हातको बुढी औँला र घाँटीमा चिथोरिएको जस्तो दाग देखियो। उनले कविताको मोबाइल फोन आफ्नो भित्री वस्त्रमा लुकाएका रहेछन्।’ डिएसपी क्षेत्रीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए, हत्याको कारण खुलाउन चाहेनन्।

अर्का एक जना प्रहरीका अनुसार दिलीपले जबर्जस्ती करणीको प्रयास गर्दा कविताले प्रतिकार गरको र त्यही क्रममा हत्या भएको हो। यो घटनाको पाँच दिनअघि पर्साको वीरगन्ज महानगरपालिका–२७, जसौलीकी ३० वर्षीया रिंकुकुमारी दासको हत्या भएको थियो। उनी यही पुस

६ गते एकाबिहानै घरअगाडि कच्ची बाटोको किनारमा मृत फेला परेकी थिइन्। उनको टाउको किचिएको थियो। प्रहरीले रिंकुका श्रीमान कुशल दाससँग सोधपुछ गर्दा सुरूमा गाडीको ठक्करबाट मृत्यु भएको बताएका थिए। जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी दीपक गिरीका अनुसार शवको प्रकृति हेर्दा घटना शंकास्पद देखियो।

गिरीले रिंकुको बाँया हत्केलामा करेन्ट लागेर पोलेको दाग देखिएको, उनको कोठामा नयाँ टेपले टालिएका तार र तारको पुरानो टेप निकालेर छेवैमा राखेको फेला परेको बताए। प्लास्टिकको पञ्जा पनि फेला प¥यो। प्रहरीले रिंकुका ३४ वर्षीय श्रीमान कुशल र २८ वर्षीय देवर भरतलाई पक्राउ गरेपछि हत्या भएको खुल्यो।

डिएसपी गिरीका अनुसार दाजुभाइले कोठामै योजनाबद्ध रूपमा करेन्ट लगाएर रिंकुको हत्या गरेका थिए। रिंकु परपुरूषसँग लागेको शंकामा हत्या भएको हो। हत्यापछि शव सडकमा निकाली भरतले गाडीले टाउकोमा किचेको अनुसन्धानबाट पत्ता लाग्यो। प्रहरीले दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ।

मधेस प्रदेशमा धेरै जसो महिलाको हत्या आफन्तबाटै हुने गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरको अभिलेखअनुसार आर्थिक वर्ष २०७७÷७८ मा परिवारकै सदस्यबाट सात जना महिलाको हत्या भएको थियो। दुई जनाको हत्याको प्रयास भएको अभियोगमा प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलायो।

आर्थिक वर्ष २०७८÷७९ मा परिवारकै सदस्यबाट आठ जना महिलाको हत्या भयो। चालु आर्थिक वर्षको पाँच महिनामा परिवारबाटै १० जना महिलाको हत्या भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हत्याका यी घटनामा घरासयी विवाद नै मुख्य रहेको देखिन्छ। कतै यौनसम्बन्धी विवाद पनि देखिन्छ। घरायसी विवादकै कारण गत मंसिर २५ गते धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुरकी २८ वर्षीया अमृता यादवको हत्या भयो। प्रहरीका अनुसार हत्या उनका श्रीमान वीरेन्द्रले नै गरेका थिए।

जिल्ला प्रहरी कार्यालय, धनुषाका डिएसपी प्रदीप क्षेत्रीका अनुसार वीरेन्द्रले बञ्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका थिए।क्षेत्रीका अनुसार तीन–चार महिनादेखि अमृताले काम नगरेको, सुतेर समय बिताउने गरेको भन्ने वीरेन्द्रको गुनासो थियो। यही निहुँमा उनीहरूबीच झगडा परिरहन्थ्यो।

हत्याको दिन अमृताले बिहान चिया नपकाएको भन्ने कुरा वीरेन्द्रले प्रहरीलाई बताएका छन्। वीरेन्द्रले घरमा आएका चोरको समूहले श्रीमतीमाथि हतियार प्रहार गरेको भनेर छरछिमेकीलाई भनेका थिए। उनले प्रहरीलाई पनि त्यसै भने। ‘चोरले हत्या गरेको कुरा पत्याउने खालको थिएन।

वीरेन्द्रलाई अस्पतालबाट नियन्त्रणमा लिएपछि आफैंले हत्या गरेको स्वीकार गरे,’ डिएसपी क्षेत्रीले भने, ‘श्रीमतीको हत्या गरेर चोर आएको प्रमाणित गर्न ढोका तोडफोड गरेछन्। बिजुलीको मुख्य तार पनि बिगारेका रहेछन्।’ महिलाहरू परिवारजनबाटै मारिनुको प्रमुख कारण वैदेशिक रोजगारी रहेको पनि डिएसपी क्षेत्रीको भनाइ छ।

‘यहाँको मनोसामाजिक अवस्थाको अध्ययन हुन जरूरी छ। विदेशमा साहुले तलब दिएन, धेरै दुःख पाए भने पनि पुरूषले घरमै रिस पोख्दा रहेछन्,’ उनले भने, ‘अझ श्रीमती परपुरूषसँग लागेको भनेर कसैले सुनाइदियो भने त घर बर्बाद हुँदो रहेछ।’ डिएसपी क्षेत्रीले समाजमा क्रुरता बढेको पनि बताए।

‘समाज यति क्रुर भइसके छ कि स–साना कुरामा पनि हत्या भएको देखिन्छ,’ उनी भन्छन्, ‘अशिक्षाका कारणले पनि होला। भोलि मलाई कारबाही हुन्छ, प्रहरीले समात्छ, थुनामा बस्नुपर्छ भन्ने सोचेको देखिँदैन।’ महिलाले घरेलु हिंसा सार्वजनिक गर्दा पनि पनि परिवारबाटै मारिने गरेको अधिवक्ता रिंकु यादवको भनाइ छ।

‘विस्तारै महिलाहरू सजग हुन थालेका छन्। हिंसाविरूद्ध आवाज उठाउन थालेका छन्,’ रिंकु भन्छिन्, ‘सामाजिक रीतिरिवाज र प्रतिष्ठाका कारण परिवारले घरको कुरा सार्वजनिक गरेको स्वीकार गर्न चाहँदैन। जसले गर्छन्, उनीहरू घरभित्रै मारिन्छन्।’ प्रदेश प्रहरीका अनुसार पछिल्लो २९ महिनामा प्रदेशका आठ वटा जिल्लामा हत्याका घटना २३८ वटा र हत्या प्रयासका घटना ६६८ वटा भए। यी घटना महिला–पुरूष दुवै तर्फका हुन्।

यीमध्ये मारिने महिलाको संख्या ७८ छ। हत्याको प्रयासमा १४३ जना महिला परे। उक्त तथ्यांक हेर्दा मधेस प्रदेशमा प्रत्येक ११ दिनमा एक जना महिला मारिने र हरेक ६ दिनमा एक जना महिलाको हत्या प्रयास हुने गरेको देखिन्छ। घरेलु हिंसाले मधेसमा विकराल रूप लिएको र महिलाको हत्या बढेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाको भनाइ छ।

दाइजोको निहुँ, मादक पदार्थ सेवन र आर्थिक अभाव पनि हत्याको कारण रहेको उनले बताए। हाम्रो खानपिन शुद्ध छैन। त्यसको प्रभावले हुनसक्छ; ब्लड प्रेसर र डिप्रेसनको समस्याले पनि मान्छेमा आवेग आउँछ। अस्वस्थ मान्छेको स्वभाव सामान्यभन्दा फरक हुन्छ,’ उनी भन्छन्, ‘सोसल मिडिया र फिल्मबाट पनि मान्छेको महत्वाकांक्षा बढ्यो। यसले समाजलाई देखावटीतिर लगेको छ।’

अभावले परिवारमा द्वन्द्व निम्तिने र आवेगमा आएर हत्या हुने गरेको पनि एसपी तिम्सिनाको भनाइ छ। लागुऔषध सेवन पनि हत्याका घटना बढ्नुको अर्को कारण रहेको उनले बताए। अधिवक्ता रिंकु राजनीतिले अपराधी व्यक्तिको संरक्षण गर्ने गरेकाले पनि समाजमा अपराध बढेको बताउँछिन्।

 हत्यारालाई राजनीतिक पावरवाला मान्छेले छोडाइदिन्छ। हत्यारालाई चिन्ता नगर, फलानोसँग पहुँच छ, केही हुन दिन्नँ भनेर मनोबल बढाउँछन्,’ उनी भन्छिन्, ‘राजनीतिक पावर र पैसाको आडमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने मानसिकता पनि विकास हुँदैछ। यो डरलाग्दो छ।’

सेताेपाटी 

तपाईको प्रतिक्रिया