जनमतले माग्यो स्थानीय तहका जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण

काठमाडौँ ,१८ पाैष ।

जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण मागेको छ । सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउतले पत्र लेख्दै जनमतबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिएका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनमत सप्तरीका हनुमाननगर कंकालिनी नगरपालिकामा दुई वडासहित प्रमुख र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएको थियो । त्यस्तै अध्यक्ष राउतको गृहपालिका महादेवा गाउँपालिकाको एउटा वडामा जनमत विजयी भएको थियो । जनमतले कुल १९ वटा वडामा अध्यक्ष पद जितेको थियो ।

अध्यक्ष राउतको पत्रमा भनिएको छ, ’जनमत पार्टीको अवधारणा लागू गर्न के–कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्यानुभयो, जनसरोकारका विषयहरूलाई सम्बोधन गर्न के–कस्तो पहल गर्नुभयो ? जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरूसँग समन्वय कस्तो रह्यो आदि विवरण प्रतिवेदनमा समावेश गर्नुहुन अनुरोध छ।’ त्यस्तै अध्यक्ष राउतले पार्टीको वडा र पालिका समितिलाई पनि पत्र लेख्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यमूल्यांकनबारे प्रतिवेदन पठाउन निर्देशन दिएका छन् ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया
error: Content is protected !!