जुम्ला,१६ पाैष ।
पुस १५ (पन्ध्र पुस) लाई जुम्लावासीले निकै महत्त्वका साथ मनाउने गर्छन् । वर्षकै लामो रात पुस १५ मा हुने भएकाले रातभर जाग्राम बस्ने चलन छ । यसरी जाग्राम बस्दा आयु लामो हुने जनविश्वास छ ।
चन्दननाथ नगरपालिका १ का नन्दप्रसाद न्यौपानेका अनुसार यस अवसरमा रातभर बालबालिका, युवायुवती र वृद्धहरू देउडा गाउने गर्छन् । साथै विवाहित चेलीहरू पनि पुस १५ मनाउन माइती आउने चलन छ । दिदीबहिनीहरू खेतबारकीको फोक्टोमा गएर भोज खाने र देउडा गाउने स्थानीयहरू बताउँछन् ।
यस दिन दिनभर सामूहिक भोज खाने र रातभर रमाइलो नाचगान गर्ने, सेलरोटी हाल्ने, मैकै, गहुंको खाजा भुट्ने, गेडागुडी पकाउने, माछामासु पकाउने, हलुवा पकाउने र खाने गरिन्छ । साथै जुम्लाको मौलिक परिकार राधे कद्दु (फर्सी) र जुम्ली कद्दु पकाएर खाने गरिन्छ । भोलिपल्ट पुस १६ गते बिहान भने नजिकैको धारा वा नदीमा गएर नुहाउने चलन छ ।
अधिकांश घरमा पुस पन्ध्र गते राति गहुँको पिठोबाट मालपुवा र अर्सा बनाएर खाने गरिन्छ । पुरुषहरु भएको स्थानमा महिलाहरु पुरुषको दौरासुरुवाल लगाएर नचिनिने गरी परिकार माग्ने गर्छन्। कतैकतै पर्खालको प्वालबाट लठ्ठी भित्र छिराएर परिकार बाँधेर पठाइदिने पनि चलन छ । तर जिल्लाका पानसय, चौधबिस, असी र सिजा दरामा पुस पन्ध्रलाई फरक फरक तरिकाले मनाउने गरिन्छ।
कान्तिपुर
युग संवाददाता । । १६ पुष २०७९, शनिबार ०७:४३