काठमाडौँ,१६ पाैष ।
कतारमा विश्वकप चलिरहँदा विश्व फुटबलका बादशाह ८२ वर्षे पेले ब्राजिलका अस्पताल धाइरहेका थिए । पेलेको भनाइ थियो– अस्पताल यात्रा अब नियमितजस्तै हो । उनै पेले सदाका लागि अस्ताए । लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका पेलेको बिहीबार मध्यरातमा निधन हुन पुग्यो ।
पछिल्लो समय पेले नियमित अस्पताल पुगिरहन्थे । उपचारपछि घर फर्किन्थे । ९० मिनेटको खेलमा उनले धेरै पटक ब्राजिल र आफ्नो टोलीलाई गोलले पछाडि परेको समयमा पुनरागमन गराउँथे । सबैको आशा यसपालि पनि त्यस्तै थियो, पेलेले आफैंलाई फर्काउने छन् । तर, उनले आफूलाई पुनरागमन गराउन सकेनन् ।
विश्व फुटबलको जुन चहलपहल छ, त्यो सबै पेलेकै कारण थियो भन्दा कुनै विरोध हुने स्थिति छैन । पेले तिनै खेलाडी हुन्, जसले फुटबललाई सुन्दर खेल बनाए । त्यसैले उनलाई फुटबलको ‘राजा’ भनिन्छ । ‘पेलेअघि फुटबल एउटा खेलमात्र थियो,’ ब्राजिलका वर्तमान कप्तान नेयमरले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘किङ पेलेले सम्भव सबै परिवर्तन ल्याए । पेले गए पनि उनको जादु विश्व फुटबलमा रहिरहनेछ ।’
पेलले १९५८, १९६२ र १९७० मा गरी तीनपटक ब्राजिललाई विश्वकप दिलाए । विश्व फुटबलमा अर्को कुनै त्यस्तो खेलाडीले तीन पटक विश्वकप उपाधि जित्ने सौभाग्य पाएका छैनन् । पहिलो पटक जित्दा उनी १७ वर्षका मात्र थिए । फाइनलमा उनले स्विडेनविरुद्ध दुई गोल गरेका थिए । आजको दिनसम्म उनले सबैभन्दा कान्छो उमेरमा विश्वकप फाइनल खेल्ने र विश्वकप फाइनलमा गोल गरेको कीर्तिमान यथावत् छ ।
‘कालो मोती’ उपनामका यी खेलाडीले त्यसपछि फुटबलमा एकसे एक सफलता पाए । सन् १९७० को विश्वकप फिफाले पहिलो पटक रंगीन टेलिभिजनमा प्रत्यक्ष देखाएको थियो, जहाँ पेलेले अन्तिम विश्वकपमा जादुगरी खेल प्रदर्शन गरेका थिए । त्यसले टेलिभिजन प्रत्यक्ष प्रसारणमा ठूलो क्रान्ति ल्यायो । इटालीविरुद्धको फाइनलमा पेलेले हेडबाट गरेको गोललाई विश्वकपको उत्कृष्ट गोलहरूमा राखिएको छ ।
उत्तरी रियो दी जेनेरियोको मध्यम परिवारमा जन्मिएका उनको नाम इडसन अरान्टेज डो नाससिमेन्टो थियो । उनका बुबा अर्धव्यावसायिक फुटबल खेलाडी थिए । सानैदेखि उनले बुबाको टोलीलाई समर्थन गरिरहेका थिए । बुबाको टोलीबाट खेल्ने एक जनाको नाम बेले थियो । तर अबोध बालक उनलाई बेले भन्न सक्दैनथे र पेले भन्थे । पछि उनकै नामकरण पेले गरियो ।
सन् २०१२ जनवरी ९ मा जुरिकमा आयोजित फिफा बलोन डि’ओर अवार्डको कार्यक्रममा अर्जेन्टिनाका फर्वार्ड लियोनल मेसी (बायाँ)‚ ब्राजिलियन फर्वार्ड पेले (बीचमा) र ब्राजिलियन फर्वार्ड नेयमार (दायाँ) । तस्बिर ः एएफपी÷रासस
आफ्नो गृहनगरको टोली सान्तोसबाट उनले अधिकांश समय खेले । उनले सन् १९५६ देखि १९७४ सम्म गरी १८ वर्ष सान्तोसबाट खेले । उनलाई युरोपका ठुलो टोलीहरूबाट खेल्न प्रस्ताव आएको थियो । उनले सान्तोस छाड्नै मानेनन् । ३४ वर्षको उमेरमा उनी सान्तोस छाडेर अमेरिकाको न्युयोर्क कसमस गए । अमेरिकामा यसलाई ‘सकर’ क्रान्ति भनिन्छ । पेले गएयता अमेरिकामा फुटबलको ठूलो क्रेज बढ्यो । ‘अमेरिकी फुटबल’ मा रमाउने अमेरिका अहिले विश्व फुटबलको सबैभन्दा ठूलो बजार बनेको छ ।
उनले १९७७ को अक्टोबर १ मा आफ्नो खेलजीवनको अन्तिम खेल खेले । न्युयोर्कको विशाल रंगशालामा उनले पहिलो हाफ कसमसका लागि र दोस्रो हाफमा सान्तोसबाट खेलेका थिए । फिफाको तथ्यांकअनुसार उनले कुल १ हजार ३ सय ६३ खेल खेल्दै १ हजार २ सय ८१ गोल गरे, जुन पेलेको अर्को कीर्तिमान थियो ।
पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो (बायाँ) लाई स्विट्जरल्यान्डको जुरिकस्थित ओपेरा हाउसमा फिफा वर्ल्ड प्लेयर गाला २००८ अन्तर्गत फिफा वर्ल्ड प्लेयर अफ द इयरको ट्रफी प्रदान गर्दै विश्वप्रसिद्ध फुटबल खेलाडी पेले । तस्बिर ः एपी÷रासस
सन् १९९४ देखि १९९८ सम्म पेले ब्राजिलको खेलकुदमन्त्री बनेका थिए । त्यसअघि कुनै अश्वेत नागरिक ब्राजिलमा त्यो पदसम्म पुगेका थिएनन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले १९९९ मा र त्यसको एक वर्षपछि विश्व फुटबलको सर्वोच्च संस्थाले पेलेलाई शताब्दीको उत्कृष्ट खेलाडीमा चुनेको थियो ।
पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनामध्ये ‘को सर्वोत्कृष्ट’ भन्ने बहस लामो समयसम्म चल्यो । सन् २००० ताका म्याराडोनाले एउटा टेलिभिजन सो चलाएका थिए । पेले अतिथि भएर आएको समयमा म्याराडोनाले को उत्कृष्ट भन्ने बहस सधैंका लागि अन्त्य गर्ने प्रयास गर्दै भनेका थिए, ‘मेरो आमालाई सोध्नुहुन्छ भने मै उत्कृष्ट हुँ, पेलेको आमालाई सोध्नुहुन्छ भन्ने पेले नै उत्कृष्ट हुनेछन् ।’
पेलेले यसमा ठूलो सन्तुष्टि देखाउँदै मज्जाले हाँसेका थिए । सन् १९८६ मा अर्जेन्टिनालाई एकल प्रयास जस्तोमा विश्वकप उपाधि दिलाएका म्याराडोना दुई वर्षअगाडि निधन भएको थियो । फिफाको समर्थन मतबाट शताब्दीको उत्कृष्ट खेलाडी बनेका म्याराडोनाको निधनमा पेलेले भनेका थिए, ‘आशा गर्छु, एकदिन हामी स्वर्गमा सँगै खेल्नेछौं ।’
कान्तिपुर
युग संवाददाता । । १६ पुष २०७९, शनिबार ०७:३८