देशभर चिसो बढ्यो :  हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

काठमाडौं,१४ पाैष ।

काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ। पुस लागेसँगै मुलुकभर अधिकतम र न्यूनतम तापक्रम घट्न थालेकामा पछिल्लो समय बिहानपख देशभर हुस्सु लाग्न थालेको छ।

काठमाडौंसहित तराईका केही क्षेत्रमा बुधबार मध्याह्नसम्म नै हुस्सु लागेको थियो भने मध्य तराईमा दिउँसो पनि घाम लाग्न सकेन । काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको छ। बुधबार ३.४ डिग्री तपाक्रम मापन गरिएको काठमाडौं उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ३ डिग्री आसपास छ। अधिकतम तापक्रम पनि १७ डिग्रीमा झरेको छ।

यस्तै जुम्लामा माइनस ६ रहेको तापक्रम जोमसोममा माइनस ६ डिग्री तथा जिरीमा माइनस २.६ डिग्री सेल्सियस रहेको छ।हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ।

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हिमाली क्षेत्रमा हिमपात र तराईका क्षेत्रमा कुहिरो लागेको हो। आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सेताेपाटी 

तपाईको प्रतिक्रिया
error: Content is protected !!