नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भित्र्याउने तयारी

काठमाडौं,१३ पाैष ।

नयाँ सत्ता समीकरण बनेपछि सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भित्र्याउने तयारी भएको छ। बुधबार बिहान ललितपुरस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को नातेदारको सिटी स्केप अपार्टमेन्टमा सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताबीच छलफल भएको हो।

छलफलका लागि प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए। प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल लगायतका नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको छ। प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मिल्न आग्रह गरिरहेका छन्। प्रचण्डले नै उनीहरुबीच भेटवार्ता गराउन मध्यस्थतामा लागेका छन्।

पार्टी विभाजनपछि पहिलोपटक प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली–नेपालबीच संवाद भएको थियो। प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल एकै ठाउँमा बस्न पुगेका थिए।

एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन मंगलबार राति एसका अध्यक्ष नेपाल र उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको स्रोतले जनाएको छ। एकीकृत समाजवादीका मन्त्रीहरुले नेपाललाई सरकारमा जाने वातावरण बनाउन दबाब दिँदै आएका छन्। वाम गठबन्धन नेतृत्वको सरकार बनेकाले कांग्रेसलाई बाहिर राखेर प्रचण्डसँगै सहयात्रामा रहेका नेपाललाई सहभागी गराउन नेताहरु लागि परेका हुन्।

मंगलबार मात्रै नेपालले प्रचण्डले जानकारी नै नदिइ प्रधानमन्त्री बनेको गुनासो गरेका थिए।’हाम्रो पार्टीलाई जानकारी नै नदिइ प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए। पत्रिकामा फोटो देखेर थाहा भयो।’ पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, ’प्रचण्डजीको व्यवहारबाट म दुःखी भएको छु। कांग्रेस र माओवादी दुबैबाट पीडित भइयो’।

अन्नपुर्ण 

तपाईको प्रतिक्रिया