पढाइ रोकेर विद्यालयमा महोत्सव

रुकुम पश्चिम,१३ पाैष ।

 जाजरकोटको भेरी नगरपालिका–३ खलंगामा रहेको एक विद्यालयले पढाइ नै रोकेर सोमबारदेखि मेला आयोजना गरेको छ । तल्लो थाप्लेमा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा जाजरकोट उद्योग वाणिज्य संघले सोमबारदेखि १७ गतेसम्म मेला आयोजना गरेको हो ।

मेलाको सोमबार जिल्ला समन्वय समिति प्रमुख कालीबहादुर खत्रीले उद्घाटन गरे, जसका लागि शुक्रबारदेखि नै मञ्च निर्माणलगायतका काम थालिएको स्थानीय हेमन्त केसीले बताए ।

‘आज (सोमबार)देखि मेला लागे पनि पढाइ त २÷३ दिनअघिदेखि नै रोकिएको थियो,’ उनले भने, ‘कहिले मेला, कहिले कुनै दिवस त कहिले कुनै कार्यक्रम, यस्तोमा विद्यार्थीले कसरी पठनपाठन गर्न पाउँछन् ?’ २०३५ सालदेखि तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरका आयोजना गरिने उत्सव नै केही वर्षयता महोत्सवका रूपमा परिणत गरिएको उनको भनाइ छ ।

विद्यालय हाताभित्र शैक्षिक बाहेक अन्य कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न नपाइने भए पनि यसविपरीत पढाइ रोकेर मेला आयोजना गरिएको स्थानीय हरिबहादुर खत्रीले बताए । उनका अनुसार विद्यालयमा बर्सेनि यसरी नै मेला आयोजना हुने गरेको छ ।

आफ्नो कार्यक्षेत्रभित्र आयोजना हुने यस प्रकारका मेला–महोत्सव गर्नसम्बन्धित स्थानीय सरकारबाट लिखित अनुमति लिनुपर्ने व्यवस्था छ । ‘तर यहाँ त विद्यालयलाई नै नसोधेर कार्यक्रम भइरहेको छ,’ उनले भने, ‘विद्यार्थीहरू विभिन्न बहानामा पढाइबाट वञ्चित भइरहेका छन् ।’

‘कृषि, पर्यटन, कला, वातावरण तथा औद्योगिक व्यापार मेला–२०७९’ नाम दिइएको यो महोत्सव आयोजना गर्न भेरी नगरपालिकाले अनुमति नदिएको नगर कार्यपालिकाका शाखा अधिकृत दलबहादुर घर्तीले बताए । विद्यालयमा यसरी महोत्सव लगाउन नदिने भनेर नगरपालिकाले एक वर्षअघि नै निर्णय गरेको दाबी गर्दै अधिकृत घर्तीले अनुमतिबिना कार्यक्रम हुन लागेको बताए ।

बर्सेनि विद्यालयमा आयोजना हुने यो महोत्सवका कारण पठनपाठनमा प्रत्यक्ष असर परेको भनेर विरोध भएपछि २०७६ सालमा महोत्सव विद्यालय बाहिर आयोजना गरिएको थियो । त्रिभुवन माविका प्रधानाध्यापक भक्तबहादुर मल्लका अनुसार त्यसपछि ०७७ मा कोरोना संक्रमणका कारण कार्यक्रम आयोजना भएन । ‘अघिल्लो वर्ष र यो वर्ष भने पुनः विद्यालयमै महोत्सव आयोजना गरिएको छ,’ उनले भने, ‘मेला आयोजना गर्छौं भनेर संघका पदाधिकारीहरू आएपछि पठनपाठन केही दिनका लागि स्थगित गरेका हौं ।’

विद्यालयले अघिपछि हुने पर्व बिदा कटाएर पठनपाठनको क्षतिपूर्ति गर्ने प्रबन्ध मिलाएको बताउँदै प्रधानाध्यापक मल्लले यसमा आफ्नो गम्भीर असहमति रहेको बताए । ‘यसमा मेरो आपत्ति छ, यसको विरोध गर्ने म मात्रै भएकाले अल्पमतको कदर भएन,’ उनले भने, ‘महोत्सव हुँदा विद्यालयको पठनपाठनमा मात्रै नभइ भौतिक सम्पत्तिमा पनि क्षति पुग्ने भएकाले मैले सुरुदेखि नै असहमति जनाइरहेको छु ।

’ महोत्सवका बेला हुने कुनै पनि भौतिक क्षति आयोजकले व्यहोर्ने भनेर विद्यालयसँग ६ बुँदे सहमति भएको विद्यालय प्रशासनले जनाएको छ । आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीले सदरमुकाम क्षेत्रमा मेला–महोत्सव गर्नका लागि ठाउँ नै नभएकाले विद्यालयमा आयोजना गर्नु आफूहरूको बाध्यता भएको बताए ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया