गुराँसमा अब योजना सम्झौता गर्न पालिका धाउनै नपर्ने

सिर्जना बुढाथोकी,

दैलेख,१२ पाैष ।

दैलेखको गुराँस गाउँपालिकाले योजनाको सम्झौता गर्न उपभोक्ताहरु गाउँकार्यपालिकाको कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ । सानातिना योजनाहरुको सम्झौता गर्न पनि उपभोक्ताहरु गाउँकार्यपालिकाको केन्द्रमा पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गुराँसमा वडागत हिसावले घुम्ति शिवीरहरु सञ्चालन गरिएका हुन् ।

जसअन्तर्गत आज पुस १२ गते वडा नम्बर ७ मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्त्वमा कर्मचारीको टोलीले उपभोक्ता समितिसँग योजनाको सम्झौता गरेको छ । वडामै योजनाको सम्झौता गरेपछि गाउँपालिकाको केन्द्र रानीमत्ता पुग्दा लाग्नसक्ने खर्च बचाइदिएकोमा खुसी ब्यक्त गरेका छन् ।

गुराँस सरकारका प्रवक्ता एवं ८ नम्बर वडाका अध्यक्ष दीपेन्द्र ओलीकाअनुसार पुस ७ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णयअनुसार “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नाराको साथ चालू आर्थिक वर्षका स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गतका योजना सम्झौता गर्न वडाहरुमा घुम्ति शिविर सञ्चालन गरिएका हुन् ।

जसअन्तर्गत पुस १३ गते ६ नम्बर वडामा, १४ गते ५ नम्बरमा, १७ गते ४ नम्बरमा, १८ गते ३ नम्बरमा, १९ गते २ नम्बरमा, २० गते १ नम्बरमा र पुस २१ गते ८ नम्बर वडामा शिविर हुनेछन् । योजना सम्झौताको लागि एकै पटक सबै वडाबाट गाउँकार्यपालिकाको कार्यालयमा उपभोक्ताहरु पुग्दा भिडभाड र उपभोक्ताहरुले धेरै रकम खर्च गर्नुपर्ने बाध्यता थियो ।

नागरिकको मागअनुसार योजना निर्माणको लागि थोरै–थोरै बजेटसमेत बिनियोजन गरिएका हुन्छन् । योजना सम्झौता, फरफारकलगायतका काम गर्ने बेलासम्म यातायात, खाजा, खानामै उपभोक्ताले थुप्रै आर्थिक बोझ ब्यहोर्नुपर्ने हुन्थ्यो । प्रवक्ता ओलीले भन्नुभयो, “नौ को काठ–नब्बेको चिरानी” गर्ने परिपाटी अब अन्त्य भएको छ ।

साथै गाउँकार्यपालिकाले पालिकाबाट उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरुमा उपभोक्ता समितिले ब्यहोर्नुपर्ने लागत सहभागिता अनिवार्य गर्दै उपभोक्ता समितिहरुका लागि ५ लाख सम्मका योजनामा ३ हजार र ५ लाख भन्दा माथिका योजनामा ५ हजार प्रशासनिक खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया