सुर्खेत,१२ पाैष ।
बराहताल गाउँपालिका–६ ब्युरेनीका परशुराम बुढा र उनकी श्रीमती धर्मा बुढा बिहान सबेरैदेखि साँझ अबेरसम्म तरकारी व्यवसायमै सक्रिय रहन्छन् । घरखर्च चलाउन झन्डै १० वर्ष भारतमा मजदुरी गरेका बुढा ७ वर्षयता भने प्लास्टिकको टनेलमा तरकारी उत्पादन गरेर रमाइरहेका छन् ।
‘बिहान ४ बजे उठेर बारीमा पस्छु,’ उनले भने, ‘कहिलेकाहीं भारतमा किन रोजगारीमा भौंतारिरहेको छु जस्तो लाग्छ ।’ उनले ४ रोपनी जमिनमा तरकारी लगाएका छन् । थप २ रोपनी जग्गामा कुखुरा, बंगुर र भैसीपालन पनि गरिरहेका छन् ।
एक वर्षयता बुढा दम्पतीले गाउँमा आफ्नै मासु पसल खोलेका छन् । पसल र तरकारी बिक्रीबाट दैनिक ८ हजार रुपैयाँसम्मको व्यापार गरिरहेको बुढाले बताए । उनले दैनिक ४ सय रुपैयाँ प्रतिकिलोमा कम्तीमा १० किलो कुखुराको मासु गाउँमै खपत हुने बताए ।
‘तरकारीबाट ५÷६ हजार र मासु पसलबाट ४÷५ हजारको व्यापार भइरहेको छ,’ उनले भने, ‘अर्काको देशमा रातदिन पसिना चुहाएर जति कमाइ गरे पनि मनखुसी भएन, अहिले यही व्यवसायले मान, सम्मान, प्रतिष्ठा र आत्मसम्मान सबै दिएको छ ।’ उनीहरूले तरकारी व्यवसायमा गरेको प्रगति देखेर गाउँका अन्य युवा पनि तरकारी व्यवसायतर्फ आकर्षित भएको धर्माले बताइन् ।
अहिले उनको बारीमा आलु, काउली, भेडेखुर्सानी, साग, धनियाँ, बन्दागोपीलगायत तरकारी उत्पादन भइरहेको छ । ‘अहिले बजारमा एक सय रुपैयाँ किलो कुनै तरकारीको भाउ छैन,’ उनले भनिन्, ‘दैजिक कम्तीमा ५० किलो तरकारी बेच्दा पनि ५ हजार रुपैयाँ कमइ हुन्छ ।’ अहिले उनीहरूको तरकारी प्रदेश राजधानी वीरेन्द्रनगर, नेपालगन्जलगायत सहर जाने गरेको छ ।
अहिले ब्युरेनीका ४५ घरमा तरकारी खेती हुन्छ । बुढा दम्पती आफूहरूले ७ वर्षदेखि तरकारी व्यवसायमा काम गर्दागर्दा प्राविधिकको जस्तै अनुभव बटुलिसकेको बताउँछन् । ‘अहिले त गाउँमा कसैको तरकारी बारीमा केही समस्या आए हामीले नै समस्या समाधान गरिदिन्छौं,’ उनले भनिन्, ‘कुन रोगकिराको प्रकोप भए के लक्षण देखिन्छ र कुन विषादी प्रयोग गर्नेबारे हामीले नै अरू किसानलाई सल्लाह दिने गरेका छौं ।’
उनीहरूले यही व्यवसायबाटै सबै खर्च कटाएर २ लाख ५० हजार रुपैयाँ बचत गर्छन् । तरकारी व्यवसायबाटै उनीहरूका ३ छोराछोरीले सुर्खेतको बोर्डिङमा पढिरहेका छन् ।
उनीहरूको तरकारी खेतीबाट प्रेरित भएकी संगीता बुढाले पनि २ वर्षयता व्यावसाययिक तरकारी खेती गरिरहेकी छन् । उनले तरकारी बिक्री गरेर ३ महिनाको सिजनमा १ लाख रुपैयाँसम्म कमाउने गरेको बताइन् । उनका अनुसार अहिले तरकारी खरिद गर्न व्यापारीहरू नै बारीमा आउने गरेका छन् ।
कान्तिपुर
युग संवाददाता । । १२ पुष २०७९, मंगलवार १४:४६