सिर्जना बुढाथोकी
सुर्खेत,१२ पौष ।
संघर्षपुर्ण बाल्यकालः
म गणेश प्रसाद रेग्मी । दैलेख जिल्लाको दुल्लु नगरपालिकामा वि.सं. २०२२ साल साउन ११ गते निम्न वर्गिय परिवारमा मेरो जन्म भएको हो । मेरो बुवा शिक्षक हुनुहुन्थ्यो, उहाँले सँस्कृत भाषा पढाउनु हुन्थ्यो । त्यसकारणले पनि हामिले पढ्ने अवसर पायौ । स्याम्पाटिमा निगालोको कलमले कागजमा लेख्न प¥यो भने खरीले लेख्थीम् ।
यसरीनै मेरो पढाईको शुरुवात भएको हो । पारिवारिक स्थिती अलि दयनिय भएका कारणले पनि हामीले आफ् नो जीवन गुजाराका लागी निकै संघर्ष गरेका हौ । मेरो परिवारमा मेरो आमा बुवा, हामी ४ भाई २ बहिनी हो तर अहिले मेरो दिदि बहिनी र २ भाईको मृत्यु भैसकेकाले अहिले हामी २ भाई मात्रै छौ ।
बहिनीको सानै देखी पेट दुख्ने समस्या थियो । त्यतिबेला गाउँ–गाउँमा मेडिकल थिएनन् उपचार भनेकै झार फुक र जडिबुटी हो । केहि विरामी भयो कि धामी अनि झाक्रिको मा जानुको विकल्प थिएन । किनकी त्यो समय अनि परिवेश त्यस्तै थियो । अस्पताल जानका लागी सदरमुकाम अझ दुई तिन दिन सम्म हिडेर जानुपर्ने हुन्थ्यो गएपनि विशेषज्ञ सेवा त हुदैन थियो ।
सायद मेरा आमा बा ले डाक्टरको मुख कहिल्यै देखेनन् । करिब १९ वर्षको उमेरमा मेरो बहिनीको उपचार नपाएर मृत्यु भएको हो । यसरी बहिनीको त मृत्यु भयो भयो तर दिदिको पनि विवाह पछि दुई छोरी थिए । उहाँको पनि स्वास्थ्य समस्या र उपचार नपाएरै मृत्यु भयो । यस्तै मेरो माइलो दाजुको पनि नुहाँउने क्रममा खोलामा बगेर मृत्यु भयो ।
यसरी हामीलाई हुर्काउनका लागी निकै मेहेनत र दुःख गरेका मेरा आमा बुवाको काखबाट ३ जना दिदि, बहिनी र दाजुको माया खोसियो । त्यसपछि हामी दुई भाईले दुल्लुकै विजया मा.वीबाट वि.सं. २०४१ सालमा एस.एल.सी एकै साथ पास गरेका थियौ ।
शिक्षक पेशामा सहभागीः
अहिलेको समयमा डिग्री गरेका पनि खाली बसेका छन्, जागिर नपाएर । तर हाम्रो समयमा एस.एल.सी गरेका पनि ठुला मानिन्थे । मैले एस.एल.सी गरेको थाहा पाएपछि एक जना खड्गबहादुर सिजापती भन्ने सरले शिक्षक पेशाका लागी आमन्त्रण गर्नुभयो । गाँउको एउटा विद्यालयमा अध्यापन गराउन थाले मैले त्यसपछि । मेरो पहिलो तलब ५ सय ७५ रुपैयाँ थियो, त्यो पैसा त्यतिबेलाका लागी धेरै थियो ।
अहिले मेरो पेन्सननै २५ हजार आउछ र पनि पुग्दैन । तिन वर्ष पढाएर म फेरी आठविस नगरपालिकामा रहेका अर्को विद्यालयमा गए । पढाउने क्रममै आयोगमा परिक्षा दिए जसमा १५ जनाको नाम निस्कियो र म वि.सं. २०४५ सालमा म स्थाई भए । कालिका मा.वी, कृष्ण नि.मा.वी, मा.वि धुलेस्वर, लकान्द्र जस्ता विद्यालय गरेर शिक्षण अवधिमा मैले ६ वटा विद्यालयमा पढाउने अवसर पाएको थिए। यसपछि वि.सं. २०४६ सालमा मैले विवाह गरे ।
मेरा तिन छोरा दुई छोरी छन् । मेरो बुवा शिक्षक भएर मैले त्यो समयमा पनि पढ्न पाए तर म शिक्षक भएर मेरा छोराछोरीलाई कुनै कुरामा कमि नगरेर पढ्नका लागी निकै सहजपुर्ण वातावरण दिए । उत्पादन हुने ठाउँमा जमिन नभएकाले मलाई अलि समस्या भयो । घर व्यवहार चलाउने, छोराछोरी पढाउने सबै मेरो शिक्षण पेशाकै भरमा थियो । घरमा एक जना कमाउने बाकी सबैको खर्च जोह त्यहि एकजनाको भरमा हुदा अलि धेरै चाप हुदो रहेछ ।
यसरी मैले आफ्नो शिक्षण पेशाबाट वि.सं. २०७१ सालमा अवकास पाए । त्यहि अनुसार छोराछोरीले पनि पढ्दै गए आफ्नो स्तर बनाउदै गए । अझै पढ्दै छन्, डिप्लोमा लेवलको पढाई सकेका भएपनि जागिरे कोहि भइसकेका छैनन् तर अब भने उनीहरुको हरेक बोझ घट्ने छ । सबै तयारीमा छन्, सानो तिनो पेशा नभए व्यवसाय गरेर पनि अब पालिने र जिवन निर्वाह गर्न सक्ने भैसकेका छन् ।
सरकारी तहको शिक्षण पेशाबाट अवकास प्राप्त पछि मैले प्राईभेट विद्यालयमा पनि पढाउन थाले तर यो केहि समयमात्रै गरे अनि व्यवसाय तर्फ लागे । किनकी सरकारी र प्राईभेट विद्यालयमा धेरै अन्तर हुदो रहेछ ।
पहिला र अहिलेको शिक्षाको गुणस्तरः
पहिले भन्दा अहिलेको शिक्षाको गुणस्तर खस्किएको जस्तो मलाई लाग्छ । उहिलेका बालबालिका शिक्षकलाई आदर सम्मान गर्थे तर अहिलेकाले त्यस्तो गरेको देखिदैन् । शिक्षक भन्ने वित्तिकै डर देखिन्थे उहिलेका बालबालिकाका अनुहारमा । शिक्षकले दिएको गृहकार्य, पढ्नुपर्ने कुरा, घरधन्दा गरेर पनि उहिलेका बालबालिकाले राम्रो शिक्षा लिएका थिए । अहिले सरकारी ठुला ठुला अस्पतालका मन्त्रालयका सचिव, सि.डि.यो, डाक्टर, इन्जिनियर सबै सरकारी विद्यालयमा पढेका नै भएका छन् ।
उहिलेका विद्यार्थीमा उत्सृङखल तथा छाडा प्रवृति बढि भएको मैले देखेको छु। शैक्षिक प्रणाली पनि वि.सं. २०२८ सालको नै अहिले सम्म लागु भैरहेको छ । नयाँ प्रकृया संगै शैक्षिक गतिविधि पनि बदलिनुपर्ने हो तर त्यो छैन । पढाईको स्तर हेर्ने हो भने हामीले अध्ययन गर्दा मैलेनै पाठहरु पुरै कन्ठ गरेको थिए ।
शिक्षकको आदेश अनुसारका पाठ र किताबनै कन्ठ हुन्थे हाम्रा पालाका विद्यार्थीलाई । मैले चण्डी सबै याद गरेको थिए जुन म अहिले पनि भन्न सक्छु। गुरुकुल शिक्षा, शैक्षिक सामाग्री, भौतिक सामाग्री सबै हामीलाई याद छ भने अहिलेका बालबालिकालाई २ घण्टा अगाडि पढाएका कुरा सोध्नुस् थाहाँ हुदैन ।
यस्तो खस्कदो शिक्षा अहिलेको छ । विभिन्न खानपानका कारण पनि अहिलेका बालबालिकाको स्मरण शक्ति पनि कम भएको भान भैरहेको छ । सामाजिक रुपमा प्रोत्साहन गर्नका लागी अभिभावक, शिक्षक र विद्यार्थी तिनै तहको महत्वपुर्ण भुमिका छ । किनकी हामी आफ्ना बालबालिका विद्यालय गए भनेर ढुक्क हुन्छौ तर विद्यालयमा पुरा समय पढे की पढेनन्, कति जाने, के जानेनन् भन्ने कुराको ध्यान कहिल्यै गर्दैनौ । हामीले हेर्ने भनेको परिक्षाको नतिजा हो जुन माथीका कुरा विना सम्भब छैन।
प्राइभेट विद्यालयमा पढाउने प्रवृति अहिले देखासिखी भएको छ । सरकारीमा पढाउने मास्टरको छोराछोरी प्राइभेटमा पढिरहेका छन् । जसकाकारण सरकारी विद्यालयको पढाईको गुणस्तरमा प्रश्न उठेको छ । प्राइभेट विद्यालय भनेका टाङा जस्तै हुन लगााम लगाएर हिड्ने तर विद्यालयमा गइसके पछि कस्तो शिक्षा हासिल गर्ने, मान्यताका कुरा देखि सबै कुरा बुझ्न आवश्यक छ ।
मैले यी सबै कुरामा चित्त नबुझेपछि सरकारीमा अवकास पछि जोडिएको प्राइभेटको जागिर लत्याएर व्यवसायलाई अंगालेको हु। सबै क्षेत्रलाई समेट्ने सरकारी विद्यालय ओझेलमा परेको छ । त्यसैले पहिले हाम्रो जिवन भोगाईका अनुसार अहिलेका बालबालिकाले सब थोक पाएका छन् तर पनि सफल छैनन् ।
युग संवाददाता । । १२ पुष २०७९, मंगलवार १०:२५