कृषि कर्मले दिएको खुशी

सिर्जना बुढाथोकी

सुर्खेत,११ पौष ।

दुःख गरेरै वितेको बाल्यकालः

मेरो नाम बलबहादुर रावत हो । मेरो जन्म ५६ वर्ष पहिले भेरीगंगा–२ बाँसघारी सुर्खेतमा भएको हो । गाउँले परिवेशमा हुर्किएकाले मैले सानै उमेर देखी घरको काममा नै व्यस्त हुन्थे । मैले मेरो परिवार सधै काममै व्यस्त भएको देखेको थिए । एकाविहानै घरधन्दामा व्यस्त हुने मेरी आमा र खेतबारीमै दिन विताउने मेरो बुवाको दुःखले मलाई पनि खाली बस्न दिदैन थियो ।

त्यो समयमा छोराछोरीलाई पढाउनै पर्छ, भोली पढेर केहि गरी खालान भन्ने सोच हुदैन थियो । तर काम गर्न सिक्न पर्छ, खेत जोत्न सिक्नुपर्छ, बारी खन्न सिक्नुपर्छ अनि गाई भैसी गोठालो जान अनि उनीहरुको रेखदेख गर्न सिक्नुपर्छ नत्र जिवनमा गरि खाइन्न भन्ने सोच हुन्थे हाम्रा बाउ बाजेका । सानो हुदा हाम्रा खुट्टामा कहिल्यै जुत्ता चप्पल भएनन् ।

तर मेरो बाउको खुट्टामा पनि मैले कहिल्यै देखिन् । बुवाको खुट्टामा खडेरीमा जमिन फाटेका जस्ता चिरा चिरा थिए । मिठो खान अनि नयाँ कपडा लाउनका लागी दशै नै आउनुपथ्र्यो । मेरा बुवाले कहिल्यै काम नगरेर बसेको मैले देखिन । सधै दुःख मात्रै तर त्यो सब हामीलाई पाल्न अनि जिवित राख्नकै लागी थिए ।

त्यसैले हामीले पनि कृर्षिलाई नै आफ्नो मुख्य पेशाका रुपमा अगाडी बढायौ । परिवारबाट छुट्टीएर अर्काको देशमा दुःख गर्नुभन्दा व्यवसायीक रुपमा नै खेती गर्दा जिविकोपार्जन त भएको अझ भन्दा परिवारको साथमा बसेर दुःख सुख गरेर खान पाइएको छ । मेरो तिन छोरी दुई छोरा छन् ।

कान्छी छोरी अहिले कक्षा १० मा पढ्दै छिन् र कान्छो छोरो ७ कक्षामा पढीरहेको छ, बाकी अगाडीका छोरा अनि छोरीले विवाह गरीसकेका छन् । हामी बुडा बुडी अनि दुई जना छोरा छोरी गरेर चार जनाको परिवार खुशी साथ बसेर खाएका छौ । यो सब कृषि पेशाले दिएको खुशी हो । उनीहरुले पनि हामीलाई काममा सघाइरहेका छन् ।

व्यवसायीक रुपमा कृषि खेती 

हामीले पहिले पहिले त आफु संग भएको थोरै खेतबारी र करेसाबारीमै तरकारी तथा फलफुल उत्पादन गरेर घरखर्च चलाइरहेका थियौ । तर पछि मेरी श्रीमती लक्ष्मी कार्की गाँउका दिदिबहिनी संग एउटा समूहमा आवद्ध भइन् जसले धेरै कुराको ज्ञान दियो ।

मौसमी तथा बेमौसमी तरकारी, फलफुल तथा अन्न बाली कसरी लगाउने र बजार व्यवस्थापन कसरी गर्ने भन्ने कुरा उनी आवद्ध सहकारीले सिकायो । बाँसघारी कृषक समूहको सदस्य भएपछि मेरी श्रीमतीले पनि यहि कृषिलाई आम्दानीको मुख्य स्रोत बनाइन जसमा मैले पनि पुर्ण रुपमा सहयोग गरे । मेरै घरमा धेरै तरकारी तथा फलफुलको डेमो पनि तयार गरियो ।

यसमा उनीहरुलाई प्रयास परियोजनाले सहयोग गरेको थियो । मैले पनि हाम्रो भएका कुनै पनि जग्गा अनि करेसाबारी खेर जान दिइन । उत्पादन गरेपनि हाम्रो यहाँ भण्डारणका लागी ठाँउ नहुदा तत्काल बजारमै लग्नुपर्ने समस्या भयो । म लगाएत मेरो परिवारका सदस्य सबैले आफ्नो आफ्नो समयानुकुल भएको बेला छिन्चु बजार, वीरेन्द्रनगर बजारमा ल्याएर डोकोमा बोकेर विक्रि गर्न थाल्यौ । समुहमा २५ जना भएपनि सबैले आफ्नो आफ्नो घर घरमा काम गर्ने गर्यौ ।

राष्ट्रिय महाँसंघ र भिएसओको सहयोगमा समुहलाई तरकारिका विउविजन देखी तालिमसम्मको सहयोग गर्नुभयो । प्राविधिकबाटै तरकारी लगाउन सिक्दै, चिनीमल र युरिया प्रयोग गरेर गर्ने काम बन्द गरेर अहिले घरमै हुने पिसाबहरु संकलन गरेर  घरकै वातावरणमा भएको विषादी प्रयोग गरीरहेका छौ ।

अहिले युरीया मल हामीले बन्द नै गरेका छौ । गड्यौली मल पनि उत्पादन गरिरहेका छौ हामीले । युरीया मल प्रयोग गर्दा स्वास्थ्यमा असर संगै आफ्नै बारी पनि साह्रो डल्ला हुने हुन्थ्यो त्यो समस्या अहिले कम भएको छ र मलीलो भएको छ , बारी । बजारबाट तरकारी फलफुल किन्नुपर्ने बाध्यता हामीबाट टरेको छ ।

समुहमा रहेका सबै जनाले आफ्नो परिवारले खाएर पनि बिक्रि वितरण गछौ । पहिले पहिले मेरो श्रीमती घरबाट बाहिर नजाने, बोल्न पनि लाज मान्ने गर्थीन तर समुहमा आवद्ध भएपछि उनी सबै काममा अग्रसर हुन्छीन् । उनलाई मैले पनि साथ दिएको छु। उनीहरुले सुन्तला, कागती, बेसार, केरा, अदुवा कसरी लगाउने, के के चाहिन्छ सबै कुरा समुहले सिकाएको छ ।

समुहमा आवद्ध सबैले जैविक मल, गड्यौले मल, भकारो सुधार, कम्पोष्ट मल बनाउने पनि डेमो प्लटबाट सिकिन्छ । जसले घर घरमा पुग्ने तरकारी उत्पादन गर्ने गर्छन । जलवायु मैत्री खेती  गर्न र आत्म विश्वास बढाएको छ सामुहीक भेटघाटले । कृषि लाग्न सक्ने हो भने परिवारबाट टाढिनु पर्दैन यसमा उन्मुक्ति प्राप्त भएको छ ।

खुर्सानी पनि धेरै उत्पादन गरेर विक्रि गर्यौ हामीले । मेरो दुई विगाह  जग्गामा हामि दुई जना मिलेर खेती  गरिरहेका छौ भने समुहमा पनि आवद्ध भएर पाएको ज्ञान हामीले उपयोग गरिरहेका छौ । कृषिले हाम्रो जिविकोपार्जन भएको छ, मेरा छोरा छोरी पढ्न पाएका छन् अनि म यहि दुःख गर्न विदेशीनु परेको छैन् ।

पढाई छैन यहाँ जागिर पाउन यहि पनि नगरे त की भारत कि अरु देश जहाँ भएपनि विदेशीनै पर्छ । हामीले तरकारी खेतीमा व्यावसायिक सफलता पाएको हो । एकै सिजनमा समुहले पाँच÷छ लाखको तरकारी बेच्ने गरेको छ अनि हाम्रो घरमा भएको आफ्नो व्यक्तिगत उत्पादनबाट पनि हामीले सिजनमा एक लाख बढि कमाउछौ, लगानी छोडेर ।

कृषिमा मिलेको सन्तुष्टीः

मैले मेरो श्रीमती आवद्ध बाँसघारी कृषक समूहको काममा सघाइरहेको छु। कृषि आम्दानीबाट मैले आफ्नो जीवन सजह ढंगले संचालन गर्दै आएको छु। मलाइ यहि फर्मले खान लाउन दिएको छ । मेरो परिवार यसमै खुशी छ । गाउँघरमा एकआपसमा माया र सद्भाव यसै कर्मले बढाएको छ । मलाई असाध्यै खुशी मिलेको छ । मेरो परिवारको जिम्मानै यहि कृषिले लिएको छ ।

यसरी युवाहरुले कृषी तथा पशुपालनामा लगानी गरे विदेश जानै पर्दैन । थोरै मेहेनत गर्नै पर्छ किनकी विदेशमा पनि असाध्यै दुःख छ जो हामीले प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा देखिरहेका छौ । तर थोरै कर्म गर्न सके सुख अवश्य मिल्छ । कर्म गरे नेपालमै केही गर्न सकिन्छ भन्ने लाग्छ मलाई । समुहमा रहेका सबैका श्रीमान तथा परिवारले सहयोग गरे सबैको घरमा खुशी छाउछ । त्यसैले हामीले उनीहरुलाई सहयोग गरिरहेका छौ । कृषि कर्मसंगै मलाई समाज सेवामा समेत रुचि छ ।

तपाईको प्रतिक्रिया