दाहालले देखाए प्रधानमन्त्रीको दाबीबाट पछि नहट्ने संकेत

काठमाडौँ ,९ पाैष ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति कांग्रेसले लिएर आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् । शनिबार बिहान आफूलाई भेट्न खुमलटार पुगेका पौडेलसँग दाहालले कांग्रेसले सरकारको नेतृत्व लिइसकेकाले यसपटकको पहिलो चरणको सरकारको नेतृत्व आफूलाई पाउनुपर्ने अडान दोहर्याएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्वमा दाबी गरिरहेको बेला दाहालले आफ्नो दाबी कायमै रहेको र कांग्रेसले त्यसमा सहयोग नगरे विकल्पमा समेत जानसक्ने संकेत गरेको पौडेल निकट स्रोतले जानकारी दियो ।

’शान्ति प्रक्रिया र गठबन्धनको मर्म तपाईं राम्रोसँग बुझ्नुहुन्छ । तपाईं राष्ट्रपति र म प्रधानमन्त्री बन्दा मलाई गर्व नै महसुस हुन्छ,’ पौडेललाई दहालले भनेका कुरा उदृत गर्दै स्रोतले भन्यो, ’शेरबहादुरजीले डेढ वर्ष सरकार चलाइसक्नुभयो । यसपटक स्वाभाविक दाबी माओवादीको हो । त्यसमा तपाईंले सहयोग गर्नुहोस् । भएन भने कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल गर्नुपर्ने हुन्छ ।’

पौडेलले गठबन्धन कायमै राख्न दाहालसँग आग्रह गरेका थिए । ’प्रधानमन्त्री को अगाडि हुने र को पछाडि भन्ने कुरा तपाई दुईजना (देउवा र दाहाल) मिल्नुहोस् । गठबन्धनको औचित्य अझै समाप्त भएको छैन । गठबन्धनलाई कायम गर्ने कुरामा तपाई दायाँबायाँ नगर्नुहोस्,’ पौडेलको भनाइ थियो ।

दाहाललाई भेटे लगत्तै पौडेले कोटेश्वरस्थित निवासमा गएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । त्यो भेटमा पनि गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो । नेपालले पौडेलसँग शक्ति बाँडफाँटको केन्द्रमा आफ्नो उपस्थिति कहाँ हुने भन्ने विषय राखेका थिए । उनले प्रष्ट नभने पनि राष्ट्रपतिको चाहना राखेको संकेत गरेका थिए । तर गठबन्धनलाई निरन्तरता दिने विषयमा भने दुवै नेताबीच समान धारणा रहेको पौडेल निकट स्रोतले जानकारी दियो ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया
error: Content is protected !!