ओलीको दाबी– ’दाहालको प्रधानमन्त्री बन्ने सम्भावना सामान्यतः समाप्त’

काठमाडौँ ,९ पाैष ।

 सरकार गठनका लागि दलहरूबीच कसरत भइरहेका बेला प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समयमा निर्णय लिन दलका नेताहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीमा इच्छा देखाइरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्णय गर्न ढिला गरेको ओलीको भनाइ छ ।

काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा ओलीले निर्णय लिन ढिलो गरेकाले माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्री बन्ने चाहना अब पूरा नहुने दाबी गरेका हुन् । उनले कुनै पनि कामको सीमित समय रहने र समय घर्किएपछि त्यसको औचित्य सकिने प्रसंग जोड्दै दाहाल प्रधानमन्त्री बन्ने समय सकिएको जिकिर गरेका हुन् ।

’म देख्छु कतिपय इच्छा गरिरहेका छन् । पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ । तर उहाँले मलाई लाग्छ ढिलो गर्नुभयो, निर्णय गर्न ढिलो गर्नुभयो,’ ओलीले भने, ’उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा हुन चाहनुभएन ।’

अरु नेताहरूले पनि समयमा निर्णय लिन सकेनन् भने मुलुक मध्यावधि निर्वाचनतिर जाने ओलीको दाबी थियो । एमालेले सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धन छोडेर आउन माओवादी केन्द्रसामु प्रस्ताव राखेको थियो । माओवादीले भने सुरुमा गठबन्धनबाटै प्रधानमन्त्री प्राप्तिका लागि प्रयास गर्ने भनेर एमालेको प्रस्तावलाई महत्व दिएको थिएन ।

कांग्रेसले आफ्नै नेतृत्वमा गठबन्धनको सरकार गठन हुनुपर्ने अडान लिइरहेको छ भने माओवादीका अध्यक्ष दाहालले पनि आफू पहिलो चरणमा प्रधानमन्त्री बन्नुपर्ने अडान छोडेका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय तोकेकी छन् । उक्त समय घर्किनै लाग्दा राजनीतिक दलहरू आआफ्नो रणनीतिमा अगाडि बढेका छन् । यसबै बखत संसद्को दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीको अभिव्यक्ति आएको हो ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया