बेवारिसे चौपायाले किसान हैरान

सुर्खेत,९ पाैष ।

वीरेन्द्रनगरमा बेवारिसे चौपायाबाट किसानलाई बाली जोगाउन मुस्किल परेको छ। बेवारिसे चौपायाको व्यवस्थापन गरिदिन भन्दै किसानले नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका छन्। यद्यपि कुनै सुनुवाइ नभएको किसानको गुनासो छ।

नगरपालिकाले वीरेन्द्रनगर उपत्यकाभित्र बेवारिसे रूपमा रहेका गाई–गोरुलगायत चौपायाको व्यवस्थापन नगर्दा बाली जोगाउनै मुस्किल भएको किसानको गुनासो छ।

वीरेन्द्रनगर–१२ मा पशु चौपायाले बालीमा ठूलो नोक्सानी गरेको किसानले बताएका छन्। छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि नगरपालिकामा गुहार माग्न आएकि सोही वडाकी टीका गौतमले आफूले लगाएको तरकारी बारीमा छाडा छाडिएका पशु चौपाया पसेर सखाप पारेको बताइन ।

उनका अनुसार रातिको समयमा पशु चौपायाले बालीमा बढी क्षति गर्ने गरेका छन्। उनले भने  “धौधौ गरी जोगाएर हुर्काएको तरकारी बारीमा गाई–गोरु पसेर सबै नोक्सान गरेका छन्, नगरपालिकाले छाडा चौपायाको व्यवस्थापनमा बेवास्ता गर्दा हामीलाई निकै समस्या भइरहेको छ।”

बेवारिसे पशु चौपायाबाट तरकारी जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए । पशु चौपायाले सास्ती दिन थालेपछि उक्त वडाका बासिन्दाले यसअघि पनि पटक–पटक वडा र नगरपालिका कार्यालयको ध्यानाकर्षण गराएका थिए।

दिनभर सडकमा रहने पशु चौपायाले रातिको समयमा खेतबारीमा पसेर बालीमा नोक्सानी गर्ने गरेका छन्। साँझ ८ बजेदेखि नै हातमा ‘टर्चलाइट’ लिएर चौपाया धपाउन खेतबारीमा बस्नु परेको किसानको गुनासो छ। वीरेन्द्रनगर–१२ कै यशोदा पौडेलको तरकारी बारी पनि बेवारिसे चौपायाले सखाप पारेका छन्।

केही समययता दिनरात आफ्नो कामै पशु चौपाया धपाउने भएको उहाँले बताउनुभयो। पशु चौपायाले सास्ती दिन थालेपछि उक्त वडाका किसानले नगरपालिका परिसरमा एक घण्टा धर्ना दिएका थिए। पशु चौपायाको व्यवस्थापनको माग गर्दै उनीहरूले दबाबस्वरूप धर्ना दिएका हुन्। किसानको गुनासो सुनेपछि उपप्रमुख नीलकण्ठ खनालले केही दिनभित्रमा बेवारिसे चौपायाको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने , “यस्तो समस्या पटक–पटक आएको छ, अब हामी समस्याको दीर्घकालीन रूपमा समाधान हुने गरी काम गर्दैछौँ।” पशु चौपायाको उचित व्यवस्थापनका लागि किसानले स्थानीय सरकारसहित प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएको जनाएका छन्।

वीरेन्द्रनगरका सबैजसो वडामा बेवारिसे पशु चौपायाले बालीमा नोक्सानी गर्दै आएका छन्। त्यस्तै यहाँका विभिन्न सडकमा बेवारिसे अवस्थामा ठूलो सङ्ख्यामा पशु चौपाया देखिन्छन्। तिनीहरूको व्यवस्थापन गर्न नसक्दा नगरपालिका आलोचित हुँदै आएको छ। नगरले पशु चौपाया व्यवस्थापनको प्रयास गरे पनि दिगो समाधान भने अझै दिनसकेको छैन।

वीरेन्द्रनगरका सडकमा बेवारिसे चौपायाको सङ्ख्या बर्सेनि बढ्दै जाँदा दुर्घटनाको जोखिमसमेत धेरै छ। बेवारिसे छोडिएका गाई–गोरुका कारण मुख्य बजार क्षेत्र पनि अव्यवस्थित बनिरहेको छ।

गाेरखापत्र 

तपाईको प्रतिक्रिया
error: Content is protected !!