संस्कृति÷परम्परा : हराउँदै छ, कर्णालीको इतिहास बोल्ने पुसे भैला

महेश नेपाली


जुम्ला,९ पौष ।

जुम्लीहरुले पुसमा खेल्ने भैलोले कर्णालीको इतिहास र विरासत बोलेको पाइन्छ । भैलो पुगाड्दा (भट्याउँदा) सिंजा साम्राज्यभित्रका अधिकतम् स्थानका नाम आउँछन् । त्यहाँ हुने उत्पादन र त्यहाँका विशेषता सुन्दा कर्णालीको इतिहास खोज्ने भेउ मिल्छ । भैलो संस्कृतिको रुपमा विकास हुनुका विभिन्न मत छन् । जसमध्ये पहिलो हो, युद्ध ।

जुम्ला राज्यका संस्थापक राजा बलिराजलाई युद्धको सामग्री जुटाउन धौ भयो । उनले सेनालाई आदेश दिए। घर घर पुगेर ऋतु जनाउनु, मोहर पैसा माग्नु, अन्न माग्नु। पछि त्यो भैलो संस्कृतिको रुपमा विकास भयो र हरेक वर्ष खेल्न थालियो । पुसमा खेलिने भैलोमा बलिराजाको नाम नआए पनि तिहारमा खेलिने भैलोमा ’हामी त्यसै आएका होइनौं ।

बलिराजाले पठाएका,’ भन्ने गरिन्छ । भैलोलाई लेकका बस्तीमा धउँशीला पनि भनिन्छ । लेकको बस्ती वोता मालिकामा यसको अस्तित्व अझै पनि भेट्न सकिन्छ । धउँशीलाको जन्मकथाअनुसार सिंजाको खसराज्य र तिब्बतको खारी राज्यबीच ताक्लाखार (ताउलाखार) आसपास धेरै दिनसम्म भीषण लडाइँ भयो ।

त्यो लडाइँ खस सेनाले जिते पनि उनीहरु राजधानी सिंजा फर्किने बाटो खर्च, रासन–सामल बाँकी थिएन । त्यसैले उनीहरूलाई बाटोमा पर्ने गाउँबस्तीमा विजय सन्देश फैलाउँदै भैलो माग्ने उर्दी भयो । यसरी भैलो माग्ने चलन सुरु भयो। दोस्रो कारण भनेको फुर्सद हो । कर्णाली क्षेत्रतिर मंसिर–पुसका मानिस बढी फुर्सदिला हुन्छन् ।

फुर्सदमा के गर्ने भनेर राजा बलिराजलाई सोध्दा उनले यसरी गाउँगाउँ, घर–घर गएर खेल्नु, रमाइलो गर्नु भनेर आदेश दिए। त्यसलाई भैलो भन्नु भने । त्यसपछि भैलोको सुरु भयो । भैलो मंसिर पूर्णिमामा एक दिन र पुसे औँसीको दिनदेखि पाँच दिनसम्म खेलिन्छ । त्यसको एक÷दुई दिनपछि नजिकैको चौर वा सार्वजनिक जग्गामा गएर सामूहिक भोज आयोजना गरिन्छ । जसलाई पाठेभात भनिन्छ ।

मंसिर पूर्णिमाको दिन खेलीने भैलोलाई नानी भैली भनिन्छ । पूर्णिमा अर्थात पुनिमा खेलिने नानी भैली यसरी पुगाड्ने(भट् याउने) गरिन्छ । आउँसीका बार – भैलो! दरमुद बार – भैलो! दराम्या खोली – भैलो! बाँसैकी झोली – भैलो! बाँसैकी विर्ता – भैलो! आ¥या न ता¥या – भैलो! पिपलु डाल्या – भैलो! पिपलु पाती – भैलो! रायकी छाती – भैलो!

राय जुमाउनु – भैलो! बाखरी खानु – भैलो! भैलोरै चेला – भैलो! भैलोरा आया – भैलो! ऋतु जनाया – भैलो! ऋतुकी मा¥या – भैलो! हाम्री खेल्नी चा¥या – भैलो! चा¥या पैचा¥या – भैलो! भैलाका रात्री – भैलो! चौथमी छेडो – भैलो! पच्यामी घोडो – भैलो! घोडा घोडाउली – भैलो! छेडो छेडाउली – भैलो! आकाश शीला – भैलो! पाताल जडा – भैलो! भैलै सुहाला – भैलो!

भैलो गयो दाङ – भैलो! अरु क्यै नमाग – भैलो! मोहर पैसा माग – भैलो! ताई तल जाउला – भैलो! छ्याई छ्याई गनौला – भैलो! कस्ले दिया भनौला – भैलो! ठूलाघर दिया भनौला – भैलो! नामै चलाउला – भैलो! नामैकी माया – भैलो! दुवाजन जेलिया – भैलो! पाथाजन भरिया – भैलो! पिप्ल जन गाज्या – भैलो! द्यार जन बड्या – भैलो! लाख वर्ष बाँच्या – भैलो! घार मौरा आइजाउन् – भैलो! ल्हास घोडा भइजाउन् – भैलो!

अन्न भैलो दिन्यालाई – भैलो! अनिकाल नपरोस् – भैलो! मोहरपैसा दिन्यालाई – भैलो! दाल्द डेरा नगरोस् – भैलो! ऋतुका बात – भैलो आकाश सिला – भैलो पातल जडा – भैलो भैलो खेल्नेले आफू आउनाको कारण बताउँछन् । हामी दरा खोलाका मानिसहरु कपडाका झोल बोकी बाँस झाँगिएझैं हुल बाँधेर आयौ ं। ऋतु जनायौं भन्दै मोहोर पैसा माग्छन् ।

(मोहार भनेको पचास पैसा हो ।) तिमी पिपलका पात र हाँगाजस्तै शुद्ध र लक्षिनका छौ । तिम्रो असल होस्, भलो होस् । तिमी बढेर आकाश जतिको हुनु। तिमीले दुबोजस्तै जेलिएको(फैलिएको) सम्बन्ध बनाउनु। अन्न भरिएको पाथोजस्तै भरिपूर्ण हुनु भनि आशीर्वाद दिने गर्छन् । जुन साहित्यिक भाव बोकेको, विम्ब र प्रतिकहरु भएको मर्मस्पर्शी र अतिरञ्जनायुक्त हुन्छ ।

हरेक घरमा खेल्नुपर्ने भैलोको माथि प्रस्तुत अंश नानी भैलीमा पुगड्ने गरिएको हुनुपर्छ । एक दिन मात्रै, त्यो पनि आफ्नै गाउँमा मात्रै खेल्ने हुनाले यो अलि छोटो छ । पछि कतिले ठूली भैलीमा पनि यसलाई नै पुगड्ने र खेल्ने गरेको हुनाले दुबै भैली पुगडाई एकैनासे देखिन गएको हो। तर यसमा कर्णालीका सबै कुरा समेटिएको हुँदैन। प्राय जानेकाले ठूली भैलीको बेला लामो गरी भैलो पुगड्दा(भट् याउँदा) कर्णाली चित्रित हुन्छ । त्यसमा सिंजा साम्राज्यका विभिन्न स्थानहरुको महत्वलाई ’यो खान्की पायो’ भन्दै दर्शाइएको छ ।

अन्तमा दाङ देउखुरी हुँदै भैलोलाई नेपाल(हालको काठमाडौं उपत्यका) सम्म पनि पु¥याइएको छ। नानी भैली अर्थात् मंसिर पूर्णिमाको ठिक १५ दिनपछि औँसीको प्रतिपदादेखि पाँच दिनसम्म सिंजा र जुम्ला उपत्यकामा ठूली भैली खेलिन्छ । यसमा भैलोको उत्पत्तिदेखि पुग्ने ठाउँसम्मको वर्णन गरिएको हुन्छ । जसका शब्दहरुले उतिबेलाको शक्तिशाली साम्रज्यको यथार्थता झल्काउँछ ।

बान्की मिलाएर निकै लामो र मीठो लयमा गाउने भैलोको सुरुवात यस्तो हुन्छ । काँ र जन्म्यो भैलाे? मानसरोवर कविलास – भैलो ऐंर दखि भैलो ताक्लाखार आयो – भैलो ताक्लाखार भैलाले क्या को खान्की पायो? – भैलो ताक्लाखार भैलोले सुन खान्की पायो – भैलो त्यस्तै क्रमशः भैलो खोचेर आएर मूर्ति, हिल्सा आएर राज्य, हुम्ला आएर फेरुवा (भेडाको उनबाट बनेको ओछ् याउने वस्त्र), सोरु गल्ब आएर मास गराउँस, मुगु करान आएर नुन÷उन, गमदर

(गमगडी) आएर मच्चा(खुर्सानी), घुच्ची आएर बयाल (बतास), बोता आएर चोतो÷कोइरो (सलगम जस्तो मीठो फल) अचार र तिउन, तरकारी बनाउन मिल्ने), सिंजा गडी आएर राजधानी पायो, लामथाडो हल्लायो, सिउबाघ जुधायो, लुड्कु आएर राजगुरु, लाहर्ज आएर जम्वुबाली, ओडार आएर पाँचै पाण्डव, देआरपाटा आएर पुजा पालो, जाँच आएर धान खानी, नराकोट आएर केदारनाथ, जुम्ला चौधान आएर चन्दननाथ पायो, मार्सी धान रोपायो,

श्रीढुस्का आएर सत्र खम्बा, पाँच सया दरा आएर बाइस पाटन, रकाल खोला आएर बयाल(बतास), बारबीस आएर ओडार, दुल्लु दैलेख आएर पञ्चकोशी, सुर्खेत आएर काँक्रेविहार खान्की पाएको उल्लेख छ। त्यसैगरी दाङ देउखुरी आएर भैलोले संसारै फिजायो, नेपालै पु¥यायो भन्ने छ। यसरी जुम्लामा खेलिने भैलो मानसरोवरबाट जुम्ला आएको र जुम्लाबाट दैलेख, सुर्खेत, दाङ हुँदै नेपाल(उतिबेलाको काठमाडौं उपत्यका) सम्म पुगेको बुझ्न सकिन्छ ।

सिंजातिर खेलिने भैलोले ऐतिहासिक सिंजा साम्राज्यको विर ासतसँग संस्कृतिलाई जोडेको देखिन्छ। कुनैपनि क्षेत्रको साहित्य त्यहाँको भूगोल, इतिहास, कला कौशलसँग जोडिएको हुन्छ। यसले संस्कृति निर्माणमा सहयोग मिल्छ। यसरी कर्णाली क्षेत्रमा विकास भएको भैलोले यहाँको संस्कृति र सभ्यताको उच्चतम विकासलाई प्रष्ट् याउँछ ।

त्यस्तै जुम्ला उपत्यकामा खेलिने भैलो पनि मावसरोवरमा जन्मेको कुरा बुझ्न सकिन्छ। उक्त भैलोमा मानसरोवर तीर्थ खान्की पाएको कुरा छ। अहिले पनि मस्टो मान्नेहरु आफ्नो देउता ल्याउन मानसरोवर जान्छन्। जुम्ला उपत्यकामा खेलिने भैलो यसरी सुरु हुन्छ। पैल्हा(पहिला)को भैलो काँबाट उब्ज्यो ?

– भैलो पैल्हाको भैलो मानसरोवर उब्ज्यो – भैलो सरोवरका भैलोले क्या कै खान्की पायो ? – भैलो सरोवरका भैलाले यै यै खान्की पायो – भैलो हाँस खेल्न्या, पुली पाड्न्या तीर्थ खान्की पायो – भैलो जुम्ला उपत्यकालगायत जिल्लाका अरु स्थानमा खेलिने भैलोको सुरुवात लगभग उस्तै भएपनि पछाडिका अनुप्राश फरक फरक छन् ।

तर सबै ठाउँमा खेलिने भैलोमा ऐतिहासिक सिंजा साम्राज्यको चर्चा छुटेको छैन । यसरी सबै क्षेत्रमा खेलिने भैलो लगभग उस्तै हुनुले पनि सिंजा साम्राज्य समकालीन अवस्थामा अथाह शक्तिशाली भएको बुझ्न सकिन्छ । कतिपयले सिधै पुगाड्ने भैलोलाई केटाकेटीले खेल्ने भैलो भन्छन् भने ’खान्की पायो’ भनेर खेलिने भैलोलाई पाका उमेरकाले खेल्ने भन्छन् ।

भाषा तथा संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्य केटोकेटीले खेल्ने भैलो तथा वयस्कले खेल्नेलाई देउसी भन्छन् । उनले भने, ’भैलो र देउसी दुबै उही समयमा खेलिन्छ । सामन्य तरिकाले पुगाड्न्या भैलो हो । जुन केटाकेटी खेल्छन्। ’खान्की पायो’ भन्ने वयस्क र महिलाहरुले खेल्छन् । जसलाई देउसी भनिन्छ ।

यो मानसरोवरबाट सुरु भएर नेपाल(काठमाडौं) सम्म पुग्छ । तर उताकोले केही फेरेर तिहारमा खेल्ने भैलो बनाए र त्यसैलाई देउसी भने ।’ पुसको महिना खेलिने नानी र ठुली भैली यस क्षेत्रका गौरवशाली सांस्कृतिक पर्व हुन्। तर यतिबेला पुसे भैलो छोडेर तिहारको भैलोमा सबैको ध्यान गएको छ। जोसँगै तमाम विकृति पनि भित्रिएका छन् । जसले हाम्रो संस्कृति मास्दै गइरहेको छ ।

अहिले त पुस्तौंदेखि खेल्दै आएको भैलो खेल्नेहरु भेटिन छोडेका छन् । नयाँ पुस्ता पुसे भैलोबाट बेखबर छ । केही फाट्टफुट्ट अघिल्लो पुस्ताका महिलाहरुले खेलिरहेका भएपनि अब पूर्ण रुपमा लोभ हुने अवस्थामा पुगेको छ । अरुको संस्कृतिलाई आँखा चिम्लेर अंगाल्नाले कुनै दिन थाहै नपाइ हामीले पहिचान गुमाइसकेका हुनेछौं। होस गर्या है मान्ठौ ! (ब्रेकएनलिंक्स)

तपाईको प्रतिक्रिया