देउवा र प्रचण्डबीच जुटेन सहमति, अर्को गठबन्धन बन्‍ने ‘घुर्की’

काठमाडौं ,९ पाैष ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शुक्रबार साँझसम्म सहमति जुटेको छैन।

बललबउगचलब उयकत

सत्ता गठबन्धनका पाँच दलले गठबन्धनकै दलहरू मिलेर सरकार बनाउने बताउँदै आएका छन्। तर कसको नेतृत्व भने टुंग्याएका छैनन्। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच को प्रधानमन्त्री बन्ने रस्साकस्सी छ। सहमति नजुटे ‘साथ छोड्ने’ र अर्को गठबन्धन बन्न सक्ने ‘घुर्की’ पनि एकले अर्कोलाई दिइरहेका छन्।

चुनावपछिको सरकारको नेतृत्व आफूलाई दिने ‘पूर्वसहमति’ पालना गर्नुपर्ने प्रचण्डको अडान छ। यता कांग्रेस भने चुनावमा पहिलो पार्टी बनेकाले सरकारको पहिलो नेतृत्व कांग्रेसले गर्नुपर्ने अडानमा यथावत् छ। पहिलो दुई वर्ष देउवा र त्यसपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने ‘कार्ड’ कांग्रेसले खेलिरहेको छ। तर प्रचण्ड भने कुनै हालतमा पनि आफू पहिलो दुई वर्ष प्रधानमन्त्री बन्नैपर्ने अडान राखिरहेका छन्।

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार दिनभर पनि प्रधानमन्त्रीका लागि दौडधुप र भेटघाटमा लागे। प्रचण्ड दिनभरजसो कांग्रेसका नेतासँग अनौपचारिक बार्गेनिङ गरेका थिए। कांग्रेसले स्वीकार नगरे एमालेसँग मिलेर आफू प्रधानमन्त्री बन्ने ‘घुर्की’पनि प्रचण्डले दिइरहेका छन्। राष्ट्रपति, सभामुखलगायतमा सम्झौता गरेर भए पनि प्रचण्ड तत्काल नै प्रधानमन्त्री हुन चाहेको नेताहरू बताउँछन्।

सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको र चुनावमा पहिलो पार्टी बनेकाले आफू प्रधानमन्त्री बन्नुपर्ने तर्क देउवाले गर्दै आएका छन्। कांग्रेसले माओवादीलाई सभामुख, उपराष्ट्रपति तथा केही मुख्यमन्त्रीको प्रस्ताव गरेको छ। शुक्रबार साँझ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पनि प्रचण्ड आफ्नो अडानबाट टसमस नभएको नेताहरू बताउँछन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित बिहीबार भएको भेटवार्तामा पनि प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेका थिए। शुक्रबार बिहानै प्रचण्डलाई भेट्न कांग्रेस नेता प्रकाशमान सिंह खुमलटार पुगेका थिए। सिंहले प्रचण्डलाई पहिलो चरणमा देउवालाई नै प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए।

प्रचण्डले भने यही गठबन्धनबाट आफू प्रधानमन्त्री हुन चाहेको, त्यसो नभए एमालेसँगसमेत छलफल भइरहेको जवाफ सिंहलाई दिएको स्रोतले बताएको छ। प्रचण्डको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमालेसँग पनि हाम्रो छलफल भइरहेको छ। देउवाजी अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ। अहिले म बन्छु दुई वर्षपछि फेरि देउवाजी। यसमा सहकार्य गर्दा सजिलै छ।’

माओवादीका महासचिव देव गुरुङले पूर्व सहमतिअनुसार माओवादीले सरकारमा दाबी गरेको बताए। ‘प्रधानमन्त्रीमा आलोपालोको पूर्वसहमति अनुरूप नै दाबी गरेका हौं,’ उनले भने, ‘माओवादी गठबन्धनभित्रकै दोस्रो ठूलो दल हो। दुई वर्ष माओवादीको नेतृत्वमा सरकार बन्छ त्यसपछि कांग्रेसलाई सहयोग गर्छौ भनेका छौं।’

कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने पाँचदलीय गठबन्धनको सरकार निर्माणका लागि प्रधानमन्त्रीको पहिलो कार्यकाल कांग्रेसको नेतृत्वमा हुने विषयमा कुनै समस्या नरहेको बताए । ‘आइतबारसम्म सत्ता गठबन्धनभित्रैबाट सरकार निर्माण गर्छौं,’ कार्कीले भने।

शुक्रबारै लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू पनि देउवालाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा सहभागी लोसपाका नेता केशव झाले भने, ‘गठबन्धनलाई कायम राखेर सरकार निर्माणमा जान अनुरोध गरेका छौं। चुनाव सफलतापूर्वक जसको नेतृत्वमा भयो उसकै नेतृत्वमा सरकारमा जानुपर्छ भन्ने कुरा हाम्रो हो।’

वाम गठबन्धनको कसरत
कांग्रेसले नमाने वाम गठबन्धन गरेर सरकार बनाउने पहल पनि भइरहेका छन्। त्यसका लागि एमाले र माओवादी नेताहरूबीच निरन्तर छलफल भइरहेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अर्का नेता वर्षमान पुनले चिनियाँ कार्यवाहक राजदूतसँग शुक्रबार भेटघाट गरेका छन्।

चीनमा उपचार गरेर फर्केका पुन चीनमा छँदा पनि उच्चस्तरीय राजनैतिक भेटघाट गरेर फर्केका थिए। माओवादी नेता पुनले पछिल्ला दिनमा एमालेका शीर्ष नेतृत्वसँग पनि भेटघाट गरेका छन्।

एमालेको आफ्नै रणनीति
सरकार गठनका विषयमा एमाले भने ‘पर्ख र हेर’को अवस्थामा रहेको नेताहरू बताउँछन्। गठबन्धन तोडेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न एमाले तयार छ। एमाले महासचिव शंकर पोखरेलले सरकार गठनका सबै विकल्पमा छलफल गर्न एमाले तयार रहेको बताए।

‘सरकार बन्न सक्ने तीनवटा विकल्प छन्,’ पोखरेलले भने, ‘पहिलो पाँचदलीय गठबन्धनकै सरकार। दोस्रो एमाले र कांग्रेसको सरकार। तेस्रो विकल्प वामपन्थी सरकार । यी तीनै विकल्पमा एमाले छलफल गर्न तयार छौं।’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सरकार गठनको दौडधुपमा नरहेको बताए। उनले गठबन्धनले संस्थागतरूपमा नै निर्णय गरेकोले त्यसबाट पछि नहटनुञ्जेल नयाँ ढंगले राजनीति अघि नबढ्ने बताए।

तपाईको प्रतिक्रिया