च्याट–जिपिटीले ढोका खोलेको नयाँ संसार

काठमाडाैं, ,८  पाैष ।

चलाख मेसिनहरूले हाम्रो दैनिक जीवनका नयाँनयाँ समस्याहरू समाधान गर्दै जाँदा र मानिसका कामहरू लिँदै गर्दा त्यसले कस्तो अवस्था सिर्जना गर्ला? पाँच, दस वा बीस वर्षपछि यो संसार कस्तो होला? हाम्रो काम र जीविकाको हालत के होला?

मानिसहरूले यी प्रश्नमा घोत्लिन र चिन्ता गर्न थालेको केही वर्ष भइसक्यो। तर अहिले त्योभन्दा पनि ठूलो चिन्ताको विषय छ– हाम्रो जीवन त जसोतसो कट्ला, हाम्रा सन्तानको भविष्य के होला? हामीले अहिले दिएको शिक्षाले तिनलाई भविष्यमा काम देला कि नदेला?

तिनले गर्ने सबै सम्भावित काम मेसिनले गर्न थाले भने तिनले रोजगारी नै पो कसरी पाउलान्? समय कसरी कटाउलान्? यदि तपाईंलाई यस्तो चिन्ताले पिरोलेको छ भने आउनोस्, मिलेर त्यो समस्याको समाधान खोज्ने प्रयास गरौं। हाल निकै चर्चामा रहेको च्याट–जिपिटीलाई मैले हालै अंग्रेजीमा सोधेँ– दुरदर्शी शिक्षकका हैसियतले म मेरो बच्चालाई एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को युगका लागि कसरी शिक्षित गर्न सक्छु?

उसले जवाफ दियो‍— (उसको उत्तरको गुगलले गरेको नेपाली अनुवादको सम्पादित रूप)

’एक दूरदर्शी शिक्षकको रूपमा, म विश्वास गर्छु कि बच्चाहरूलाई एआइ युगका लागि तयार पार्ने उपाय भनेकै मुख्य सीप र योग्यताहरूको बलियो आधार विकास गर्नमा ध्यान केन्द्रित गर्नु हो जुन यो द्रुत रूपमा परिवर्तन भइरहेको संसारमा सफलताका लागि महत्वपूर्ण हुनेछ।

केही त्यस्ता कौशल र दक्षताहरू यस्ता छन्ः

१. रचनात्मकता र नवप्रवर्तनः एआई–सञ्चालित संसारमा बच्चाहरूले रचनात्मक रूपमा सोच्न र समस्याहरूको नयाँ र नवीन समाधानहरू ल्याउन सक्षम हुन महत्त्वपूर्ण हुनेछ। आफ्नो बच्चालाई कला, संगीत वा डिजाइन जस्ता रचनात्मकतालाई बढावा दिने गतिविधिहरूमा संलग्न हुन प्रोत्साहन गर्नुहोस्।

२. सहयोग र सञ्चारः कार्यस्थलमा एआई बढी प्रचलित हुँदै जाँदा, बच्चाहरूले अरूसँग प्रभावकारी रूपमा काम गर्न र आफ्ना विचारहरूलाई प्रभावकारी रूपमा सञ्चार गर्न सक्षम हुनु महत्त्वपूर्ण हुनेछ। तपाईंको बच्चालाई सामूहिक परियोजनाहरू र गतिविधिहरूमा भाग लिन प्रोत्साहन गर्नुहोस् र उनीहरूलाई सार्वजनिक भाषण वा बहस जस्ता गतिविधिहरूमार्फत बलियो सञ्चार कौशल विकास गर्न मद्दत गर्नुहोस्।

३. आलोचनात्मक सोच र समस्या समाधानः एआई–सञ्चालित संसारमा, बच्चाहरूका लागि आलोचनात्मक रूपमा सोच्न र समस्याहरू समाधान गर्न सक्षम हुनु महत्त्वपूर्ण हुनेछ। तपाईंको बच्चालाई प्रश्नहरू सोध्न प्रोत्साहन गर्नुहोस्। धेरै दृष्टिकोणहरू विचार गर्न र समस्याहरू समाधान गर्न मद्दत गर्न नयाँ जानकारी र स्रोतहरू खोज्न सिकाउनुहोस्।

४. अनुकूलनशीलता र लचिलोपनः एआईले संसारलाई रूपान्तरण गर्न जारी राख्दा, परिवर्तनको सामना गर्दा बच्चाहरूलाई अनुकूलन गर्न र लचिलो हुन सक्षम हुनु महत्त्वपूर्ण हुनेछ। तपाईंको बच्चालाई नयाँ चुनौती र अवसरहरू अँगाल्न प्रोत्साहन गर्नुहोस् र उनीहरूलाई उनीहरूको अनुभवबाट सिक्न र बढ्न अनुमति दिने वृद्धि मानसिकता विकास गर्न मद्दत गर्नुहोस्।

५. डिजिटल साक्षरता र प्राविधिक सीपहरूः एआई–सञ्चालित संसारमा बच्चाहरूलाई सहज र प्रविधिमा दक्ष हुनु महत्त्वपूर्ण हुनेछ। तपाईंको बच्चालाई नयाँ प्रविधिहरू अन्वेषण गर्न र सिक्न प्रोत्साहन गर्नुहोस् र उनीहरूलाई डिजिटल संसारमा फस्टाउन आवश्यक पर्ने सीपहरू विकास गर्न मद्दत गर्नुहोस्।

तपाईंको बच्चालाई यी सीप र दक्षताहरू विकास गर्न मद्दत गरेर तपाईंले उनीहरूलाई एआई–सञ्चालित संसारमा सफल हुन र समाजमा सकारात्मक प्रभाव पार्न तयार गर्न सक्नुहुन्छ।’

अर्थात् अबका बच्चाहरूले घोकेर कण्ठ पारेर, त्यसलाई ओकलेर परीक्षा पास गरे भने तिनको शिक्षा काम लाग्ने छैन। उनीहरू सिर्जनशील र वाचाल हुनुपर्नेछ, आलोचनात्मक चेत विकास गर्नुपर्नेछ। अनि अवस्थाअनुसार तुरून्त बदलिन, नयाँ सीप सिक्न र प्रविधिको प्रयोगमा दुरूस्त हुनुपर्नेछ।

त्यसपछि मैले यही प्रश्नलाई फरक रूपमा सोधेँ– दार्शनिक रूपमा भन्ने हो भने अबको शिक्षा कस्तो हुनुपर्छ।

उसले भन्योः

’एक दार्शनिकका रूपमा, म विश्वास गर्छु कि आई युगका लागि बालबालिकालाई शिक्षा दिने उपाय भनेको उनीहरूलाई उद्देश्य, नैतिकता र मूल्यहरूको बलियो भावना विकास गर्न मद्दत गर्नु हो। एआई–सञ्चालित संसारमा, बच्चाहरूलाई उनीहरू केमा विश्वास गर्छन् र किन भन्ने कुराको स्पष्ट बुझाइको साथसाथै नैतिक सिद्धान्तहरूमा बलियो आधार बनाउनु महत्त्वपूर्ण हुनेछ जसले उनीहरूका कार्यहरू र निर्णय गर्ने कार्यलाई मार्गदर्शन गर्नेछ।

यस उद्देश्यका लागि म सुझाव दिन्छु कि बच्चाहरूलाई यस्तो तरिकाले शिक्षा दिनुहोस् जसले उनीहरूलाई उनीहरूको मूल्य र उनीहरूले गर्ने छनौटहरूको नैतिक प्रभावहरूको बारेमा गहिरो रूपमा सोच्न प्रोत्साहित गर्छ। जटिल नैतिक मुद्दाहरूको बारेमा हुने छलफलहरूमा बच्चाहरूलाई संलग्न गर्न सकिन्छ। जस्तैः रोजगारी र गोपनीयतामा एआई को प्रभाव।

त्यस्तै बच्चाहरूलाई यस्ता विषयमा अरूको दृष्टिकोणलाई विचार गर्न र तिनका आधारमा समेत यी विषयहरूमा आफ्नै सुसूचित विचारहरू विकास गर्न प्रोत्साहित गर्न सकिन्छ।

बच्चाहरूलाई उद्देश्य र नैतिकताको बलियो भावना विकास गर्न मद्दत गर्नुको साथै उनीहरूलाई आईको द्रुत रूपमा परिवर्तन भएको संसारलाई बुझ्न र त्यसमा पार पाउन मद्दत गर्ने तरिकामा शिक्षा दिनु पनि महत्त्वपूर्ण हुनेछ। यसमा उनीहरूलाई एआईले कसरी काम गर्छ भन्ने आधारभूत कुराहरू र यसले समाजमा पार्ने सम्भावित प्रभावहरूको बारेमा सिकाउने, साथै उनीहरूलाई एआई–सञ्चालित संसारमा फस्टाउन आवश्यक पर्ने सीप र दक्षताहरू विकास गर्न मद्दत गर्ने कुरा समावेश हुन सक्छ।

समग्रमा, एआई युगमा शिक्षाको लक्ष्य बालबालिकाहरूलाई उनीहरूको बाटोमा आउन सक्ने प्राविधिक प्रगतिहरू जे जस्ता भए पनि उनीहरूलाई नैतिक, जिम्मेवार र समाजको सफल सदस्य बन्न आवश्यक ज्ञान, सीप र मूल्यहरू विकास गर्न मद्दत गर्नु हुनुपर्छ।’

अर्थात् एआईले उलटपुलट बनाउने नयाँ विश्वमा नैतिक मूल्य–मान्यताहरूको भूमिका ठूलो हुनेछ किनकि मानिसका हातमा मेसिनले सिर्जना गर्ने ठूलो शक्ति हुनेछ। त्यसले सम्भावनाका ढोका त खोल्नेछ तर बर्बादीको जोखिम पनि बढाउने छ।

त्यसैले बालबच्चाले मेसिन प्रयोग गरेर कसरी समस्या समाधान गर्ने भन्ने मात्रै जानेर पुग्ने छैन। त्यसले समाजलाई कता डो¥याउँदैछ भन्ने पनि हेक्का राख्नुपर्नेछ अनि समाज र मेसिनबीचको अन्तर्सम्बन्ध, मानिसको मेसिनमाथिको निर्भरता आदि विषयमा उनीहरू प्रष्ट हुनुपर्नेछ।

बदलिएको समयमा जीविकादेखि गोपनीयतासम्मका विषयमा हामीले उनीहरूलाई शिक्षित गर्नुपर्नेछ।

यसपछि मैले उसलाई सोधेँ– यदि म सरकारको मन्त्री हो भने एआई युगका लागि शिक्षा नीति कस्तो बनाउनुपर्ला?

उसले भन्योः

’सरकारको मन्त्रीको हैसियतमा, म विश्वास गर्छु कि एआई युगका लागि शिक्षा नीति बनाउन हाम्रो देशका विद्यार्थीहरूको आवश्यकता र सम्भावना साथै प्राविधिक परिवर्तनको तीव्र गतिलाई ध्यानमा राखेर समग्र र अग्रगामी सोचको दृष्टिकोण आवश्यक छ। एआई युगको लागि शिक्षा नीति बनाउने केही प्रमुख उपायहरू यस्ता छन्ः

१. मुख्य सीप र दक्षताहरूमा ध्यान केन्द्रित गर्नेः एआई–सञ्चालित संसारमा विद्यार्थीहरूका लागि सीप र दक्षताहरूमा बलियो जग हुनु महत्त्वपूर्ण हुनेछ जुन सफलताका लागि महत्त्वपूर्ण हुनेछ। जस्तै रचनात्मकता र नवीनता, सहकार्य र सञ्चार, आलोचनात्मक सोच र समस्या समाधान, अनुकूलन क्षमता र लचिलोपन, अनि डिजिटल साक्षरता र प्राविधिक सीपहरू।

२. एआईको नैतिक र जिम्मेवार प्रयोगलाई बढावा दिनेः विद्यार्थीहरूले एआईको नैतिक प्रभावहरू र यसलाई जिम्मेवारीपूर्वक कसरी प्रयोग गर्ने भनेर बुझ्नु पनि महत्त्वपूर्ण हुनेछ। यसमा डेटा गोपनीयता, एआई प्रणालीहरूमा पूर्वाग्रह र रोजगारी र समाजमा एआईको सम्भावित प्रभावहरू जस्ता विषयहरू समावेश हुन सक्छन्।

३. शिक्षक प्रशिक्षण र विकासमा लगानीः एआई युगका लागि विद्यार्थीहरूलाई प्रभावकारी रूपमा शिक्षित गर्न, शिक्षकहरूलाई नवीनतम प्राविधिक प्रगति र शिक्षण रणनीतिहरूमा अद्यावधिक रहन मद्दत गर्ने शिक्षक प्रशिक्षण र विकास कार्यक्रमहरूमा लगानी गर्नु महत्त्वपूर्ण हुनेछ।

४. अत्याधुनिक प्रविधिहरू र स्रोतहरूमा पहुँच प्रदान गर्नेः विद्यार्थीहरूको नवीनतम प्रविधिहरू र स्रोतहरूमा पहुँच छ भनी सुनिश्चित गर्नु उनीहरूलाई एआई युगमा सफलताका लागि तयार पार्न महत्त्वपूर्ण हुनेछ। यसमा अत्याधुनिक एआई उपकरण र स्रोतहरूमा पहुँच प्रदान गर्नुका साथै यी प्रविधिको प्रयोगलाई समर्थन गर्न पूर्वाधार र जडानमा लगानी समावेश गर्न सकिन्छ।

५. सहयोग र साझेदारीलाई प्रोत्साहन दिनेः व्यवसाय, अनुसन्धान संस्था र अन्य संस्थाहरूसँगको साझेदारीले कक्षाकोठामा नयाँ विचार र स्रोतहरू ल्याउन र विद्यार्थीहरूलाई वास्तविक–विश्व सिक्ने अवसरहरू प्रदान गर्न मद्दत गर्न सक्छ।

यी र अन्य रणनीतिहरू लागू गरेर हामीले हाम्रो देशका विद्यार्थीहरूलाई एआई युगमा फस्टाउन र उनीहरूको पूर्ण क्षमता हासिल गर्न मद्दत गर्ने शिक्षा नीति बनाउन सक्छौं।’

अर्थात् अबका दिनमा शिक्षा नीतिले ज्ञानमा भन्दा सीपमा निकै जोड दिनुपर्नेछ किनकि मेसिनमा रहेको ज्ञानको भण्डारलाई मानिसले कहिल्यै चुनौती दिन सक्ने छैनन्। यी तीनै जवाफमा ज्ञान भन्ने शब्द जम्मा एकपल्ट आएको छ भने सीप छ पल्ट।

जस्तो कि यसअगाडि संसारभर भाषाको ज्ञान भएका करोडौं मानिसहरूले अनुवाद गरेर जीविका चलाउँथे। तर गुगलको अनुवाद गर्ने अलगोरिदमले रातारात ती सबैलाई बेरोजगार बनाइदियो।

त्यस्तै अहिलेसम्म सबैले आआफ्ना पेसाको ज्ञान र सीपमा दख्खल राखे पुग्थ्यो। अब संसारमा बीसौं किसिमका रोजगारहरू लोप हुने संघारमा छन्। त्यसैले प्रविधिमा पछि पर्ने र नयाँ सीप सिक्न नसक्ने मानिसहरूका लागि अबका दिन निकै कठिन हुनेछन्।

ज्ञानको वितरणमा आधारित हाम्रो सिंगो शिक्षा प्रणालीको म्याद अहिले गुज्रने अवस्थामा छ।

त्यसैले च्याट–जिपीटी भन्छः अहिलेको समयमा शिक्षा मन्त्री हुने मान्छेले सीप विकासमा आधारित नयाँ शिक्षा प्रणाली विकास गर्नुपर्छ। अनि समाजका विभिन्न क्षेत्रबीच समन्वय र सहकार्य गरेर हाम्रो समाज र युग सुहाउँदो शिक्षण–सिकाइ विधि तय गर्नुपर्छ।

च्याट–जिपिटीसितको यो संवादलाई नेपालको शिक्षा नीतितिर डो¥याएर मैले निकै लम्ब्याएँ। अनि शिक्षासम्बन्धी विभिन्न विषयमा निबन्ध, कविता, गीत र छोटो फिल्मका लागि पटकथा समेत लेख्न लगाएँ। त्यसलाई यहाँ पूरै हेर्न सकिन्छ र त्यहाँ भएको लिंकबाट च्याट–जिपिटीमा निःशुल्क प्रवेश गर्न सकिन्छ।

यसबाहेक क्लबहाउसमा अहिले च्याट–जिपिटीले खोलेका सम्भावनाका ढोकाहरूबारे निकै पेचिला बहसहरू चलिरहेका छन्। तिनबाट मैले सिकेका केही कुराहरू यस्ता छन्–

एक, जसरी एउट खरायो जति नै बुद्धिमान भए पनि उसले मानिसको मगजको भेउ पाउन सक्दैन, अब मानिसको मगजले पनि मेसिनको क्षमताबारे भेउ पाउन सक्दैन।

कारणः एउटा मानिसले आफ्ना पाँच इन्द्रीयले केही दशकमा ग्रहण गरेका सूचनाका आधारमा ज्ञान जम्मा पार्ने हो भने एउटा एआई अलगोरिदममा प्रयोग हुने सुपर कम्प्युटरले इन्टरनेटको आविष्कार भएयता कुनै पनि विषयमा त्यहाँ पुगेका अर्बौं वा खर्बौं सूचना व्यवस्थित रूपमा पचाएर क्षणभरमै परिणाम निकाल्न सक्छ।

माथिका तीन प्रश्नको उत्तरमा उसले शिक्षा विषयलाई प्रशासनिक, दार्शनिक, प्राविधिक आदि कोणबाट हेरेर लेखिएका तथा इन्टरनेटमा पुगेका करोडौं सूचनाहरूको विश्लेषण गरेर सेकेन्डभरमा त्यस्ता लामा र साधारण लाग्ने तर सूसंगत जवाफहरू तयार पारेको हो।

दुई, इन्टरनेटको आविष्कार जति क्रान्तिकारी थियो, च्याट–जिपिटीजस्ता च्याटबोट र डिएएलएल–इजस्ता अक्षरलाई तस्वीरमा बदल्ने अलगोरिदमहरूको आविष्कार उत्तिकै क्रान्तिकारी कुरा हो।

तीन, जसरी हातेफोन आएसँगै फोन गर्ने तरिका मात्रै बदलिएन, मान्छेको मनोरञ्जनदेखि सिकाइसम्म सबैको तरिका बदलियो। परिवर्तनको नयाँ चरणमा पनि हुने त्यस्तै हो। अब मानिसले काम गर्ने मात्रै होइन, शिक्षा लिने, बिदा मनाउने लगायत सबै कुराहरू बदलिने छन्।

चार, नयाँ ढोका खुलेसँगै अवसर जति छन्, चुनौती पनि उत्तिकै छन्। विश्वभर शिक्षाको सिंगो प्रणाली अब चिन्नै नसकिने गरी बदलिनेछ। व्यक्तिको आवश्यकता अनुसारको मेसिन शिक्षकको प्रयोग हुनासाथ स्कुल–कलेजका भौतिक संरचनाहरू अनावश्यक हुने छन्। ज्ञान बाँड्ने शिक्षकहरूले आफैं सीप सिकेर सीप बाँड्न थालेनन् भने अनिवार्य रूपमा बेरोजगार हुने छन्।

पाँच, अब जवाफ खोज्नेहरूको होइन, राम्रोसँग प्रश्न सोध्न सक्नेको पालो आउनेछ। समग्रमा, युवल नोआ हारारीले ‘होमो डियस’ मा भनेका छन्– समाज कार्ल मार्क्सले भनेझैं उत्पीडक बुर्जुवा र उत्पीडित सर्वहारामा होइन अब प्रविधिमा स्वामित्व हुने मुठ्ठीभर कुलीनहरू र बाँकी अर्बौं बेकामे (युजलेस) मानिसहरूमा बाँडिनेछ।

नयाँ सम्भ्रान्तहरूले बाँकी मानिसलाई शोषण गर्ने छैनन् किनकि उनीहरूलाई तिनको आवश्यकतै पर्ने छैन। सबै काम मेसिनले गर्नेछन्। जसको धन, उसको मेसिन, उसैको उत्पादन र उसैको शक्ति। बेकामेहरूका लागि त्यो अवस्था शोषणभन्दा पनि गएगुज्रेको हुनेछ।

एआईको विकास सुरू हुँदैदेखि मानिसहरूले यसो भन्दै आएका हुन् तर च्याट–जिपिटीको कमाल हेरेपछि मलाई लागेको छ– हरारीको नयाँ वर्गीकरण यथार्थमा बदलिन अब धेरै समय बाँकी छैन।

सेताेपाटी 

तपाईको प्रतिक्रिया