सुर्खेत,७ पाैष ।
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार देखी सुरु हुँदै छ । विहान ८ बजे प्रभातफेरी पश्चात १० बजे राष्ट्रपतिले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देशभरबाट आउने पत्रकारहरुका लागी वीरेन्द्रनगरका २२ वटा होटलको व्यवस्थापन गरिएको छ भने पर्यटकिय क्षेत्रहरुको भ्रमण गर्ने व्यवस्था मिलाईएको पत्रकार महासंघका केद्रिय सदस्य दिपेन्द्र शर्माले जानकारी दिए ।
७७ वटै जिल्लाबाट गरी ७ सयभन्दा बढी पत्रकारको सहभागिता हुने कार्यक्रमका लागी विभिन्न समिति र उपसमितिहरू निर्माण गरी व्यवस्थापनको तयारी गरिएको छ ।
साधारण सभाको तयारी पुरा भएसंगै नेपाल पत्रकार महासंघ केन्द्रीय साधारण सभाको बैठकको आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन समारोहमार सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखले अतिथिको रुपमा सहभागिता जनाउने छन् ।
राष्ट्रपति भण्डारी भोली बिहान ८ बजे सुर्खेत आईपुग्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका सचिव ललित बुढाले जानकारी दिए । उनका अनुसार भोली बिहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी सुरु भई त्यसपछि उक्त अधिवेशनको उद्घाटन राष्ट्रपति भण्डारीले विहान ९ बजे गर्ने छन् ।
साधारण सभा वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिने भएको छ । महासंघका केन्द्रीय महासचिव रोशन पुरीले महासंघको विगतदेखि भइआएका गतिविधि र महासंघले आगामी दिनमा गर्नुपर्ने कार्य योजनाको बारेमा वृहत छलफल हुने बताए ।
यो अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा नेजा र एन्जाका पदाधिकारी सदस्य गरी ७५० राष्ट्रिय परिषद् सदस्यको सहभागिता हुने महासचिव पुरीले जनाए ।
उनका अनुसार साधारण सभाको लागि आर्थिक दायित्व केन्द्रीय समितिले नै गरिरहेको छ । साधारण सभाका लागि कर्णाली प्रदेश सरकारले १७ लाख बजेट दिने निर्णय गरेको छ । यस्तै सुर्खेत जिल्लाका सबै स्थानीय तह र सुर्खेत उद्योग वाणिज्य संघलाई पनि आर्थिक सहयोगका लागि आग्रह गरिएको उनले जानकारी दिए ।
युग संवाददाता । । ७ पुष २०७९, बिहीबार १३:२७