अनुदान चामलको माग बढी

कालीकोट, ७ पाैष ।

कालीकोटमा सरकारी अनुदानमा जिल्ला भित्रिने चामलको माग बढिरहेको छ। कालीकोट सदरमुकामसहित स्थानीय बजारमा खाद्यान्नको मूल्य बढेपछि सरकारी अनुदानमा आउने खाद्यान्नमा उपभोक्ताको ध्यान केन्द्रित भएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखा र अन्य डिपोमा चामलको माग बढिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखा प्रमुख कमलराज पाण्डेले जिल्लाको शाखा र अन्य स्थानीय डिपोमा खाद्यान्नको माग बढिरहेको जानकारी दिए ।

उहाँका अनुसार गाउँका डिपोमा चामल झर्नेबित्तिकै वितरण हुने गरेको छ। मान्ममा रहेको शाखामा भने केही क्विन्टल खाद्यान्न मौज्दात रहेको जनाइएको छ। कार्यालय प्रमुख पाण्डेका अनुसार यस आर्थिक वर्षका लागि मान्म शाखा कार्यालयमा चार हजार पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ। त्यसमध्ये छ महिनामा एक हजार ६७० क्विन्टल चामल पुगेको छ। बाँकी दुई हजार ८३० क्विन्टल आउन बाँकी छ।

जिल्लाका अन्य डिपोहरू पलाँताको थिर्पु, धौलागोह, महावैको पात्माघाट र तिलागुफा नगरपालिकाको खल्लामा एक÷एक हजार कोटा निर्धारण भएर चामल वितरण भइरहेको छ। स्थानीय तहका डिपोमध्ये खल्लामा १८० र पात्माघाटमा ४५ क्विन्टल चामल पुगे पनि ढुवानीको जिम्मा लिएका अन्य ठेकेदारले ढुवानी गर्न सकेका छैनन्। अब चामलको माग बढिरहेकाले ढुवानी हुने कार्यालयको भनाइ छ।

बजारमा मसिनो चालमको मूल्य दुई हजार तीन सय पुगेपछि मसिनो चामल प्रयोग गर्ने उपभोक्ता सबै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमा चामल लिन लाइनमा बस्ने गरेका छन्। उही चामलमा बजार मूल्यभन्दा छ सय अन्तरमा चामल पाउन थालेपछि उपभोक्ता लाइनमा बसेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाटै चामल लिन थालेका छन्। खाद्य डिपोमा स्टिम जिरा चामलको मूल्य एक हजार आठ सय पर्ने गरेको छ भने सोही प्रकृतिको मसिनो चामल बजारमा दुई हजार तीन सय मूल्य तिर्नुपर्छ।

डिपोमा दैनिक एक सय क्विन्टल सो चामल बिक्री भइरहेको छ। मकवानपुर र मोटा चामल भने दैनिक ३०÷३० क्विन्टल बिक्री हुने गरेको कार्यालयको भनाइ छ। मकवानपुर चामलको मूल्य एक हजार ४७० पर्छ भने मोटा चामलको एक हजार ४४० पर्छ। बजारमा महँगी बढिरहेका बेला अधिकांश उपभोक्ताले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट बिक्री भइरहेको चामल प्रयोग गरिरहेका छन्। माग बढेसँगै डिपोमा स्टिम जिरा चामल अभाव भइरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका राजापुर, नेपालगञ्ज र सुर्खेतका गोदाममा पनि सो चामल नभएकाले मागअनुसारको आपूर्ति हुन नसकेको कार्यालयको भनाइ छ।

मान्म सदरमुकाममा अघिल्लो आर्थिक वर्षको मौज्दात एक हजार एक क्विन्टल र यो आर्थिक वर्षको ८७० क्विन्टल चामल बिक्री भइसकेको बताइएको छ। अब कार्यालयमा आठ सय क्विन्टल मात्र चामल मौज्दात रहेको छ। चामल ढुवानी गर्न ठेकेदारलाई पत्राचार गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले जनाएको छ।

गाेरखापत्र 

तपाईको प्रतिक्रिया