कर्णाली प्रदेशसभा : नयाँ सदस्यहरुको शपथ पुस ११ गते

सुर्खेत,७ पौष ।

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुको शपथ पुस ११ गते हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले पुस ११ गते शपथ गराउनेबारे छलफल भएको जानकारी दिए । यद्यपि प्रदेश प्रमुखको कार्यालयले निर्णय भने सार्वजनिक गरेको छैन ।

‘प्रदेश प्रमुखज्यू कार्यालयमा नभएकाले पत्र सार्वजनिक भएको छैन,’ उनले भने, ‘छलफल भइसकेको छ ।’ संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार कार्यक्रमको तयारी थालिएको हो ।

सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रुपमा नेकपा एमालेका विनोद कुमार शाह छन् । दैलेख निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन् ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव थानीले शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेशसभाका अन्य सदस्यलाई शपथ खुवाउने बताए । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको लागि तयारी पूरा गरिएको जानकारी दिए ।

‘हाम्रो तर्फबाट गर्ने तयारी हामीले पूरा गरिसकेका छौँ,’ बुढाथोकीले भने, ‘संसदीय दलहरूको कार्यालयको व्यवस्थापनदेखि संसद भवनलाई रङरोगन गर्ने सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ ।’

यस्तो छ प्रदेशसभाको अंकगणित

कर्णाली प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ । प्रत्यक्षतर्फ ९ र ५ समानुपातिक गरी १४ सिटसहित पहिलो दलको हैसियतमा नेपाली कांग्रेस छ भने प्रत्यक्षतर्फ समान ९ सिट नै जितेर समानुपातिकतर्फ ४ गरी १३ सिट सहित नेकपा माओवादी केन्द्र दोस्रो दलको हैसियतमा छ । यस्तै २०७४ मा पहिलो दल बनेको नेकपा एमाले यो पटक तेस्रो स्थानमा छ ।

एमालेले प्रत्यक्ष र समानुपातिक गरी १० सिट प्राप्त गरेको छ । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन। सो पार्टीले समानुपातिक तर्फ भने एक सिट प्राप्त गर्न सफल भएको छ । समानुपातिक तर्फ रुकुम पश्चिमकी कल्याणी खड्का सांसद बनेकी छन् ।

यस्तै २०७४ मा १ सिटसहित प्रदेशसभामा उपस्थिति जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यो पटक पनि १ सिटमै उपस्थिति जनाएको छ । समानुपातिकतर्फ सुर्खेतकी सन्तोषी शाही ठकुरी राप्रपाबाट सांसद बनेकी छन् । प्रदेशसभाको अंकगणितको आधारमा कर्णालीमा सत्तारुढ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने निश्चित छ ।

तर गठबन्धनभित्र कांग्रेस र माओवादीमध्ये कसले पहिला नेतृत्व गर्ने भन्नेबारे रस्साकस्सी चलिरहेको छ । त्यसका लागि विभिन्न दलका प्रदेशसभा सदस्यहरू यतिबेला संघीय राजधानी काठमाडौंमा छन् । कांग्रेस–माओवादी दुवैलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वको लागि वचन दिएका कारण नेताहरू केन्द्रको निर्णयको पर्खाइमा छन् । जसले गर्दा सरकार गठनबारे प्रदेशमा अन्योल देखिएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!