हिमाका गाउँ गाउँमा स्वास्थ्य जाँच

जुम्ला,६ पाैष ।

जाडो समयलाई मध्येनजर गर्दै जुम्लाको हिमा गाउककपालिकाले सर्वसाधारण नागरिकको स्वास्थ्य जाँच थालेको छ । गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गरेर बिरामीको जाँच गर्दै औषधि उपचार सेवासमेत दिइएको हो । सो अवसरमा सामान्य रुघाखोकीदेखि दमका समस्या भएका बुढापाकाहरुले स्वास्थ्य सेवा लिएका छन् ।

स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतियाविन्दुको शल्यक्रिया, दाँतको उपचारलगायत सेवा प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक रतन रावतले जानकारी दिए । स्वास्थ्य जाँच पछि चिकित्सकको सल्लाहअनुसार बिरामीलाई औषधिसमेत दिइएको उनले बताए ।

उनले भने,‘अस्पतालसम्म लैजाने मान्छे भेटाउन कठिन छ । गाउँमै चिकित्सक ल्याएर जाँच गर्दा उपयुक्त हुने देखेर विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको हो । यसले धेरै भन्दा धेरै सर्वसाधारण लाभान्वित भएका छन् । ’

सदरमुकाम खलंगामा सुविधा सम्पन्न अस्पताल भए पनि सबै अस्पतालको सेवा लिन सक्ने अवस्थामा छैनन् । आर्थिक अभाव र अस्पतालमा उपचार गर्न अफ्ठ्यारो मान्ने सर्वसाधारण नागरिकलाई लक्षित गर्दै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको हिमा गाउँपालिकाले जनाएको छ ।

दुगर्मका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले उपचार सेवा लिन पाएका छन् । नागरिकको स्वास्थ्य जाँच गर्न हिमाले विशेषज्ञ चिकित्सक नै लिएको थियो । हिमा १ मा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

गाउँपालिकाका नागरिक स्वास्थ्यका हिसाबले अब्बल बनोस् भन्ने हेतुले पटक–पटक स्वास्थ्य सेवा दिएको उनले बताए । उनले भने,‘सबै बिरामीहरु अस्पतालको पहुँचमा पुग्न सक्दैनन् । केही बिरामीले अस्पताल पुगेर पनि रोगको बारेमा जानकारी दिन सक्दैनन् । केहीले वषौंदेखि रोग लुकाएर बसेका छन् । यो अवस्थामा गाउँमै स्वास्थ्य सेवा दिनुको विकल्प देखिएन । ’

चिकित्सकीय सेवा लिन बिरामीको भीडभाड नै थियो । सामान्य रुघाखोकीदेखि दम र अन्य मौसमजन्य रोगको उपचार गराउन नागरिक चिकित्सकहरुकोमा पुगेका थिए । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन बिट्रिस गोर्खाजु नेपाल कास्कीको आर्थिक तथा प्राविधिक सहयोग र हिमाको आयोजनामा चिकित्सक लिइएर स्वास्थ्य सेवा प्रदान गरिएको थियो । पहिलो दिनमात्रै ९ सय जनाले उपचार सेवा लिएका थिए ।

दुई दिन गरेर १ हजार ५ सय ६६ जनाले सेवा लिएका हुन् । उनीहरुमध्ये ८ सय २८ जनाले आँखाको जाँच, ३५ आँखाको शल्यक्रिया, ३५ जनाले गाइनो सेवा, ४ सय ५१ जनाले स्तरीयसेवा पाएका भएको स्वास्थ्य संयोजक रावतले बताए । उनका अनुसार ३ सय ६३ जनाले दाँतसम्बन्धी उपचार पाएका छन् । नौ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

बड्की, देवारगाउँ, आचार्यलिही, मोफ्ला, ओदी, जोगिवाडा, बाजागाडासहित आसपासका गाउँका नागरिकले पनि निःशुल्क स्वास्थ्य उपचार पाएका छन् । हिमा १ का खाम्बा शाहीले विशेषज्ञ स्वास्थ्य सेवा दिएर नागरिकलाई अभिभावकीय दायित्व निर्वाह गरेकोमा खुसी व्यक्त गरे ।

उनले भने,‘यो समयमा युवा जति व्यापार तथा कामको सिलसिलामा कालापहाड गइसकेकोले गाउँ सुनसान छन् । दुःखी बिरामीको रेखदेख र उपचार गर्ने समेत भेटिँदैनन् । यो अवस्थामा पालिकाले स्वास्थ्य सेवा दिएर निकै राहत दियो । ’

जाडो समयमा तातोपानी पिउन, न्यानो कपडा लगाउन, धुँवा र धूलोबाट जोगिनुका साथै स्वास्थ्यप्रति संवेदनशील बन्न चिकित्सकहरुले सुझाव दिएका छन् । अहिले चिसोले बालबालिका र बुढाबूढी प्रभावित हुने र स्वास्थ्यचौकी समेत लैजान सकिने अवस्था नभएकोले एकमुष्ट विशेषज्ञ सेवा प्रदान गरेर नागरिकको स्वास्थ्य अवस्था जाँच गरिएको अध्यक्ष शाहीले बताए ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया