३२ वर्ष कान्छा युवासँग प्रतिस्पर्धामा देउवा

काठमाडौँ ,६ पाैष ।

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सिधा स्पर्धामा उत्रिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै उम्मेदवारी दर्ता गराएका छन् । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदै छ ।

लामो समयदेखि नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल मुद्दा विसर्जन गर्दै देउवाकै प्रस्तावक बसेका छन् । पौडेलको प्रस्तावमा पूर्णबहादुर खड्का समर्थक छन् । उता गगन थापाको प्रस्तावकमा शेखर कोइराला छन् भने युवा नेताहरू धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका छन् ।

०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका थिए । त्यसयता पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा उमेरले ८० नजिक पुग्दा पनि छोरा पुस्ताका युवा नेतासँग प्रतिस्पर्धामा उत्रिएका छन् ।

पार्टीभित्रको समीकरणलाई सहज बनाउन सभापति कोइरालाले ०५६ मा अर्का नेता कृष्णप्रसाद भट्टराईलाई चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका थिए, चुनावपछि संक्षिप्त समयका लागि प्रधानमन्त्री हुने बाटो पनि दिएका थिए । तत्कालीन माओवादी द्वन्द्व व्यवस्थापनमा भट्टराई र कोइराला असफल भएपछि देउवा दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका थिए ।

०६२÷६३ को परिवर्तनयता पनि देउवा चौथो र पाँचौं पटक प्रधानमन्त्री भएका छन् । उनी संसदीय दलका पछिल्ला सबै निर्वाचनमा प्रतिस्पर्धी छन् । ०६४ मा देउवालाई पराजित गरेर पौडेल दलको नेता भएका थिए । तर, प्रधानमन्त्रीका लागि संसद्मा १७ पटक प्रतिस्पर्धा गर्दा पनि उनी पराजित भएका थिए ।

०७० मा संविधानसभाको दोस्रो निर्वाचनपछि तत्कालीन पार्टी सभापति सुशील कोइरालासँगको स्पर्धामा पनि देउवा पराजित भएका थिए । सुशीलको निधनपछि १३ औं महाधिवेशनमा देउवा सभापति चुनिए, त्योबीचमा प्रधानमन्त्री पनि भए । ०७४ को निर्वाचनपछि उनी नै संसदीय दलको नेतामा निर्वाचित भए ।

त्यतिबेला देउवासँगको प्रतिस्पर्धामा प्रकाशमान सिंह मैदानमा थिए । प्रकाशमान अघि सर्दा सबैभन्दा अग्रमोर्चामा रहेर गगनले उनलाई साथ दिएका थिए । अहिले गगन मैदानमा आउँदा भने प्रकाशमान उनको पक्षमा देखिएका छैनन् ।

देउवाको समर्थनमा प्रकाशमानभन्दा पनि अग्रपंक्तिमा छन् रामचन्द्र । प्रधानमन्त्रीको आकांक्षा राखेका उनले उक्त पद नपाउने भएपछि राष्ट्रपतितर्फ नजर राखेका छन् । त्यही आसमा रामचन्द्रले पार्टीभित्र आफैंले रोपेको नेतृत्व परिवर्तनको मुद्दा त्यागेको कांग्रेसका कतिपय नेताहरू बताउँछन् ।

रामचन्द्रलाई समेत अघि नसार्दा देउवाको छवि अनुदार देखिएको महामन्त्री शर्माको टिप्पणी छ । ‘उहाँले शेखर कोइराला वा रामचन्द्र पौडेललाई अघि बढाएको भए पनि परिवर्तनको सन्देश जान्थ्यो, त्यो नभएपछि परिवर्तन र पुस्तान्तरणका लागि अघि सरेका हौं,’ उनले भने ।

निर्वाचनबाट प्राप्त जनमतको सन्देश बुझेर कांग्रेस सांसदले निर्णय गर्ने बेला आएको शर्माले बताए । ‘अहिले गगन थापा एउटा व्यक्तिको कुरा छैन । मुलुकलाई परिवर्तनको दिशामा अघि बढाउने कि नबढाउने र त्यसका लागि पार्टीलाई समग्र रूपान्तरणको पक्षमा लैजाने कि नलैजाने भन्ने सवाल मुख्य हो,’ उनले भने ।

पार्टीको १४ औं महाधिवेशनमा पुस्तान्तरणकै मुद्दा बोकेर देउवासँग प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले आफ्नै टिमबाट निर्वाचित महामन्त्री थापालाई दलको नेताका लागि अघि सारेर पार्टीमा नयाँ तरंग सञ्चार गराएका छन् । आफैं संसदीय दलको उम्मेदवार बन्न उनले अन्तिम समयसम्म प्रयास गरेका थिए ।

तर, महाविधेशनमा आफैंले बनाएको पुस्तान्तरणको मुद्दाले कोइरालालाई रक्षात्मक बनाएको छ । त्यसमा पनि चुनावअघि नै दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थापा पछाडि नहट्ने भएपछि कोइरालाले मनोनयनको केही घण्टाअघि मात्र मैदान छाडिदिएका हुन् ।

शेखर आफैं थापाको प्रस्तावक पनि बसेका छन् । ‘आफैं प्रस्तावक बसेर शेखर दाइले राजनीतिमा नयाँ परम्परा र संस्कार थालनी गर्नुभएको छ,’ केन्द्रीय सदस्य गोविन्द पोखरेलले भने, ‘पार्टीको एउटा शक्तिको नेतृत्व गरेको, त्यसमा पनि कोइराला परिवारकै सदस्यले यो तहको त्याग गर्नु सामान्य विषय होइन, आज जित उहाँकै भएको छ ।’

थापाको उम्मेदवारीमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल समर्थक छन् । १४ औं महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट प्रतिस्पर्धा गरेका शर्मा महामन्त्रीमा विजयी भएका थिए । देउवाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका पौडेल भने पराजित भएका थिए । पार्टीको पहिलो पुस्ताबाट परिवर्तन सम्भव नभएको निष्कर्षका साथ थापा र शर्मासँगै पौडेल पनि एकै ठाउँ भएका छन् ।

काठमाडौं–५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेर सांसद बनेका पौडेलको विषयमा अन्तिमसम्म पनि कौतूहल थियो । गगन, विश्वप्रकाश र प्रदीप एकसाठ हुँदा नेतृत्व परिवर्तनको पक्षमा ठूलो सन्देश जाने भएकाले देउवा पक्ष उनलाई रोक्ने प्रयत्नमा थियो ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले आगामी सरकारमा रोजेका मन्त्रालय लिन प्रस्ताव गर्दा पनि पौडेलले नमानेको बालुवाटारनिकट नेताहरूले बताए । पौडेलले पनि आफूहरूका लागि कुनै पद विशेषभन्दा पनि नेतृत्व परिवर्तनको मुद्दा सर्वोपरी रहेको प्रतिक्रिया दिए ।

‘तमाम बेथितिविरुद्ध विगतदेखि नै जसरी लड्दै आइएको थियो, परिवर्तनको जुन मुद्दा उठाइएको थियो । त्यसलाई सार्थक बनाउन हामी एक ठाउँमा उभिएका हौं,’ उनले कान्तिपुरसँग भने, ‘वरिष्ठ नेताहरूलाई सम्मान गर्ने तर मुख्य भूमिकामा अब युवाहरू आउनुपर्छ भन्ने सन्देश हामीले दिएका छौं ।

पार्टी, देश र व्यवस्थाप्रति वितृष्णा बढ्न नदिन, आशाको सञ्चार गर्न यो टिम अघि बढ्नु जरुरी थियो । राजनीतिलाई सुधारको बाटोमा लैजान यो अवसर पनि हो, त्यसलाई सदुपयोग गर्न हामी अघि सरेका छौं ।’

सडक र समाजका मुद्दा टिपेर पार्टीभित्र प्रतिपक्षी धार समात्दै आएका थापाको संसदीय यात्रा ०६४ को संविधानसभा निर्वाचनमा सुरु भएको हो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले थापालाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएका थिए । त्यसयता प्रत्यक्ष प्रतिस्पर्धा गरेका तीनवटै निर्वाचनमा उनी विजयी भएका छन् । एक पटक स्वास्थ्यमन्त्री हुँदा पनि उनले सकारात्मक छाप छाडेका थिए ।

०७९ को निर्वाचनको जनमत परिवर्तनका पक्षमा रहेको तर्क गर्दै महामन्त्री थापा पार्टी नेतृत्वको कार्यशैलीबाट मतदाता अब निराश नबनून् भनेर संसदीय दलको नेतामा उम्मेदवारी दिएको बताउँछन् । ‘आम जनताको अपेक्षा सुशासन छ । सार्वजनिक सेवा प्रवाहको मुद्दा छ ।

यसलाई पार लगाउन वर्तमान नेतृत्वबाट सम्भव नदेखेरै उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘हामी पार्टीबाट छानिएर आएका होइनौं, आम जनताबाट छानिएका हौं । आफ्नो निर्वाचन क्षेत्रका आम मतदाताको आवाज के छ, माग के छ, जनता के चाहन्छन् भन्ने सम्झेर, बुझेर र विवेक पु¥याएर सबै बन्धनबाट मुक्त भएर कांग्रेस सांसदहरूले मतदान गर्नुपर्छ ।’

दलको नेतामा देउवाका समर्थक रहेका उपसभापति पूर्णबहादुर खड्काले भने अहिलेको तरल राजनीतिक अवस्थामा मुलुकका लागि देउवाकै आवश्यकता अझै रहेको दोहोर्याए ।

‘नेतृत्व परिवर्तन, पुस्तान्तरणको मुद्दा ठीक हो, तर यो प्रक्रिया शेरबहादुर देउवा र रामचन्द्र पौडेलजस्ता नेताहरूको विश्वासको जगमा हुन्छ,’ भने, ‘प्रमुख प्रतिपक्ष एमालेसमेतलाई विश्वासमा लिएर माओवादी, एकीकृत समाजवादीलगायत दललाई एक ठाउँमा राखेर अघि बढ्ने सबै खालका कला र क्षमता सभापतिमा छ, त्यसैले संसदीय दलको नेतामा उहाँलाई अघि सारेका हौं,’ खड्काले भने ।

आफैंले टिकट बाँडेर सांसद बनाए पनि मतदान गोप्य हुने भएकाले देउवा जितप्रति ढुक्क छैनन् । ‘उहाँले पार्टीभित्र सबैजसो नेतालाई मन्त्रीको आस देखाइरहनुभएको छ, उहाँ प्रधानमन्त्री हुने कि नहुने भन्ने प्रश्न एकातिर छँदै छ, तर संविधानले जम्मा २५ जना मन्त्री बन्न सक्ने भनेको छ, त्यसमा पनि गठबन्धनमा बाँडफाँट हुने हो, तर देउवाले करिब ५० जनालाई मन्त्री पदको आश्वासन दिनुभएको छ,’ कांग्रेसका एक नेताले भने ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया
error: Content is protected !!