कुरा कर्मयाेगीका : गाउँघरका ‘डाक्टर’ कामले कमाएको मानसम्मान

सिर्जना बुढाथोकी

सुर्खेत,५ पौष ।

बालविवाहको चपेटामा परेको बाल्यकालः

दैलेख जिल्लाको गुराँस गाउपालिका–८ मा वि.सं. २०४१ सालमा मेरो जन्म भएको हो । मेरो परिवारमा बुवाआमा अनि पाँच भाईबहिनीमध्येको माईली छोरीको रुपमा मेरो जन्म भएको हो । मलाई पढ्नका लागि त्यति संघर्ष गर्न परेन । मैले राम्रैसंग पढ्न पाएँ । घरमा काममा सघाउने त गाउँघरमा हुन्छनै ।

तर चार पाँच वर्षको उमेरदेखिनै रमाउँदै दिदीबहिनी दाईभाईसंग विद्यालय गएपनि आठ वर्षको उमेरमा कक्षा एकबाट पढाई औपचारिक रुपमा शुरु गरेकी मैले राम्रैसंग पढ्दै गएँ । राम्रै चलिरहेको मेरो पढाई कक्षा ६ पढेपछि केहि समयका लागि रोकियो ।

त्यो बेलाको समयमा सानै उमेरमा ‘तेरो छोरी, मेरो छोराको’ भनेर सानामै माग्ने चलन थियो । त्यहि अनुरुप मेरो परिवारले पनि कसैलाई म सानै हुँदा ‘हाम्री छोरी हजुरको’ भनेर वचन दिइसकेको रहेछ । अनि मैले १३ वर्षको उमेर, जुन समय म बालिकानै थिए तर मेरो विवाह भयो ।

अहिले पो थाहा छ बालविवाह के हो? तर त्यो समय त थाहै भएन । घरपरिवारको कुरा काट्ने हामी छोरीको आँटै हुँदैन थियो । सानै उमेरमा विवाहको बन्धनमा बाँधिएकी म घरपरिवारको रेखदेख, घरको काम सबै गर्नुपर्ने हुन्थ्यो । तर मेरो परिवारले मलाई छोरीकै दर्जामा राखेको थियो ।

कामसंगै मैले पढ्ने पनि मौका पाएँ, जसमा मेरो श्रीमान र परिवारले सहयोग गरेको थियो । विवाह गरेको केहि समयपछि फेरि कक्षा ७ देखि रोकिएको पढाई सुरु गरे । यसरी पढ्दै जाँदा मैले एस.एल.सी राम्रै संग कटाए ।

यसरी भएँ स्वास्थ्य स्वयम्सेविकाः

सानैदेखि म अरुभन्दा अलि फरक स्वभावकी थिए । गाउँघरमा हुने हरेक भेला, मेला, सभा, कार्यक्रममा मलाई चासो लाग्थ्यो । म हरेक कार्यक्रममा नबुझेपनि सहभागी हुन्थे । यसले मेरो पनि विकास गरिरहेको थियो । त्यसैले मलाई सबैले केहि जानेकी अनि बुझेकी छे, बोल्न पनि सक्छे भनेर केहि काम गर्दा मेरो नाम लिन्थे ।

अनि मैले गाँउमा आमा समूहमा समावेश पनि भएको थिएँ । आमा समूहले नै मलाई स्वास्थ्य स्वयम्सेविका चाहिएको छ हाम्रो गाउँमा तिमी गर्न सक्छौ भनेर अगाडि बढायो । मलाई पनि केहि कुरा जान्न सिक्न इच्छा हुने भएकाले पनि म पनि अगाडि बढे ।

म सानै हुँदापनि बच्चा जन्माउन नसकेर मृत्यु भएका, जन्मेरपनि खेर गएका बच्चा अनि पेटमा रहेको केहि महिनामै खसेका बच्चाका बारेमा थाहा पाएकी अनि देखेकी थिए । हो यहि कुरा घटाउनका लागि स्वास्थ्य स्वयम्सेविकाको भूमिका के हुने रहेछ भनेर मैले तालिम लिने अवसर पाएँ ।

तालिममा सिकेका कुरा मैले मेरो वडाको हरेक घर घरमा गएर सिकाउन थाले । बच्चा, आमा कसरी सुरक्षित हुने, के के खाने ? के नखाने ? जस्ता कुरा आफुले सिकेका कुरा सिकाउन थाले । म एक्लैले गरेको प्रयासले मात्रै नहोला तर अहिले यो क्रम मेरो गाँउमा रोकिएको छ, त्यसमा मलाई गर्व छ । अहोरात्र हामी खटिन्छौ ।

आखिर हाम्रो स्वार्थ केहि छैन्, न राज्यले हामीमा लगानी गरेको छ, न हामीले दुःख गरे अनुसारको केहि पाएका छौ तर पनि समाज अनि परिवारका लागि स्वयम्सेवीकै रुपमा काम गर्दा पनि आनन्द भने मिलेको छ ।

गाउँघरका डाक्टरः

हामी भनेको हाम्रो गाँउ अनि समाजका लागि डाक्टर बराबर भएका छौ । हामी वकिल पनि हौ उनीहरुका लागि । हामी जानकार व्यक्ति पनि हौ ।  यो मानेमा कि हामीलाई समाजले यसरी हेरेको छ । हामी समाजको प्रत्येक घर घरमा पुग्छौ, समस्या बुझ्छौ, समाधान खोज्छौ !

अनि समाजमा मान पाएका छौ, सम्मान पाएका छौ । हामीले आइरन चक्की, क्याल्सियम जस्ता गर्भवती तथा सुत्केरीलाई आवश्यक औषधी कसरी प्रयोग गर्ने कुरा सिकाउँछौ । बालबालिका र सुत्केरी आमाले कसरी बच्चा अनि आमाको स्याहार गर्ने कुरा सिकाउँछौ ।

विशेषज्ञ डाक्टरको मुख देख्न पनि शहर झर्नुपर्ने ठाँउका विपन्न परिवारको हामी डाक्टर बनेका छौ । घरमै अनि हामीले गर्ने समस्याका समाधान हामीले उनीहरुको दैलोमै दिएर आउँछौ तर नसकेका कुराका लागि सुझाव पनि बोकेर गएका हुन्छौ । यतिसम्मकी कोहि परिवारका बालबालिकालाई केहि समस्या भए पहिला डाक्टरकोमा नगई हामी कहाँ आउँछन् ।

यतिमात्रै होइन हामीले समाजमा भएका झगडा पनि मिलाउनुपर्ने हुन्छ, यो मानेमा हामी उनीहरुका लागि वकिल अनि न्यायाधीश पनि बनेका छौ । यसको मतलब हामी विज्ञ भएका हैनौ तर सरकारले नाम दिएको त र दुःख  पेशाको भूमिका अनि यसले  समाजकाे  प्रभाव पारेको रहेछ भन्ने कुरा अब बुझ्न जरुरी छ ।

मैले १४ वर्ष यहि कर्म गरेर बिताएँ । नितान्त स्वयम्सेवी भएर । केहि वर्ष पहिला हाम्रो वडाले महिनाको ४ हजार दिन्थ्यो हाम्रो कामको मूल्याकंन गरेर तर कोरोनापछि त्यो पनि बन्द भयो । त्यसैले यस विषयमा सबैले बुझ्न आवश्यक छ जस्तो लाग्छ । हामीले खाने, सुत्ने समयको टुंगो लगाएका छैनौ, जुन समय जहाँ हाम्रो आवश्यकता पर्याे  त्यहाँ हामी पुग्नुपर्छ । म स्वयम्सेवीका

, श्रीमान वैदेशिक रोजगारीमाः

मेरो एक छोरा एक छोरी छन् ।  उनीहरु अहिले व्याच्लर लेभल पढिरहेका छन् । तर मेरो कामले उनीहरुलाई पढाउन मद्दत त गरेको छैन तर सहि मार्गदर्शन भने गरेको छ । उनलाई पढाउने मेरो आफ्नो हैसियत छैन । त्यसैले मेरो श्रीमानलाई मैले वैदेशिक रोजगारीका लागि मलेसिया पठाएकी छु।

महिनाभरी दुःख गरेर श्रीमानले पैसा पठाउनुहुन्छ, तर त्यहि महिनाभरी खटिएर मैले आत्मसन्तुष्टि पाउँछु बस् यत्ति फरक छ उहाँ र ममा । श्रीमानको पसिनाले साटेको पैसा र मेरो पसिनाले साटेको सहि विचारले मेरा छोराछोरी लाईनमा लागेका छन् ।

पैसाले सबै कुरा किन्न सकिएपनि आत्मसन्तुष्टि र खुशी किन्न सकिदैन् । मैले मेरा छोराछोरीमा सहि विचार अनि सकारात्मक उर्जा छरेको छु जुन कुरा उनीहरुले बुझेका छन् । यसमै खुशी छु तर हामी स्वयमसेवीकाहरुको काम हरेर सरकारले पनि केहि विचार गर्नुपर्छ जस्तो लाग्छ ।

काम गरिसकेपछि पारिश्रमिक त पाउनु पर्छ । हामी खाली हात त यसरी काम गर्न सक्छौ आफ्नो परिवार, समाजका लागी भने हाम्रो दुःख बुझेर पसिनाको मूल्य दिएको भए अझ सशक्त रुपमा काम गर्न तयार हुन्थ्यौ । किनकी हरेक गाउँमा डाक्टर हुँदैनन् जहाँ हामी हुन्छौ ।

तपाईको प्रतिक्रिया