पालिकामा दुईपटक पराजित सांसद, भन्छिन्– ’नसोचेको भयो’

सल्यान,५ पाैष ।

सल्यानको दार्मा गाउँपालिका ४ भलचैरको गलात घर भएकी २८ वर्षीया अनिषा नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टीकी स्थानीय नेता हुन् । २०७० देखि पार्टीमा सक्रिय बनेकी नेपाली २०७४ र ०७९ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएकी थिइन् ।

दुवै पटक उनी माओवादी केन्द्रका नीमबहादुर केसीबाट भारी मतान्तरले पराजित भएकी थिइन् । पालिका अध्यक्षमा दुई पटक पराजित उनै अनिषा राप्रपा सल्यानबाट प्रतिनिधि सभाको लागि समानुपातिकतर्फ सांसद बन्न सफल भएकी छन् ।

त्यसो त हालसम्मै महिला सांसद नपाएको सल्यानबाट पहिलो महिला तथा दलित सांसद बन्ने अवसर पनि पाइन् अनिषाले । ठूला पार्टीले महिलालाई समानुपातिकतर्फ सांसद नबनाइरहँदा जिल्लाकै दुर्गम पालिकाकी अनिषालाई राप्रपाले चयन गरेको हो ।

निर्वाचित भएपछि नेपालीले आफूलाई भाग्यमानी ठानेकी छन् । साथै उनले आफू समानुपातिकतर्फ चयन हुन्छु भन्ने कहिल्यै नसोचेको प्रतिक्रिया दिएकी छन् । ‘ठूला पार्टीका धेरै नेताले माथ खाएका बेला मैले आफू सांसद हुन्छु भन्ने रत्तीभर पनि सोचेको थिइनँ । नसोचेको कुरा भयो । धेरै खुसी छु,’ नेपालीले भनिन् ।

तर सिद्धान्त र विचार पछ्याउँदै पार्टीमा सक्रिय भएर काम गरेको उनको भनाइ छ । यस्तै उनले पार्टीले आफूलाई पाँच वर्षका लागि दिएको जिम्मेवारी जिल्लाबासी तथा विपन्न, दलित समुदाय, महिला अधिकारका लागि बाँचुन्जेल ग्रहण गर्ने बताएकी छन् ।

’जिल्लामा धेरै सासंद भए । ठाउँठाउँमा भाषण गरे यो गर्छु उ गर्छु भन्दै जनतालाई आश्वासन मात्रै दिए । तर केही गरेनन्,’ उनले भनिन् ‘म जे बोल्छु त्यो गरेर देखाउँछु । गर्न नसक्ने भए सकिँदैन भन्दिन्छु ।’

ग्रामीण क्षेत्रका महिलाले खानेपानी, स्वास्थ्योपचार, बिजुली अभाव, कुरितिका कारण विभिन्न दुःख भोग्दै आएकाले उनीहरुको समस्या समाधानका लागि सक्रिय भएर लाग्ने उनले प्रतिबद्धतासमेत जनाएकी छन् ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया
error: Content is protected !!