कर्णाली प्रदेशसभाः दोश्रो कार्यकाल, पहिलो बैठक ६६ वर्षीय शाहले सभामुखको निर्वाचन गराउने

पुनम वि.सी.
सुर्खेत,४ पौष ।

निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रदेशसभा तथा प्रतिनिधिसभातर्फका प्रत्यक्ष र समानुपातिक गरी दुबैतर्फको अन्तिम निर्वाचन परिणाम घोषणा गरिसकेको छ । निर्वाचनको परिणामसहितको प्रतिवेदन कर्णालीका प्रदेश प्रमुख तिलक परियार समक्ष पेशपनि भईसकेको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । यस बमोजिम पुष १८ गतेसम्ममा प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गर्छन् ।

प्रदेशसभाको अभिवेशन आह्वानका लागि आन्तरिक छलफल भईरहेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए। ‘प्रदेश प्रमुखज्यू समक्ष प्रदेशसभातर्फको अन्तिम निर्वाचन परिणाम पेश भईसकेको छ । उनले भने, अब प्रदेश प्रमुखज्यूले प्रदेशसभाको पहिलो बैठक अधिवेशन आह्वान गर्नुहुनेछ ।’

प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन बैठकलाई सम्बोधन गर्ने संविधानमा व्यवस्था छ । यसका साथै प्रदेशसभाका सभामुखको निर्वाचन सम्पन्न नभएसम्मका लागि प्रदेशसभामा रहेका सदस्यहरुमध्ये उमेरका हिसावले सबैभन्दा जेष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्छन् ।

निमित्त सचिव थानीले भने, ‘ प्रदेश सभाका लागि निर्वाचित उम्मेद्वार हरुमध्ये उमेरले सबैभन्दा जेष्ठ सदस्यबारे विवरण उपलब्ध गराउन हामीले निर्वाचन आयोगलाई पत्राचार गरेका छौँ ।’ कर्णाली प्रदेशसभातर्फ प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचत भएकामध्ये सबैभन्दा जेष्ठ सदस्यका रुपमा दैलेखका विनोदकुमार शाह छन् ।

दैलेख–२(ख) बाट निर्वाचित शाह अहिले ६६ वर्षका भए । वि.सं. २०१३ साल वैशाख ४ गते उनको जन्म भएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ । यसअघि प्रदेशसभाको पहिलो कार्यकालको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यका हैंसियतमा दैलेखकै हिमबहादुर शाहीले गरेका थिए।

सभामुख र उपसभामुख निर्वाचन प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संविधानमा व्यवस्था छ । सो समावधिमा प्रदेशसभा सदस्यहरुले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामूखको निर्वाचन गर्नेछन् ।

निर्वाचनमा यी दुई पदमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ । साथै सभामुख र उपभामुख दुई फरक दलको हुनुपर्छ । स भ ा म ु ख क ा ल ा िग प्रदेशसभा सदस्यमध्ये कुनै एक सदस्यले अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव गर्छन् । यस प्रस्तावमा अर्का एक जना सदस्यको सर्मथन समेत रहेको हुनुपर्छ ।

यसका साथै ‘निर्वाचित भएमा सभामुखको कार्य गर्न राजी छु’ भन्ने प्रस्तावित सदस्यको मञ्जुरी समेत रहन्छ । प्रस्तावकको सूचना उक्त सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थन सदस्यले सर्मथन गर्छन् ।

यस्तो सूचना एउटा मात्र भएपछि प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित हुन्छन् भने सोभन्दा धेरै भएमा प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन्छ । सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ लिने व्यवस्था छ ।

मुख्यमन्त्रीको छिनोफानो यसै महिना

देशसभा निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्री नियुक्त भईसक्नुपर्ने कानूनी व्यवस्था छ । प्रदेश प्रमुखले सभामा बहुमत प्राप्त दलको नेतालाई मूख्यमन्त्री नियुक्त गर्नुपर्ने नेपालको संविधानमा व्यवस्था छ । साथै, नियुक्त मुख्यमन्त्रीले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्छन् ।

हाल प्रदेशसभा सदस्यमा कुनै दलको मात्र एकल बहुमत छैन । यस्तो अवस्थामा भने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यसरी नियुक्त भएका मुख्यमन्त्रीहरुले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभा सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मन्त्रिपरिषद् गठन हुन्छ । यस्तो मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्नुपर्ने संविधानले व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया