काठमाडौं, ४ पाैष ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। आज उनले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। नेपाललाई भेट्न प्रचण्ड आज दिउँसो नेपाल निवास कोटेश्वर गएका थिए।
भेटमा आगामी सत्ता समीकरणका विषयमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ। गत शनिबार प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गरेका थिए। त्यसपछि प्रधानमन्त्रीसमेत सशंकीत बनेका छन्।
नेपाली कांग्रेसको आइतबारको पदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। यद्यपी प्रचण्डले आफू प्रधानमन्त्री बन्ने प्रयासमा गृहकार्य गरिरहेका छन्। उनले सत्ता साझेदार कांग्रेस बाहेकका राजनीतिक शक्तिहरूसँग मिलेर सरकार गठनको प्रयास गरिरहेका छन्।
प्रचण्डले आइतबार नै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग सत्ता गठबन्धन जोगाउने हो भने आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान राखेका थिए।
नेपाल निवास कोटेश्वरमा आज दुई नेताबीचको भेटमा कांग्रेस बाहेकको सत्ता समीकरण बनाउने बारे पनि छलफल भएको स्रोतले जनाएको छ। कांग्रेस उपसभापति खड्कासँगको भेटमा प्रचण्डले राखेको अडान र नेपालसँगको आजको भेटले राजनीतिक समीकरण फरक कोणबाट अघि बढिरहेको संकेत मिलेको नेताहरूले बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सातदिनको समयसीमा राख्दै सरकार गठन गर्न आह्वान गरेपछि शीर्ष नेताको राजनीतिक दौडधुप बढेको हो।
वर्तमान सत्ता गठबन्धले यही गठबन्धनलाई निरन्तरता दिने समझदारीसहित समीकरण मिलाउने गृहकार्य गरिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले फरक रुपले भेटलाई जोड दिएका छन्। यता विभिन्न सार्वजनिक कार्यक्रममा भने प्रचण्डले आफू प्रधानमन्त्री बन्न होडमा नरहेको बताउँदै जिम्मेवारी आए पछि नहट्ने अभिव्यक्ति दिँदै आएका छन्।
नेपाली कांग्रेस भित्र कांग्रेस कै नेतृत्वमा सरकार बनाउनुपर्ने दवाव तथा नेकपा माओवादीभित्र पनि माओवादी कै नेतृत्वमा सरकार बनाउन नेतृत्वलाई नेताले दवाव दिन थालेपछि सत्ता समीकरण कस्तो हुने भन्ने अन्यौल बन्दै गएको छ। यही अन्यौलतालाई मेट्दै नयाँ सत्ता समीकरण मिलाउन प्रचण्ड व्यस्त छन्।
अन्नपुर्ण
युग संवाददाता । । ४ पुष २०७९, सोमबार १७:५३