काठमाडौँ ,४ पाैष ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले प्रचार भइरहेको जस्तो वामपन्थीको मात्रै सरकार बनाउने कुरामा कुनै सत्यता नभएको बताएका छन् । उनले अहिलेकै गठबन्धनको सरकार बन्ने दाबी गरे ।
‘यो चुनावमा केही नयाँ शक्तिहरू पनि उदाएका छन् । तर, संसद्मा कसैको पनि बहुमत छैन । यस्तो अवस्थामा अब कस्तो सरकार बन्ला भन्ने चासो छ । कसैले गैरवामपन्थी सरकारको कुरा गरिरहेको छ भने कसैले वामपन्थीको मात्रै सरकार बनाउने कुरा गरिरहेको छ, तर यी कुरामा कुनै विश्वास छैन,’ उनले भने, ‘यी कुरामा सत्यता छैन ।
हामी गठबन्धनको सरकार बनाउँदैछौं ।’नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदहरूलाई बधाई ज्ञापन गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धन दलका बीचमा भएको विश्वासको वातावरणलाई तोडेर घर न घाटको अवस्थामा पुग्ने बाटोमा नलाग्ने समेत बताए ।
‘भएकाको विश्वास गुमाउने र हुँदै नभएको कुरामा लागेर घर न घाटको बाटोमा लाग्ने कुरामा हामी लाग्दैनौं । अहिले पनि गठबन्धन दलको सरकार बन्छ भनेर हामी विश्वस्त छौं,’ उनले भने, ‘तर चुनाव जितेपछि गठबन्धनमा भएका अरु दलहरूको अहंकार बढ्छ भने हामी जस्तोसुकै कदम उठाउन पनि तयार छौं ।
जस्तो स्थिति आइलाग्छ, त्यसको सामना गर्न पनि तयार छौं ।’ उनले गठबन्धनकै सरकार बनाउने विषयमा आफूले पहल गरिरहेको समेत बताए ।
कान्तिपुर
युग संवाददाता । । ४ पुष २०७९, सोमबार १५:२५