आँखाको उपचार गाउँमै

सल्यान ,३ पाैष ।

दुई वर्षअघिदेखि टाढाको मान्छे चिन्न छाडेकी बाग्चौर नगरपालिका–५ की ६५ वर्षीया देवकली विकको आँखाको ज्योति दिनदिनै कमजोर हुँदै गएको थियो । मोतिबिन्दुका कारण आँखा कमजोर हुँदा उनलाई घरको कामकाज गर्नसमेत समस्या भइरहेको थियो । तर आर्थिक अवस्था कमजोर हुँदा उनको उपचार हुन सकेको थिएन ।

त्रिवेणी गाउँपालिका–१ काभ्राका ६० वर्षीय कर्णबहादुर बोहराको समस्या पनि देवकलीको भन्दा फरक थिएन ।  आँखाको ज्योति कमजोर हुँदा उनी गाउँभन्दा बाहिर जान छाडेका थिए । अहिले उनीहरू दुवैको समस्या हल भएको छ ।

उनको आँखाको ज्योति फर्किएको छ । गाउँमा सञ्चालन भएको शिविरमा मोतिबिन्दुको शल्यक्रिया भएपछि उनीहरूको दृष्टि फर्किएको हो । नेपाल नेत्र ज्योति संघ र राप्ती आँखा अस्पताल दाङको सहयोगमा जिल्लाका स्थानीय तहहरूमा आँखा उपचार र शल्यक्रिया शिविरको आयोजना गरिएपछि स्थानीयले गाउँघरमै आँखाको उपचार पाउन थालेका हुन् ।

अस्पतालले जिल्लाका १० वटै पालिकाका करिब १९ स्थानमा आँखाको उपचार शिविर सञ्चालन गरेको हो । जसबाट झन्डै ५ हजार जनाले आँखाको उपचार गराएका छन् । करिब ४ सय जनाको शल्यक्रिया गरिएको छ ।

शारदा नगरपालिकाले विभिन्न ४ स्थानमा सञ्चालन गरेको शिविरमार्फत ९ सय जनाको आँखा परीक्षण गरिएको छ । करिब १ सय जनाको मोतिबिन्दुको शल्यक्रियाको तयारी नगर प्रमुख प्रकाश भण्डारीले बताए । उनका अनुसार प्रारम्भिक उपचारबाट शल्यक्रियाका लागि छनोट गरिएकाहरूको आइतबारदेखि शल्यक्रिया हुनेछ ।

‘जिल्ला अस्पतालमा आँखाको अप्रेसन हुँदैन, श्रीनगरको आँखा उपचार केन्द्रले सामान्य सेवा मात्र दिने गरेको छ,’ उनले भने, ‘आँखाको समस्या भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नपाएका बिरामीका लागि गाउँघरमै शिविरको आयोजना गरिएको हो ।

बाग्चौर नगरपालिकाले पनि विभिन्न ४ ठाउँमा आँखा उपचार शिविरको आयोजना गरेको छ । आर्थिक समस्या, भौगोलिक विकटता र जनचेतनाको अभावका कारण कोही पनि उपचारबाट वञ्चित नहुन् भनेर गाउँघरमै शिविर सञ्चालन गरिएको बाग्चौर नगरपालिका प्रमुख जनकराज गौतमले बताए ।

उनका अनुसार ४ स्थानमा सञ्चालन गरेको शिविरबाट ९ सय ९७ जनाले आँखा परीक्षण गर्न पाएका छन् । र १ सय ३४ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । उपचार गराएकालाई निःशुल्क चस्मा र औषधि वितरणसमेत गरिएको उनले बताए ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया