सल्यान ,३ पाैष ।
जिल्लाको सिद्धकुमाख गाउँपालिकाका कर्मचारीले पालिकाबाट दिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प पारेका छन् । योजना अनुगमन गर्न गएका पालिकाका इन्जिनियरलाई योजनाको काम गर्दै आएका ठेकेदारका आफन्तले कुटपिट गरेपछि त्यसको विरोध गर्दै कर्मचारीले आइतबारदेखि सम्पूर्ण सेवा ठप्प पारेका हुन् ।
कर्मचारीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म आफूहरू सेवामा नफर्किने बताएका छन् । पालिका कार्यालयको कामकाज नै ठप्प भएपछि गाउँपालिकाका सर्वसाधारण सेवाबाट वञ्चित भएका छन् । यसले गर्दा योजना सञ्चालन तथा सम्झौतासमेत प्रभावित भएका छन् ।
गाउँपालिकाका इन्जिनियर विवेकमान बस्नेत र वडा प्राविधिक मेघा ओली वडा नं. २ को वडा कार्यालय भवनको ढलान कार्यको अनुगमन गर्न गएको समयमा ठेकेदार कम्पनीले मापदण्डविपरीत काम गरिरहेको र मापदण्डअनुसार काम गर्न आग्रह गर्दा ठेकेदार डम्मर तिरुवाका ३० वर्षीय छोरा सञ्जयकुमार तिरुवाले शनिबार दिउँसो उनीहरूमाथि कुटपिटका साथै दुर्व्यवहार गरेका थिए ।
निष्पक्ष रुपमा काम गरिरहेका प्राविधिकलाई कुटपिट गर्ने तिरुवालाई कारबाही नहुँदासम्म गाउँपालिका र वडा कार्यालयबाट कुनै सेवा प्रवाह नगर्ने प्रमुख प्रशासकीय अधिकृत मार्सलकुमार ओलीले बताए । कार्यपालिकाको बैठकले समस्या समाधान भए र भयरहित वातावरणमा काम गर्ने अवस्था सिर्जना भए मात्र सेवामा फर्किने जानकारी दिए ।
पालिकाका ईन्जिनियर बस्नेतमाथि भएको अमर्यादित, अभद्र र आपराधिक कार्यप्रति खेद प्रकट गरेका छन् । यसअघि पनि कार्यालयका कर्मचारी काममा रहेको समयमा पटक–पटक अमर्यादित, अभद्र र आपराधिकजस्ता खेदजनक क्रियाकलाप दोहोरिइरहेकाले कर्मचारीलाई निष्पक्ष र भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसमक्ष उनले आग्रह गरेका छन् ।
उनले राष्ट्रसेवक कर्मचारीको शान्ति र सुरक्षाको समेत माग गरेका छन् । योजनाको काम गर्दै आएका ठेकेदारका छोराले इन्जिनियरमाथि गरेको हातपात निन्दनीय भएको गाउँपालिका अध्यक्ष भरतकुमार गिरीले बताए ।
कर्मचारीमाथि दुर्व्यवहार गर्नेजस्ता कार्य आउँदा दिनमा हुन नदिन पालिकाबाट प्रयास भइरहेको उनले जानकारी दिए । दोषीलाई सजाय दिने प्रतिबद्धता जनाउँदै उनले कर्मचारीलाई काममा फर्कन आग्रह गरका छन् । ‘गलत काम गर्ने कोही पनि उम्किन पाउँदैन‚’ उनले भने ।
कान्तिपुर
युग संवाददाता । । ३ पुष २०७९, आईतवार १४:५४