भेरी किनारको दर्जनौं बस्ती टेलिफोन सेवाबाट बञ्चित (भिडियो रिपोर्टसहित)

दीपक बुढा/भेरीगंगा
सुर्खेत, २ पौष ।
वीरेन्द्रनगर नगरपालिकाको दक्षिण सिमाना पर्ने भेरीगंगा वडा नं. १ र २ का स्थानीय टेलिफोनको सेवाबाट बञ्चित भएका छन् । भेरीगंगा नगरपालिकाको दुई वटा वडाका केही वस्तिमा मोवाईल फोनको नेटवर्कले काम गर्दैन । नेपाल टेलिकमको स्काई, नमस्ते, पोष्टपेट र एनसेलको कुनै पनि नेटवर्कले टिप्दैन । भेरी नदी किनारका दर्जनबढी बस्तिका सयौं घरधुरी विगत लामोसमयदेखि टेलिफोन सेवाबाट बञ्चित भएका छन् ।

https://www.youtube.com/watch?v=oHCzamcwZ8w

भेरीगंगा नगरपालिका वडा नं. १ र २ मा पर्ने भेरी किनारको बस्तिका ७ सयबढी घरधुरी, पाँच वटा विद्यालय र मोहटी स्वास्थ्य बर्थिङ सेन्टरका हजारौं नागरिकहरु बर्षौदेखि टेलिफोन सेवाबाट बञ्चित भएका हुन् । भेरीगंगा–२ मा पर्ने मोहटी, रेगाल टोल, खोचे, दमार, जरायोपानी, कुकुरफाले, रातापानी, आँपगैरा, भारगोठेरी गाउँको ४ सय बढी घरधुरी र संगै जोडिएको भेरीगंगा नगरपालिका वडा नं. १ मा पर्ने कोलडाँडा, गुराँसे, नमूना गाउँ, बसेरी, आँदी, सालघारी, सुनकाउली, घुमाउने गाउँका ३ सयबढी घरधुरी टेलिफोन सेवाबाट बञ्चित भएका छन् ।

एनसेल र नेपाल टेलिकमको कुनै पनि फोन नेटवर्कले काम गर्दैन । नेटवर्क नदेखाउने, फोन नलाग्ने समस्या रहेको हुँदा भेरीगंगा–२ मोहटी गाउँको उत्तरतर्फ रहेको सल्लेरी डाँडा वा वीरेन्द्रनगर नगरपालिका वडा नं. १० को सानोसुर्खेत नजिकैको डाँडामा नयाँ टेलिफोन टावर स्थापनाको माग गरिएको छ । मोहटी टोल विकास संस्था र स्थानीय सचेत नागरिकहरुको तर्फबाट नयाँ टावर निर्माणको माग गर्दै नेपाल टेलिकम सुर्खेत कार्यालय र कर्णाली प्रदेश कार्यालयमा आवश्यक प्रकृया थालिएको छ ।

तपाईको प्रतिक्रिया