मुगुभरि छैन कालोपत्र सडक

मुगु ,१ पुस ।

जिल्लाका ४ वटै स्थानीय तहमा ग्रामीण सडक खन्ने होडबाजी छ । तर कतै सडक कालोपत्र हुन सकेको छैन । सडक कालोपत्र नहुँदा स्थानीय सास्ती र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । जिल्लाको सबैभन्दा पुरानो र मुख्य सडक गमगढी–नाग्मा सडक खुलेको एक दशक बित्यो । अझै कालोपत्र नहुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे यात्रा गर्नुपर्ने बाध्यता छ ।

२०६९ सालमा कर्णाली–राजमार्गअन्तर्गत उक्त सडकको ट्रयाक खोलेर नेपाली सेनाले सरकारलाई हस्तान्तरण गरेको थियो । झण्डै ९४ किलोमिटर लामो नाग्मा–गमगढी सडक झन् झन् जीर्ण बन्दा कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल आउने पर्यटकहरू पनि जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सडकमा दुर्घटनामा परी २ वर्षमा ४० जनाले ज्यान गुमाइ सकेका छन् ।

घाम लागेको बेला धुलो उडेर जिप, गाडी, मालबाहक ट्रक र मोटर साइकल छुट्याउनै नसकिने स्थानीयको भनाइ छ । जीर्ण सडकका कारण गन्तव्यमा पुग्दा यात्रु धुलाम्मे हुने गरेका छन् । हिमपात र झरी भएको समयमा हिलोमा फसेर गाडी तान्न यात्रुलाई मुस्किल हुने गरेको स्थानीय कमल शाहीले बताए ।

उनका अनुसार रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण गमगढी–नाग्मा सडकमा सवारी साधनको चाप हुने गरेको छ । जहाजमा महँगो भाडा र टिकट पाउन मुस्किल हुने गरेकाले अधिकांश पर्यटक सडक मार्गबाटै आउने गरेका छन् ।

जुम्लाको कनकासुन्दरी, सिजा र हिमा गाउँपालिका तथा मुगुका अधिकांश स्थानका बासिन्दाले यही सडकबाट यात्रा गर्छन । सडकका अधिकांश स्थानमा पर्ने खोलामा पुल र कलभर्ट बन्न सकेका छैनन् । गाडी गुड्न थालेको एक दशक बिते पनि कालोपत्र नहुनु दुर्भाग्य भएको छायानाथरारा नगरपालिकाका जयबहादुर मल्लले बताए ।

सडक स्तरोन्नति नहुँदा मोटरसाइकलबाट सुर्खेत र नेपालगन्ज आउजाउ गर्न समस्या भएको उनको भनाइ छ । उनका अनुसार धुलाम्मे र हिलाम्मे सडकले स्थानीयको यात्रा सास्तीपूर्ण हुने गरेको छ । भारी हिमपात र लामो झरी भएको समयमा सडक अबरुद्ध हुँदा जुम्लाको सिंजा क्षेत्रदेखि मुगुसम्म दैनिक उपभोग्य बस्तु अभाव हुने गरेको उनी बताउँछन् ।

सडक जीर्ण बन्दै गएपछि गाडी गुडाउन समस्या भएको चालक दिनेश बुढाले बताए । उनका अनुसार अहिले मुगु खण्डको गमगढीदेखि झयारी खोलासम्मको सडकको अबस्था नाजुक छ । ‘गाडी नबिग्रिएको दिनै हुँदैन, गाडीहरूको चाप बढिरहेको छ,’ उनले भने, ‘तर सडक भने दिनदिनै जीर्ण बन्दा यात्रुसहित यातायात व्यवसायी पनि सास्ती भोग्न बाध्य छौं ।’

गमगढी–नाग्मा सडक कालोपत्र गर्न ३ वर्षदेखि सडक डिभिजन कार्यालयमार्फत १० करोड रुपैयाँ विनियोजन गरिए पनि अहिलेसम्म ५ मिटर सडकसमेत कालोपत्र भएको छैन । ठेकेदार कम्पनीको लापरवाहीका कारण आफूहरूले सास्ती भोग्नुपरेको यात्रुहरूको गुनासो छ ।

त्यस्तै, गमगढी–सोरु–तारापानीसम्मको २१ किलोमिटर सडक पनि कालोपत्र भएको छैन । ग्रामिण पहुाच कार्यक्रमले खनेको उक्त सडकमा सवारी साधन गुड्न सुरु गरेको ५ वर्ष पुगे पनि स्तरोन्नतिको काम नभएको हो । गमगढी–बालै सडकको अवस्था पनि नाजुक रहेको स्थानीय गोरख विकले बताए ।

उनका अनुसार स्थानीय तहहरूबाट बर्षेनि स्तरोन्नतिका नाममा माटो भर्ने काम मात्र हुँदा यात्रा सहज बनेको छैन । उनले छाइल–गमगढी सडकमा पनि गाडी चल्न थालेको ५ वर्ष बिते पनि स्तरोन्नति हुन नसकेको बताए । जिल्ला समन्वय समितिका अनुसार जिल्लाभरि करिब ५ सय ५० मिटर सडक निर्माण भएको छ ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया