काठमाडौं, १ पुष ।
विश्वकप फुटबल प्रतिस्पर्धा होस् या मैन्त्रीपूर्ण प्रतिस्पर्धा अधिकांश खेलमा अर्जेन्टिना फ्रान्समाथि हाबी भएको इतिहास छ । कतारमा जारी फिफा विश्वकप फुटबल– २०२२ को उपाधिको लागि अर्जेन्टिना र फ्रान्सबीच भिडन्त हुने भएको छ । सेमिफाइनलमा अर्जेन्टिनाले क्रोसिया र फ्रान्सले मोरक्कोलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका छन् ।
अब लुसेल रगंशालमा नेपाली समयअनुसार आइतबार राति ८ः४५ बजे उपाधिको लागि यी दुई टिमले प्रतिस्पर्धा गर्ने छन् । अर्जेन्टिना र फ्रान्स दुबै देशले हालसम्म दुई–दुई पटक विश्वकप जितेको छन् । त्यसैले पनि यी दुई बलिया टिमबीच हुने फाइनल प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मिस्सीले यो विश्वकप आफ्नो लागि अन्तिम भएको घोषणा गरिसकेको छन् । त्यसैले उनले विश्वकपबाट सुखद बिदाई हुन चाहन्छन् । भने, सानै उमेरमै विश्वकप फुटबलमा जादु गरेर सबैको मन जित्न सफल फ्रान्सका केलियन एम्बाप्पेले यो विश्वकपमा पनि जादु गरेर फ्रान्सलाई लगातार दोस्रो पटक उपाधि जिताउन चाहन्छन् ।
कस्तो छ, अर्जेन्टिना र फ्रान्सको विश्वकपको यात्रा ? अर्जेन्टिनाले सन १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप जितेको छ । भने, फ्रान्सले पनि सन १९९८ र २०१८ मा गरी विश्वकप जितेको छ । त्यस्तै अर्जेन्टिना सन १९३०, १९७८ र २०१४ को उपविजेता राष्ट्र हो ।
आगामी आइतबार यी दुईमध्ये जुन देशले विश्वकप जिते पनि उक्त देश तेस्रो पटक विश्व च्याम्पियन बन्ने छ । विश्वकप फुटबलमा अर्जेन्टिना र फ्रान्सबीच तीन पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये अर्जेन्टिना २ र फ्रान्स १ पटक विजयी भएका छन् ।
सन १९३० मा पहिलो पटक आयोजित विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुबैले खेल्ने मौका पाएका थिए । सोही विश्वकप अन्तर्गत नकआउट चरणको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १–० ले हराएको थियो । र, फ्रान्स विश्वकपको नकआउट चरणबाट बाहिरीएको थियो ।
त्यस्तै सन १९७८ मा पनि अर्जेन्टिनाले फ्रान्सलाई २–१ गोल अन्तरले हराएर विजय भएको थियो । अर्जेन्टिना सोही वर्ष विश्वकपको उपविजेता बनेको थियो । त्यसैगरी ४ वर्षअघि सन २०१८ मा रसियाले आयोजना गरेको विश्वकपमा फ्रान्सले अर्जेन्टिनालाई नकआउट चरणमा ३–४ ले पराजित गरेको थियो ।
फ्रान्स सन २०१८ को विश्वकप विजेत हो । मैत्रीपूर्ण प्रतिस्पर्धा अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ वटा पुरुष फुटबलमा मैन्त्रीपूर्ण प्रतिस्पर्धा भएको छन, जसमध्ये फ्रान्सले ३ र अर्जेन्टिनाले ६ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा रोकिएका छन् ।
सन १९७१ मा भएको अर्जेन्टिना र फ्रान्सबीच मैत्रीपूर्ण खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको थियो । त्यस्तै सन १९७२ मा ब्राजिल इन्डिफेन्डेन्ट कपमा दुई टोलीबीच भएको खेल गोलरहित बराबरीमा रोकिएको थियो । सन १९७४ मा भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १–० ले पराजित गरेको थियो ।
त्यस्तै सन १९७७ को मैत्रीपूर्ण खेलमा पनि यी दुई टोलीबीच खेल ०–० को बराबरीमा रोकिएको थियो । सन १९८६ मा फ्रान्सले अर्जेन्टिनालाई २–० ले हराएको थियो । त्यसपछि सन २००७ मा भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १–० ले पराजित गरेको थियो ।
सन २००९ मा भएको खेलमा पनि अर्जेन्टिनाले फ्रान्समाथि २–० गोल अन्तरको जित निकालेको थियो । आइतबार हुने खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका स्टार केलियन एम्बापेमाथि सबैको नजर छ ।
युग संवाददाता । । १ पुष २०७९, शुक्रबार ०८:२२