पुनम वि.सी.
सुर्खेत,१ पुष ।
‘भैंसी पाल्न किसानको हात र भैंसीको जात (ब्रिड) मिल्नुपर्छ । यो मिलेन भने हजुर यहाँ धेरै कृषि व्यवसायबाट पलायन भएको देखेको छु मैले ।’ भैंसीपालन क्षेत्रमा क्रियाशील किसान जयबहादुर बुढाको भनाई हो यो । वि.सं. २०३२ साल यता भैंसीपालन सुरु गरेका बुढाले संगालेको अनुभवलाई आधार मान्ने हो भने जातको भैंसी हुनुपर्यो ।
र, फेरि जात मात्रै राम्रो भएर पनि भएन, त्यसको बानी पनि राम्रो हुनुपर्छ । अझ अर्को, पशुपालनमा मुख्य कुरो भनेकै गास र वास पनि हो । यिनीहरुलाई बस्न र खानको व्यवस्था गर्न नसके व्यवसाय फष्टाउँदैन । वीरेन्द्रनगर–११ स्थित आप्mनो भैंसी फर्ममा बुधबार मध्यान्हको पारिलो घाममा आंग सेकाउँदै बसेका आफ्ना पाँच वटा भैंसीका लागि कुडादानमा घाँस हाल्दै गर्दा भेटिएका बुढाले यस्तै हँस्यौलो पारामा आफ्नो रसिलो अनुभव सुनाए ।
गोठमा रहेका पाँच वटा भैंसीमध्ये चार वटा दूधालु छन भने दुई वटा भैंसी दुहुनो हुने तयारीमा । भैंसी पालनका क्षेत्रमा ४७ वर्ष लामो अनुभवसँग यस क्षेत्रले उनलाई उपनाम पनि दियो, ‘चाइने जेठो ।’ वीरेन्द्रनगर क्षेत्रमा यस उपनामसँगै दूध उत्पादनको क्षेत्र जोडिएको छ । दूध र दहिका ग्राहकहरुका लागि यो नाम नै काफी छ ।
आफ्नाे वखानमा फुर्ति लाउँदै उनले भने, ‘चाइने जेठोको घरबाट ल्याएको दूध–दहि भने पछि त्यसै प्यारो हुन्छ । ग्राहकहरु यसै रुचाउँछन् ।’ अहिले उनले घरबाटै प्रति माना ६० रुपैयाँका दरले दूध बिक्रि गर्दै आएका छन् । बजारमा स्थापित डेरी व्यवसायीले कृषकबाट दूध खरिद गर्ने मूल्य ६५ रुपैयाँ लिटर हो ।
उनले भने, ‘ग्राहकलाई राम्रो दूध दिएपछि यही घरबाटै राम्रै मूल्यमा जान्छ । हेर्नुन कहाँ ६० रुपैयाँ माना, कहाँ ६५ रुपैयाँ लिटर ।’ अहिले दूध व्यवसायका लागि बजार प्रशस्त भएको समय भने होइन । जाडो मौसममा दूध खपत घट्छ । साथै भैंसीले पनि कम दिन थाल्छ, उत्पादनमा कमी आउँछ ।
तर अहिलेको समयमा पनि उनले दैनिक रुपमा ३२ माना दूध घरबाटै बिक्रि गर्छन् । यसका साथै दैनिक १० लिटर दूध डेरीमा समेत पठाईरहेका छन् । वार्षिक रुपमा सरदर आम्दानी हेर्दा १२ लाख रुपैयाँसम्म भएको छ । ‘मैले मासिक रुपमा एक लाख रुपैयाँ जति बचत गरेको छु। उनले भने, भैंसी पालनका लागि बैंक र अन्य संघसंस्था लिएको गरेर करिब ६० हजार रुपैयाँ ऋणको किस्ता तिरिएको छ ।
’ भैसीसँगै ४७ वर्ष
कृषक बुढा अहिले ५७ वर्षका भए । भैंसी पालन क्षेत्रमा भने १० वर्षको उमेरदेखि नै उनले काम गर्न थालेको बताउँछन् । उनले भने, ‘हाम्रो परिवारले पहिलेदेखि नै भैंसी पालन गर्दै आएको थियो । त्यतिबेला त २०–३० वटासम्म हामीले एकैसाथ भैंसी पालेको थियौँ ।’ तर व्यवसायिक रुपमा भने उनले वीसी भैंसी फर्मलाई वि.सं. २०७१ सालमा दर्ता गराएका हुन् ।
‘यो व्यवसाय अहिले महंगो हुन थाल्यो । पहिले–पहिले खेतवारीमै उत्पादन भएका सामाग्रीले पुग्थ्यो । बारी छेउमै घास पनि प्रशस्त हुन्थ्यो । उनले सम्झिए, ‘अहिले हरेक थोक किनेरै ल्याउनुपर्छ । सानो योजनाले भैसी पालन व्यवसाय सञ्चालन गर्न समेत कठिन नै छ ।’ ‘मकै पनि ४० रुपैयाँ किलो भईसक्यो ।
यसका लागि दाना समेत खोजेको समयमा नै पाइदैन । कच्चा पदार्थ जुटाउनमा नै दिन जान्छ । कच्चापादर्थ उपलब्धताका असहजता उत्पन्न भईरहेको प्रति उनको गुनासो थियो । उनको फर्ममा अहिले सबै मुर्रा जातका भैंसी छन् । यी सबै भैसी उनले भारतबाट नै खरिद गरी ल्याएका हुन् ।
मेहनेत गरे फष्टाउँछ
कृषि वसी कृषि फर्मलाई दूध उत्पादनका क्षेत्रमा बजारको समस्या छैन । कच्चापदार्थ पनि जोहो भएकै छ । उत्पादनतर्फ पनि राम्रै देखिन्छ । फर्मको मुख्य ध्यान भनेकै नियमित उत्पादन गर्नु हो । उनले भने, ‘हामीले जे गरे पनि बाह्रैमासे उत्पादन दिन सक्नुपर्छ ।
उनी मात्र कृषिमा दिगोपन हुन्छ ।’ दूध उत्पादनका क्षेत्रमा समेत उनको फर्ममा अहिले दुई वटा भैंसी गर्भावस्थामा छन् । दूध दिईरहेकाहरुको पनि चाँडै गर्भाधारणको समय आउँछ । तर उनको फर्ममा भने वार्षिक रुपमै दूध उत्पादन भईरहन्छ । उत्पादनमा निरन्तरताका साथै कृषि क्षेत्रमा आवश्यक अर्को पक्ष हो लगनशीलता ।
निरन्तर आवश्यक मेहनतको अभावले उत्पादनमा प्रभाव पार्छ । जसकारण बजार समेत विग्रन सक्ने उनको अनुभव छ । भैंसीको जातमा लगानीले व्यवसायलाई विस्तार गर्ने उनको सुझाव छ । भैंसीपालन व्यवसायमा राम्रो मानिएको मुर्रा जात उनको पहिलो छनौटमा परेको छ अहिले ।
साथै मेहनतले भैंसीको बानी व्यवहोरा पनि सुधार्नु आवश्यक छ । जसकारण भैंसी र किसानबीचको सम्वन्धको विकास हुने उनले तर्क राखे । ‘भैसी र किसानको वानी मिल्यो भने भैसीपालन व्यवसाय फष्टाउन सक्छ’, उनले भने ।
‘सरकारले किसान देख्दैन’
‘हेर्नुन मैले भैंसीका लागि गोठमा मात्र १५ लाख रुपैयाँ खर्च गरेको छ । भकारो बनाउन पनि त्यस्तै खर्च भयो । तर अहिले सरकारका अनुदानलगायतका कार्यक्रममा भने हामी सहभागी हुन पाएका छैनौं’, उनले भने । ४७ वर्षसम्म भैंसीपालन व्यवसाय सरकारी अनुदान प्रािप्तको लागि मात्र सञ्चालनमा नल्याएको भन्दै स्पष्टिकरण दिनपनि उनले बिर्सेनन् ।
तर भैंसी पालन व्यवसायका क्षेत्रमा गैरकिसानको हालीमुहाली बढ्दै गएकोमा भने उनले चिन्ता व्यक्त गरे । ‘यत्तिका समय अनुदानका लागि व्यवसाय गरिएको त हैन । तर सरकारका कार्यक्रममा हामीलाई पनि समेट्नु भने पथ्र्यो । उनको चित्त दुखाई छ, ‘यहाँ त फर्म मात्रै देखाएर भैंसी नपालेकाले पनि भकारो सुधार कार्यक्रमको अनुदान खाए ।
’ किसानहरु आफ्नै कर्ममा व्यस्त हुन्छन् । कागज बोकेर सरकारी कार्यालय पुग्ने पहुँच किसानको छैन । यसबीच विचौलिया तथा आफुलाई किसान देखाउनेहरु सल्बलाउने गरेको उनको अनुभव छ । यस विषयमा सरकारले किसान पहिचानतर्फ ध्यान पुर्याउनुपर्ने उनी सुझाउँछन् ।
युग संवाददाता । । १ पुष २०७९, शुक्रबार ०७:४५