सुर्खेत,१ पुष ।
बढ्दो जनसंख्या र सवारी चापका कारण साँघुरिदैं गएको प्रदेश राजधानी वीरेन्द्रनगर बजार क्षेत्रको मुख्य सडक विस्तार तथा स्तरोन्नतिको काम (विहीबार) देखि शुरु भएको छ । आगामी जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी गत भदौमा ठेक्का सम्झौता भएपनि साइट क्लियरेन्स लगायतका अन्य विविध प्राविधिक कारणले निर्धारित समयमा शुरु हुन नसकेको काम बिहिबार बाट शुरु भएको हो ।
काम शुरु गरेको डेढ वर्षभित्र पूरा गरिसक्ने गरी गत भदौ १७ गते ठेक्का सम्झौता भएको १५ महिनापछि गणेशचोकबाट एकछेऊ नाला खन्ने काम बल्ल आजबाट शुरु गरिने ठेकेदार कम्पनी खड्का निर्माण सेवाले जनाएको छ ।
गणेशचोकदेखि मंगलगढीसम्मको मुख्य सडकको दाँया–बाँया नालासहित सडक फराकिलो बनाउने काम एकैपटक गर्दा खाल्डाखुल्डी र धुलोधुँवाले झन् अस्तव्यस्त हुने सम्भावनालाई मध्यनजर गरी खण्ड खण्डमा काम गरिने बताइएको छ । ‘शुरुमा गणेशचोकबाट एक साइडको ड्रेन (नाला) खन्ने काम शुरु हुन्छ ।’
खड्का निर्माण सेवाका लिला भट्टराईले भने, ‘त्यसपछि एक खण्डको काम सक्दै अर्को खण्डको शुरु गर्ने गरी द्रुत गतिमा काम हुनेछ ।’ प्रदेशकै एक मात्र ठूलो र व्यस्त शहरको मुख्य सडक नै पूर्णरुपले भत्काएर नालासमेतको संरचनासहित सडक विस्तार एवं पुनःनिर्माण गर्नुपर्ने भएकाले धुलोधुँवाले केहि समय बजार क्षेत्र अस्तव्यस्त र पैदल तथा सवारी आवागमनमा अवरोध हुने निश्चित छ ।
आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सन्तोषजनक रुपले चल्न नसकेको गुनासो गर्दै आएका स्थानीय व्यापारी व्यवसायीहरु सडक विस्तार तथा स्तरोन्नतिको काम शुरु भएसंगै थप प्रभावित हुने चिन्ताले पिरोलिएका छन् ।
मंगलगढीदेखि गणेशचोकसम्मै अधिकांश फेन्सी, रेडिमेड तथा काँचो कपडाको पसल धेरै रहेका वीरेन्द्रनगर बजार खाल्डाखुल्डीले अस्तव्यस्त हुँदा ग्राहक नआउने र अर्कोतिर धुलोधुँवाले स्वास्थ्य अनि पसलका सामानमासमेत हानी पुग्नेमा उनीहरु चिन्तित छन् ।
सुर्खेत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सिंहराज बमले निर्धारित समयभन्दा निकै ढिलो शुरु भएको काम निर्धारित समयमै सकिनेमा आम व्यवसायी सशंकित रहेको उल्लेख गरे । मुख्य बजारमा लामो समय खाल्डाखुल्डी र धुलोधुँवाले बजार अस्तव्यस्त भए सबै व्यापारी मर्कामा पर्ने भन्दै उनले दिन र रात गरी दुई सिफ्टमा काम गरेर भएपनि निर्धारित समयमै कामसक्ने भए आपूmहरुले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
विकास निर्माणको काममा लापरवाही र ढिलासुस्ती हुँदा धुलोधुँवाले स्थानीयवासीको स्वास्थ्यमा असर पार्नुका साथै व्यापारीका पसलमा बेच्न राखिएका सामानहरुमा समेत क्षति पुग्ने गरेको अर्का व्यापारी भुवन ज्ञवालीको भनाई छ ।
यसअघि पसल अगाडिको सडक भत्काएर महिनौं दिनसम्म कालोपत्रे नगर्दा धुलोले बस्नै नसकिने अवस्था आएपछि बाध्य भएर बाटो नै अवरुद्ध गरेर आन्दोलन गरेका ज्ञवालीले भने,‘काम राम्रो हुनुपर्छ, समयमा हुनुपर्छ र सहजतापूर्वक हुनुपर्छ ।’
तल्लो बजारका व्यापारी खगेन्द्र केसीले पनि अब विकासको काम गर्दा बीसौं वर्षसम्म पुग्ने गरी गर्नुपर्नेमा जोड दिंदै विकासका नाममा वर्षैपिच्छे हुने निर्माणका कामले व्यवसाय चौपट हुने अवस्थामा आउन नदिन ध्यानाकर्षण गराए । मुख्य बजार क्षेत्रका व्यापारीबाट आएको चिन्ता र चासोलाई स्वभाविक रुपमा लिएको बताउँदै निर्माण कम्पनीका भट्टराईले धुलो मार्नका लागि आवश्यक्ता अनुसार पानी छम्किने व्यवस्था मिलाउने जानकारी दिएका छन् ।
‘धुलोले स्वास्थ्यमा पार्ने प्रभावलाई मध्यनजर गर्दै आवश्यक्ता अनुसार पानी हालेर धुलो मार्ने काम हुनेमा ढुक्क हुनुस्’ उनले भने, ‘पुस महिनाको चिसो र नालाको लाइन÷लेबलसमेत मिलाएर काम गर्नुपर्ने भएकाले रातको सिफ्टमा भने काम गर्न अलि सम्भव छैन् ।’
वडावासीको सहयोग र अन्य कुनै वाधाअवरोध नभए निर्धारित २०८० जेठ मसान्तभन्दा अघि नै काम पूरा गरी नगरपालिकालाई हस्तान्तरण गर्ने दाबी पनि उनले गरे । बजार क्षेत्रमा अबको केहि समय असहजता उत्पन्न हुनसक्ने भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बजार प्रवेश गर्नुपर्ने सवारी साधनहरुलाई विभिन्न ठाउँमा पार्किंगको लागि अलगै स्थानको व्यवस्थापन गरिने बताएका छन् ।
सडक छेउछाउ केहि समयअघि मात्र बिछ्याइएका पानीको पाइपका कारण सडक विस्तारमा केहि व्यवधान हुनसक्ने अवस्थाबारे उनले एक दुई दिनमै पाइप व्यवस्थापन गरिसक्ने दाबी गरेका छन् । केहि महिनाअघि मात्र सडकका दुबै छेउबाट खानेपानीको नयाँ पाइपलाइन विस्तार गरिएपनि कनेक्टिभिटीका लाइन विस्तार नभएका कारण काममा फेरि ढिलाई हुने सम्भावना देखिएको छ ।
कस्तो बन्दै छ शहर ?
कर्णाली प्रदेशको राजधानीको पनि मुख्य केन्द्र मंगलगढीचोकदेखि गणेशचोकसम्मको ९ सय ४२ मिटर लम्बाइको ७ मिटर चौडा सडक अब फराकिलो भएर १५ मिटर चौडा हुनेछ । १३ करोड लागतमा मंगलगढी– गणेशचोक सडक मुख्य सडकका दाँया बाँया एक–एक मिटरका बन्द नालासहित दुबै छेउमा बटुवाहरुको सहज आवत जावतका लागि डेढ–डेढ मिटरका फुटपाथ हुनेछन् ।
यसैगरी जन नमूना माविदेखि रामजानकी मन्दिर र वीरेन्द्रचोदेखि यरीचोकसम्मका सडक पनि फराकिला हुनेछन् । मंगलगढी–गणेशचोकसम्मको नौ सय ४२ मिटर लम्बाई भएको मुख्य सडक र बजार क्षेत्रमा अन्य भित्री मुख्य सडक गरी करिब दुई हजार सात सय मिटर सडकहरुपनि सोहि अनुसार फराकिला बनाउने सम्झौतामा उल्लेख छ ।
सडक विस्तारका लागि यसअघि सडक छेउमा रोपिएका रुखविरुवा सबै काटिएका छन् भने विजुली बत्तिको पोल तथा ट्रान्सफर्मरहरुपनि सारि इसकेका छन् । यसअघि गणेशचोकबाट तल्लोबजार तिरको भिरालो जमिन भएर बग्ने वर्षा र नालाको भेलले जुम्लारोड आसपासका क्षेत्रमा डुबान हुने गरेपनि अब सडक विस्तारसंगै यो समस्या समाधान हुने दाबी नगरपालिकाले गरेको छ ।
गणेशचोकतिरबाट बग्दै आउने पानीलाई ठाउँ ठाउँमा डाईभर्ट गर्दै खोलाखोल्सामा बगाउने गरी नालाको काम भईरहेकोले आगामी वर्षामा तल्लो क्षेत्रमा पानी तालिने र डुबानको समस्या नहुने बताइएको छ । प्रदेश राजधानीका व्यस्त सडक साघुँरा र अव्यवस्थित हुँदै जान थालेपछि वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा करिव २१ करोडको लागतमा सडक विस्तारको काम थालिएको नगर उपप्रमुख नीलकण्ठ खनालले जानकारी दिए ।
युग संवाददाता । । १ पुष २०७९, शुक्रबार ०७:३२