सीता एयरको डोनियर जहाज विमानस्थलमै थन्कियो

हुम्ला, २९ मंसिर  ।

निजी क्षेत्रको सीता एयरको डोनियर जहाज चार दिनदेखि सिमकोट विमानस्थलमै थन्किएको छ । नेपालगञ्जबाट सिमकोटका लागि उडान भरेको सो जहाजको सिमकोट विमानस्थलमा अवतरण गरेलगत्तै इन्जिनमा खराबी आएपछि सिमकोट विमानस्थलमै थन्किएको हो ।

सिमकोट विमानस्थलका वरिष्ठ अधिकृत चेतराज भट्टले चार दिनदेखि सीता एयरको विमान सिमकोट विमानस्थलमै थन्किएको बताए  । गत सोमबार नेपालगञ्जबाट खाद्यान्न ढुवानी गरेर सिमकोट विमानस्थलमा अवतरण गरेको सीता एयरको उक्त डोनिएर जहाज इन्जिनमा खराबी आएपछि सो दिनदेखि सिमकोट विमानस्थलमा थन्किएको छ ।

जहाजमा प्राविधिक समस्या आएको कारण नयाँ इन्जिन ल्याएर जडान नगरेसम्म जहाज उड्न पाउने छैन । सीता एयरले प्राविधिक समस्या आएको जहाजका लागि नयाँ इन्जिन ल्याउने तयारी भइरहेको जनाएको छ । केही दिन अघिदेखि नेपालगञ्ज सुर्खेतबाट सीता एयरको एउटा जहाजबाट सिमकोटका लागि खाद्यान्न, कार्गो र यात्रु ओसार्ने काम गर्दैआएको थियो ।

गाेरखापत्र

तपाईको प्रतिक्रिया