मुगुमा अस्पतालमा उपचार पाउन मुस्किल

मुगु,२९ मंसिर ।

 जिल्ला अस्पताल लामो समयदेखि १५ शय्यामा सीमित हुँदा बिरामीलाई सामान्य उपचार पाउन पनि मुस्किल भएको छ । २०६३ देखि सञ्चालनमा आएको जिल्ला अस्पतालको स्तरोन्नति भएको छैन । उपकरण र दक्ष चिकित्सकको अभाव पनि उस्तै छ । जसका कारण उपचारका लागि आएका अधिकांश बिरामी रिफर हुने गरेका छन् ।

कोरियन सरकारको आर्थिक सहयोगमा झन्डै डेढ वर्षअघि अस्पतालमा सुविधासम्पन्न भवन निर्माण भएको थियो । तर पर्याप्त जनशक्ति, उपकरण र औषधिको अभाव अस्पतालले लामो समयदेखि व्यहोरिरहेको छ । अस्पतालको शय्या विस्तारका लागि संघ र प्रदेश सरकारलाई पटकपटक आग्रह गरिए पनि सुनुवाइ नभएको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।

उनका अनुसार आसपासका जिल्लाका अस्पतालहरू २५ देखि ५० शय्यासम्मको बनिसक्दा पनि मुगु अस्पतालको स्तरोन्नतिमा बेवास्ता भएको छ । ‘अहिले त हामीले आएका सामान्य बिरामीको उपचार गरिरहेका छौं, जटिल अवस्थाका बिरामी आए नेपालगन्ज र सुर्खेत रिफर गर्नुको विकल्प छैन,’ उनले भने, ‘उपकरण नहुँदा डाक्टरहरूसमेत सामान्य शल्यक्रिया गर्न पनि डराउँछन् ।

’ अहिलेसम्म जिल्ला अस्पतालमा स्थायी चिकित्सक छैनन् । गत शर्ष जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक जना करार सेवामा एमडी चिकित्सक पठाएको छ । अरू ६ चिकित्सक पनि अस्थायी छन् ।

स्थापनाकालदेखि हालसम्म जिल्ला अस्पतालले स्थायी चिकित्सक पाउन नसकेको स्थानीय अगुवा रूपबहादुर मल्लले बताए । ‘राजनीतिक पहुँच नहुँदा पनि यहाँको अस्पतालको अवस्था लथालिंग छ, जसोतसो कोरिया सरकारको सहयोगमा अस्पताल भवन त निर्माण भयो, तर डाक्टर, उपकरण र औषधिको सधैं अभाव भयो,’ उनले भने, ‘शय्या विस्तार नहुँदा कहिलेकाहीं बिरामीलाई भुइँमै सुताएर उपचार गराउनुपर्ने बाध्यता छ ।’

उनका अनुसार अहिले दैनिक ५० देखि १ सय जना बिरामी उपचारका लागि आउने गरेका छन् । दैनिक १५ देखि २० बिरामीलाई इमर्जेन्सी भर्ना हुने गरेका छन् । यस्तै, जिल्ला अस्पताल वरिपरि घेरबार नहुँदा पशुचौपाया वस्तु अस्पतालभित्र पस्दा दुर्गन्धित हुने गरेको छ ।

अस्पतालमा कर्मचारी आवासगृह नहुँदा पनि उपचारमा समस्या देखिएको अस्पतालका डा. नहकुल शाहीले बताए । उनका अनुसार अस्पतालमा खानेपानी र शौचालयको अभाव छ । अस्पताललाई ५० शय्या विस्तार गर्न प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताए ।

उनका अनुसार १५ शय्याको अस्पताल भएका कारण अहिलेसम्म रक्त सञ्चार केन्द्र पनि स्थापना गरिएको छैन । रक्त सञ्चार केन्द्र नहुँदा बिरामीलाई रगत चाहिए सुरक्षाकर्मी गुहार्नुपर्ने बाध्यता भएको उनले गुनासो गरे ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया
error: Content is protected !!