सुर्खेत,२९ मंसिर ।
भेरीगंगाको छिन्चुमा बसपार्कको शिलन्यास गरीएको छ । नगरविकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत ऋण सम्झौता भएपछि निर्माण कार्यका लागि शिलन्यास गरिएको हो । भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाँङ्गी लगायतको उपस्थितीमा शिलन्यास गरिएको हो ।
१० करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण हुने बसपार्क निर्माणको जिम्मा ग्राण्ड डिजाईन एण्ड कन्ट्रक्सन प्रा.लि बाँकेले २०८१ असार २९ गतेसम्म सम्पन्न गर्ने गरि जिम्मा लिएको छ ।
आधुनिक बसपार्क निर्माण भएपछि सुर्खेत जाजरकोट, रुकुम लगायत कर्णाली भित्रीने सवारीहरुलाई पार्किङको सहज व्यवस्था हुने र काम समयमै सम्पन्न गर्नका लागी निर्माण कम्पनीलाई ताकेता गरिने भेरीगंगा नगरपालिकाका इञ्जिनियर विजय केसिले बताए ।
बसपार्क शिलन्यासपछि बोल्दै नगरप्रमुख ढकालले आधुनिक पुर्वाधारयुक्त र सुविधा सम्पन्न शहर निमार्णमा सरकार जुटेको बताए । बसपार्क बनेपछि छिन्चुलाई सुन्दर शहर बनाउने अभियानमा सहयोग पुग्ने नगरप्रमुख ढकालले विश्वास लिएका छन् ।
नमूना बसपार्कको रुपमा बसपार्क निमार्ण गर्न लागिएको बताउँदै नगर प्रमुख ढकालल बसपार्क सञ्चालनमा आएपछि यात्रुहरुलाई सहजता हुने र भेरीगंगाकोे विकासमा समेत टेवा पुग्ने बताए । नगर प्रमुख ढकालले ‘असार ३० गते सम्झौता भए पनि बिचमा बर्खा, विभिन्न चाडपर्व र मंसिर ४ को निर्वाचनले केही प्रभाव पारेर शिलन्यासमा ढिलाई भएको बताए ।
बसपार्क निर्माणको काम समयमै सम्पन्न गर्न नगर प्रमुख ढकालले निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् । नगरपालिकाले छुट्टै ठाउँ खरिद गरी सरकारसँग साटफेर गरेर २ दशमलव १५ हेक्टर क्षेत्रफलमा उक्त बसपार्क बनाउन लागेको नगरप्रमुख ढकालले बताए ।
शिलन्यास भएको बसपार्कमा तिन तले भवन, ३ वटा गेट, टिकट काउण्टर र विभिन्न पसलहरु सञ्चालन गर्न सकिने छ । बसपार्क निर्माणको काम २ वर्ष भित्र सक्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका छिन्चुमा बसपार्क नहुँदा धेरै नै सास्ती भएको स्थानियले गुनासो गरेका छन् ।
पार्किङको व्यवस्था नहुँदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका हुन्छन् । विस्तारै नयाँ बस तथा धमाधम नयाँ संरचना बन्न थालेका छन । जसले गर्दा पार्किङमा झन थप समस्या बढ्दै गएको छ ।
सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ । बसपार्क नहुँदा सडक दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ गरीएका हुन्छन् । सडकको दायाँ र बायाँ किनारमा विभिन्न सवारी साधन पार्किङ गरिएका हुन्छन् हामीलाई हिँड्नै अप्ठ्यारो हुने गरेको स्थानियले बताए ।
छिन्चुमा सवारीसाधन पार्किङका लागि बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । ईलाका प्रहरी कार्यालय छिन्चुका ईन्चार्ज एवम् प्रहरी निरीक्षक रमेश राईले बसपार्क नहुँदा सवारी व्यवस्थापनमा व्यवस्थापनमा निकै समस्या भएको बताए ।
बसपार्क नहुँदा गाडी धेरै बेरसम्म रोक्न नसकिने, गाडी धेरै भएको बेला केही टाढा नै जिप रोक्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ । दैनिक एक १ हजार भन्दा बढी भन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।
सडकको अन्तिम छेउभन्दा करिब ५०० सय मिटर टाढा गाडी रोक्नुपर्ने बाध्यता रहेको फोर्स गाडिका चालक हेमन्त शर्माले बताए । बजारमा भएको अव्यवस्थित गाडी पार्किङले ग्राहक पसलसम्म पुग्न नसकेको छिन्चुका बजारवासी बताउँछन् ।
युग संवाददाता । । २९ मंसिर २०७९, बिहीबार ०७:५९