सुर्खेत,२८ मंसिर ।
छेडागाड नगरपालिका ४ खातीजेवाकी सम्झना बुढाको घर (माइती) मा आइतबारको दिन विहेको धर्मकर्म अनि सोमबार विहेको भोजभतेरपनि धुमधाम रमाइलोसंगै चलिरहेको थियो ।
अघिल्लो दिन साइत छोपी विहेबारीको कर्म सकेर दोश्रोदिन (सोमबार) दुलही अन्माउने तयारी हुँदै गर्दा विहेको जग्गे भएको ठाउँभन्दा करिव २ किमी पर भएको एउटा दुर्घटनाले विहेको रौनक छिनभरमै रुवावासीमा परिणत गरायो, दिउँसोसम्म नाचगानमा भइरहेको गाउँमा एकाएक सन्नाटा छायो ।
बेहुला–बेहुलीलाई आशीर्वाद दिन आएका आफन्त र बेहुली लिन ठाँटिएर दैलेखबाट दहि कसार खाएर हाँसीखुशी जाजरकोट आईपुगेका जन्तीहरुकै मलामी जानुपर्ने नियति आईलागेपछि दुबै गाउँ शोकले विव्हल भएका हुन् । दैलेखको भगवतीमाई गाउँपालिका ३ मेहलतोलीका वीरेन्द्र खड्का दुलही लिन जन्तीसहित शनिवार छिमेकी जिल्ला जाजरकोटको छेडागाड नगरपालिका ४ खातीजेवा पुगेका थिए ।
दुलही अन्माउने तयारीमा रहेको गाउँ खातीजेवा र रातभर रत्यौलीको रन्को सकेर नयाँ दुलही भित्र्याउने तयारीमा रहेको दैलेखको मेहलतोली दुबै गाउँ अहिले पत्याउनै नसकिने घटना सुनेर शोकमा डुबेका छन् ।
कसरी भयो दुर्घटना ?
सालीको विहेमा सरिक हुन छेडागाड नगरपालिका ५ लेवाबाट वडा नं. ४ भल्कुवा पुगेका सम्झनाका भिनाजु दीपक अधिकारी र स्थानीय महेश थापाबीच आइतबारको दिन विहेको रमाइलो गर्दा गर्दैमा एकाएक विवाद भयो ।
विवाद बढ्दा महेशसंग हातहाल नै भएपछि गाउँलेहरु मिलेर झगडा त छुट्याए तर दीपक घाइते भए । गाउँलेले झगडा छुट्याएपनि आफूलाई अन्याय भएको भन्दै दीपक भोलिपल्ट (सोमबार) प्रहरीमा उजुरी हाल्न तम्सिए ।
झगडाका क्रममा लागेको घाउचोटको उपचार गर्न थलह बजार जाने र उपचारपछि ईलाका प्रहरी कार्यालय वडावनमा गएरी उजुरी दिने भन्दै दीपकले दैलेखबाट जन्ती लिएर आएको जिपलाई पुर्याइदिन आग्रह गरे ।
त्यत्ति काम सकेर घर फर्किने मनस्थितिमा रहेका दीपकसँगै श्रीमती नैनसरा र उनका पाँच वर्षीया छोरी निशापनि जिप चढेर फर्किने भए । भोज खान पुगेका अरु गाउँले र आफन्तहरुपनि घर फर्केने भन्दै चिसोजाडोको परवाह नगरी जिपको ढालामा चढे ।
घाइतेसहितका ११ जना यात्री बोकेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप अस्पताल नपुग्दै मध्यपहाडी राजमार्गको भीरपाटी भन्ने ठाउँमा सोमबार बेलुकीपख सडकबाट झण्डै २५० मीटर तल खस्यो । दुर्घटनामा ४ वर्षकी निशादेखि ४८ वर्षका जयलाल अधिकारीसम्मका १२ जनाले ज्यान गुमाउनुपर्यो ।
सदरमुकाम खलंगाबाट चिकित्सकसहितको टोली छेडागाडस्थित दशेरा स्वास्थ्य चौकी पुगेर लाशहरुको पोष्टमार्टम गर्ने तयारी भइरहेको बताइएको छ ।
थप एक जनाको मृत्यु
जिप दुर्घटनामा घाइते भई उपचारका लागि सुर्खेत ल्याई पुर्याइएका थप एक जनाको मृत्यु भएपछि यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
घाइते अवस्थामा उद्धार गरी ल्याइएका छेडागाड नगरपालिका वा नं ६ का वीरबहादुर खत्रीको सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएपछि जिपमा रहेका सबै १२ जनाको मृत्युभएको प्रहरीले पुष्टि गरेको हो । यो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष निरौँलाले बताए ।
छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, उनकी श्रीमती नैनसरा, छोरी निशासंगै सोहि वडाका जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी सबै एकै वडाका वासिन्दा हुन । यसैगरी गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, चालकका सहयोगी सोहि पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्काको पनि दुर्घटनामा मृत्युभएको छ
के हो दुर्घटनाको कारण ?
गाउँघरको अप्ठेरो बाटो छिचोलेर मध्यपहाडी लोकमार्गमा उक्लिसकेको गाडी कसरी दुर्घटनामा पर्यो भन्ने बारेमा समेत यकिनका साथ भन्न सकिने अवस्था नरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
मध्यपहाडी लोकमार्ग दाँया बाँया नालासहितको १० मिटर फराकिलो सडकबाट भएको दुर्घटनामा परेका सबैको मृत्यु हुनुका साथै प्रत्यक्षदर्शी समेत कोहि नभएकाले यकिन कारण पत्ता लगाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले एक खेप मान्छे पुर्याएर फेरि विहेघरमा फर्किनुपर्ने हतारो, तीव्र गति र यात्री संख्या बढी हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बताए ।
जिप साहु समेत रहेका भगवतीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष दानबहादुर थापाले आफनाे गाडी नयाँ नै भएको जिकिर गर्दै प्राविधिक गड्बडीले दुर्घटना भएको हुनसक्ने सम्भावना अस्वीकार गरेका छन् ।
चुनाव अघि मात्र किनेको गाडी धेरै नचलेको उल्लेख गर्दै उनले पिच र फराकिलो सडकमा नयाँ गाडी दुर्घटनामा परेको घटनाले आपनि आश्चर्यमा परेको प्रतिक्रिया दिए । यसैबीच छेडागाड नगरपालिकाले मृतक परिवारलाई काजकिरिया खर्चवापत २५ हजार दिने बताएको छ ।
नगर प्रमुख रत्नबहादुर खड्काले मृतकका परिवारलाई थप राहत, बेसहारा बालबच्चा लालनपालनका लागि सक्दो सहयोग गर्ने वचनपनि दिए । ‘दुर्घटनाको मूल कारण नै त्यहि झडप हो, बिहेको अघिल्लो दिन त्यहाँ भएको झडपका बारेमा छानबिन गरी दोषीलाई कारवाहीको लागि सिफारिस गर्नेछौं ।’ उनले भने, ‘झडपमा घाइते भएकालाई अस्पताल लैजाँदाखेरी नै दुर्घटना भएको हो । ’
युग संवाददाता । । २८ मंसिर २०७९, बुधबार १८:४३