सम्पादकीय : अभियान सार्थक बनाऔं

सुर्खेत,१८ मंसिर ।

हिन्दू धर्मावलम्वीहरुको बाहुल्यता रहेको नेपाली समाजमा यत्र नारी पूज्यन्ते, रमयन्ते तत्र देवताः अर्थात जहाँ पारीको पूजा अर्थात सम्मान हुन्छ त्यहाँ देवतापनि रमाउँछन् भन्ने धार्मिक मान्यता सदियौंदेखि रहि आएको छ । तर बडो दुःखका साथ भन्नुपर्ने हुन्छ यहि समाजमा न त नारीको सम्मान छ न त समानता नै ।

पूजाका सन्दर्भमा भन्ने हो भने दशैं र तिहारमा गरिने देवीहरुका पूजामा यो आदर्श वाक्य सीमित छ । यहि चाडपर्व र रितिरिवाजमा मात्र महिलारुपी देवीहरुको पूजाआराधना गर्ने कार्यलाई मात्र माथिको श्लोकले भन्न खोजेको पक्कै होइनपनि होला । तैपनि नेपाली समाज अझै पनि रुढिवाद र कुसंस्कारले जकडिएको छ।

नारीप्रति हेरिने दृष्टिकोणमा अझै उदारता नआएको सामाजिक यथार्थ हाम्रासामु र्छलङ्गै छ । नारीप्रतिको असहिष्णु व्यवहार, वोधो चेतना र संकुचित विचार र संकीर्ण मानसिकताले हाम्रो समाज अझैंपनि ग्रसित छ ।

महिलाहरू चुलो–चौकी, घरधन्दाभन्दा बाहिर निस्कनै हुँदैन, पितृसत्तामक र पुरुषप्रधान समाजमा प्रतिष्पर्धात्मक ढंगले अघि बढ्नै हुँदैन भन्ने कुत्सित बुझाइकै कारण महिलाले आजका दिनसम्मपनि सामाजिक, शारीरिक, मानसिक आर्थिक, राजनितिक लगायत अन्य क्षेत्रहरूमा अनेक प्रकारका हिंसाका घटना सहनुपरेको छ ।

हिन्दू धार्मिक मान्यताले नारीको सम्वन्ध दैविक अस्तित्वसँग गाँसेको छ। शास्त्रका श्लोकहरूमा नारीको पूजा गर्नुपर्छ भनेर मुखले भन्ने हाम्रो समाजमा बोक्सी, दाइजो, यौनशोषण, बेचविखन आदिका कारण महिलामाथि हुने हिंसा अमानवीय अत्याचार, पराकाष्ठाको समूल अन्त्य हुन सकिरहेको छैन् ।


अनपढ, अशिक्षित ग्रामीण क्षेत्रका महिलाहरु अहिलेपनि यहि सोच र मान्यताको दुष्चक्रको जाँतामा पिल्सिनुपरेको छ भने शिक्षित, शहरीया कामकाजी महिलाहरुपनि कार्यस्थल तथा सार्वजनिक स्थानहरुमा हुने प्रत्यक्ष अप्रत्यक्ष हिंसाका शिकार हुनुपरिरहेकै छ ।

खासगरी पहाडी र तराइका अशिक्षित समाजमा विद्यमान कुरीति, कुसंस्कार र अन्धविश्वासले गर्दा महिलाहरू विभेद अन्याय, अत्याचार र अपमानित जीवन जिउन बाध्य बनाएको भने शिक्षित र सभ्य भनिएका ठाउँमा पनि महिलालाई उनीहरुकै स्थानमा राख्नुपर्छ भन्ने पितृसत्तात्मक सोचले अघि बढ्न नदिई जहाँको त्यहि थेचार्न खोजीरहेको छ ।

हरेक वर्षजसो मनाइने महिला हिंसाविरुद्धको १६दिने अभियान अहिलेपनि देशभर विभिन्न चेतनामूलक कार्यक्रमहरु गरेर मनाइँदैछन । तर यस्ता औपचारिक कार्यक्रम गरेर जति नै महिला अधिकारका कुरा गरेपनि पीडित महिलाहरुले न्याय नपाउँदा देशमा विधिको शासन र सरकार नै नभएको हो कि भन्ने आभाष निरन्तर नै भइरहेको छ ।

अब ग्रामीण क्षेत्रहरुमा यस्ता अभियानलाई चेतनामूलक रुपमा विस्तार गर्दै लगिएपनि शहरीक्ष क्षेत्रमा भने महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयनसँगै कडा भन्दा कडा कानुन निर्माण गर्नुपर्ने आवश्यकता टड्कारो बन्दै गईरहेको छ ।

किनकी, महिलामाथि हुने यौनजन्य हिंसाका घटनामा हस्तिहरुको संलग्नताको पुष्टि हुँदासमेत प्रभाव र पहुँचका आधारमा अनेकन कानूनी छिद्रबाट उन्मुक्ति दिने घटनाक्रमहरुका कारण कानूनमाथिको जनविश्वास गुम्दै भएको छ । त्यसैले अब गाउँघरमा जाँडरक्सी खाएर श्रीमति कुट्नेदेखि सार्वजनिक पदधारण गरेर व्यक्तिहरुलाई समेत अपराधको परिमाणका आधारमा कानूनी कारवाहीको दायरामा ल्याउन यो अभियान केन्द्रित गर्नैपर्छ । तब मात्र अभियानको सार्थकता रहन्छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार