कर्णाली प्रदेश :  समानुपातिक मतमा एमाले पहिलो

सुर्खेत,१५ मंसिर ।

प्रतिनिधि सभा समानुपातिकतर्फ अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणामअनुसार कर्णालीमा नेकपा (एमाले) पहिलो दल बनेको छ। सुर्खेतमा नेकपा (एमाले)ले यस पटक पनि २०७४ को लोकप्रियतालाई कायमै राखेको हो।

प्रदेश सभातर्फ नेकपा (एमाले)ले समानुपातिकमा एक लाख ८३ हजार ९५० मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो। प्रदेशमा लोकप्रिय मतमा नेपाली कांग्रेस दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएको छ।

चुनावी तालमेलका कारण प्रत्यक्षतर्फको ‘पोजिसन’ विगतभन्दा बदलिए पनि समानुपातिकमा भने मुख्य दलहरू आआफ्नै स्थानमा देखिएका छन्। कांग्रेसले प्रदेशमा यस पटक समानुपातिकमा एक लाख ७० हजार ७५६ मत प्राप्त गरी दोस्रो स्थान सुनिश्चित गरेको छ। त्यस्तै माओवादी केन्द्र एक लाख ३७ हजार ६२९ मतसहित तेस्रो भएर पाँच वर्षअघिकै लोकप्रियता जोगाउन सफल भएको छ।

२०७४ मा कर्णालीमा समानुपातिकतर्फ चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यस पटक पाचौँ स्थानमा पुगेको छ। उसलाई नयाँ दल नेकपा (एकीकृत समाजवादी)ले उछिनेको हो। समानुपातिक मतमा प्रदेशमा चौथो बनेको एकीकृत समाजवादीले ३५ हजार ८२६ मत ल्याएको छ।

विगतको भन्दा एक स्थान तल झरेको राप्रपाले २५ हजार १८६ मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनको तुलनामा यो पार्टीले मत सङ्ख्या भने झन्डै १० हजारले वृद्धि गरेको छ। राप्रपाले २०७४ को चुनावमा १५ हजार १२९ मत ल्याएको थियो।

कर्णालीमा समानुपातिकतर्फ पहिलो, दोस्रो र तेस्रो हुने दलहरूले पनि विगतको तुलनामा ठूलो सङ्ख्यामा मत वृद्धि गरेका छन्। यस पटक अघिल्लो चुनावभन्दा थप १० वटा दल बन्दसूचीमा परेका थिए। प्रदेश सभातर्फ पाँच वर्षअघि १८ दल सहभागी भएकोमा यसपालि २८ दलले प्रतिस्पर्धा गरेका हुन्। प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ पाँच लाख ७७ हजार ८२९ मत प्राप्त भएको छ।

मतदाताले विभिन्न राजनीतिक दलमध्ये एमालेलाई बढी रुचाएको मतपरिणामले देखिएको मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक कमल लम्साल बताउछन्। पार्टीका नीति, कार्यक्रम र विचार तथा त्यसले नागरिकमा पारेको प्रभावका आधारमा समानुपातिक मत प्राप्त हुने गरेको पाइएको उनको भनाइ छ।

२०७४ को निर्वाचनमा कर्णाली प्रदेशमा पहिलो पार्टी बनेको एमालेले समानुपातिकमा एक लाख ६९ हजार ७५५ मत प्राप्त गरेको थियो। यस पटक पार्टी विभाजन हुँदा पनि करिब १५ हजार मत बढाएको छ। सो निर्वाचनमा समानुपातिकमा दोस्रो दलका रूपमा रहेको कांग्रेसले एक लाख ६२ हजार तीन र माओवादी केन्द्रले एक लाख १७ हजार २९८ मत ल्याएर तेस्रो स्थान बनाएको थियो।

अघिल्लो निर्वाचनमा कर्णाली प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ एक र समानुपातिकमा पाँच सिट प्राप्त गरेको थियो। माओवादी केन्द्रले प्रत्यक्षमा नौ र समानुपातिकमा चार सिट ल्याएको तथ्याङ्क छ। प्रत्यक्षतर्फका २४ सिट सुनिश्चित भइसकेकाले अब समानुपातिकबाट १६ जना प्रदेश सभा सदस्यमा चुनिनेछन्।

अहिलेको समानुपातिक मतपरिणामले एमाले र कांग्रेसले समान पाँच÷पाँच, माओवादी केन्द्र चार तथा एकीकृत समाजवादी र राप्रपाले एक÷एक सिट पाउने आकलन गरिएको छ। निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ कुल सदर मतको १.०५ प्रतिशत भोट प्राप्त गरेमा दलहरूले सिट पाउने सुनिश्चितता हुन्छ।

हालै सम्पन्न निर्वाचनमा कर्णालीको ४० सदस्यीय प्रदेश सभामा २४ जना प्रत्यक्ष निर्वाचित भइसकेका छन्। प्रत्यक्षमा कांग्रेस र माओवादी केन्द्रले नौ÷नौ सिट जितेका छन् भने एमालेले पाँच र स्वतन्त्र एक जना निर्वाचित भएका छन्।

गोरखापत्र

तपाईको प्रतिक्रिया