नेपाली भूमिबाटै वाल्मीकि आश्रम पुग्ने झोलुंगे पुल बनाउन नौ वर्ष हण्डर

गण्डक बाँधको पक्की पुल तरेपछि भारतको वाल्मीकि टाइटर रिजर्व सुरू भइहाल्छ। सोमबार बिहान रिजर्वको घना जंगलभित्रको कच्ची सडकमा एक हुल विद्यार्थी भेटिए। करिब १०० किलोमिटर पर पर्ने कोशीनगरको एउटा विद्यालयले आफ्ना विद्यार्थीलाई वाल्मीकि आश्रम देखाउन लैजाँदै थियो।

वाल्मीकि टाइटर रिजर्वको करिब ८ किलोमिटर क्षेत्र पार गरेपछि तमोसा नदी पुगिन्छ। त्यहाँसम्म पुग्न पटक–पटक भारतीय सुरक्षा बलको सुरक्षा जाँचको सामना गर्नुपर्छ। नदी तरेपछि चितवन राष्ट्रिय निकुञ्ज सुरू हुन्छ। केही मिटर अगाडि छ– वाल्मीकि आश्रम।

नेपालको भूमिबाट सिधै जाने बाटो नभएका कारण हामी नवलपरासी र भारतलाई जोड्ने गण्डक पुल तरेर वाल्मीकि आश्रम पुगेका थियौं। हामी पुग्दा आश्रम भारतीय भक्तजनले भरिभराउ थिए।

वाल्मीकि त्रेता युगका भगवान रामसँग जोडिएको छ। महर्षि वाल्मीकिले यहीँ तपस्या गरेर ज्ञान प्राप्त गरेका थिए। उनले यहीँ बसेर रामायण लेखेको विश्वास गरिन्छ। त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास यहीँ पुगेको र लब, कुशलाई जन्म दिएको विश्वास गरिन्छ।

महर्षि वाल्मीकि, सीता र लब, कुशसँग जोडिएका धेरै प्रमाणहरु सुरक्षित रहेका कारण वाल्मीकि आश्रमलाई भारतीयहरु ठूलो तीर्थस्थल मान्छन्। भारतको विहार, उत्तर प्रदेश राज्यका मुख्यमन्त्रीहरूसमेत पटक–पटक यहाँ पुग्ने गरेका छन्। राजा महेन्द्रले यहाँ मन्दिर निर्माणदेखि पूजारीको व्यवस्थापन गर्दै केही परिवारलाई लगेर बस्ती बसालेका थिए। अहिले पनि यहाँ १४ परिवार बासोबास गर्दै आएको छ।

मन्दिरका मूल पूजारी रामशरण गिरीकाअनुसार दैनिक सयौं भारतीयहरू दर्शनका लागि यहाँ आउँछन्। भारतीयको तुलनामा नेपाली निकै कम आउने गरेको उनले बताए।

चितवनको माडी नगरपालिका–१ मा पर्ने भएपनि यहाँ जान नेपालीलाई सहज छैन। आफ्नो देशबाट सिधै जान नपाउने, भारतीय सीमा सुरक्षा बलले कडा निगरानी गर्ने, वन्यजन्तुको डरलगायतका कारण नेपालीलाई चाहेर पनि यहाँ पुग्न असहज छ।

९ वर्षमा पुल बन्यो तर बाटो बनेन

पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट दक्षिण लागेपछि त्रिवेणीधाम पुगिन्छ। जोडिएर बगेको नारायणी नदीको पारी वाल्मीकि आश्रम छ। नेपालबाट सिधै त्यहाँ पुग्नेगरी नारायणी नदीमा झोलुंगे पुल बनाउने सम्झौता गरिएको ९ वर्ष भयो। २ वर्षमा निर्माण सक्नेगरी २०७० सालको असार ३० गते सम्झौता गरिएपनि करिब ६ वर्ष त काम नै सुरु भएन।

सहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनका सब–इन्जिनियर गोपाल थापाले गीता, रुविना मना जेभीले विभिन्न बहाना बनाउँदै पुल निर्माण आलटाल गर्दा निर्माण सम्पन्न हुन ९ वर्ष लागेको बताए। गीता, रुविना मना जेभीले पुल निर्माणको ठेक्का पाए पनि लामो समय आलटाल गरेर पछि चितवनका तारा पौडेललाई पुल निर्माणको अख्तियारी दिएको थियो।

उक्त कम्पनीले निर्माणको अख्तियारी दिएपनि कामबापतको रकम नदिँदा समस्या हुँदै आएको पौडेलले बताए। ‘मैले निर्माणको काम सकिसकें तर निर्माणबापतको रकम अहिलेसम्म पाएको छैन,’ उनले भने, ‘ठेकेदारले सरकारलाई त पनि झुलायो मलाई पनि झुलाइरहेको छ।’

९ वर्षको अवधिमा यो पुल निर्माणको म्याद ५ पटक थप गरियो। भ्याट बाहेक ५ करोड १९ लाख ६६ हजार ७१३ रुपैयाँको लागतमा गत असार असान्तमा ४७९ मिटर लामो झोलुंगे पुल तयार भएको थापाले बताए।

पुल निर्माण भएसँगै नारायणी नदी तरेपछि करिब १७ सय मिटर हिँडेर वाल्मीकि आश्रम पुग्ने ढोका खुलेको छ। तर चितवन राष्ट्रिय निकुञ्जको जंगलमा बाटो निर्माण हुन सकेको छैन। वन क्षेत्रमा मानव चहलपहल बढ्दा पर्यावरणमा पर्न सक्ने असरलाई मध्यनजर गरेर चितवन राष्ट्रिय निकुञ्जले पुलको पल्लो छेउमा बार लगाएर पारि जान रोकेको छ।

‘पुल निर्माण गर्ने, संरचनालाई प्रकृतिमैत्री बनाउने, वारी चेक पोस्ट निर्माण गर्ने र पुलदेखि आश्रमसम्म पुग्ने गोरेटो निर्माण गर्ने काम हाम्रो हो तर चेक पोस्ट निर्माणका लागि आवश्यक जमिन पाउन ढिला भएकाले काम अघि बढ्न सकेको छैन,’ सब–इन्जिनियर थापाले भने, ‘अब जमिन प्राप्त गरेर, लागत स्टिमेटगरी काम अघि बढाउँछौं।’

पुल र मानव चाहलपहलका कारण निकुञ्जको संरक्षणमा असर नपरोस् भनेर झोलुंगे पुलको नजिकै सुरक्षा चेकपोष्ट स्थापना गर्नु आवश्यक रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी गणेश पन्तले बताए।


उनले चेकपोष्ट र पुलदेखि आश्रमसम्मको सडक तयार भएपछि सञ्चालनमा समस्या नहुने बताए। स्थानीय नारायण उपाध्यायकाअनुसार नेपालबाट सिधै वाल्मीकि आश्रम पुग्ने पुल निर्माण भएको थाहा पाएर दैनिक दर्जनौं पर्यटकहरू यहाँ पुग्छन्।

‘तर पुल कटेर जान नसक्ने भएपछि उहाँहरु खिन्न भएर फर्कनुहुन्छ,’ उपाध्यायले भने, ‘पुल बनेपछिको चहलपहलले गाउँमा आर्थिक गतिविधि पनि बढ्न थालेको छ।’ उनले पुल निर्माण भएको सुनेर धेरै भारतीयहरु पनि आएको बताए। आफ्नो भूमिबाट जाँदा धेरै हिँड्न पर्ने भएकाले पहुँचमार्ग बनेपछि नेपालको झोलुंगे पुल भएर वाल्मीकि आश्रम जाने भारतीयको संख्या पनि बढ्ने दाबी उनले गरे।

पूर्व सचिवको मेहनतले बनेको पुल

आत्माराम पाण्डे २०४४ सालतिर जिल्ला प्रशासन कार्यालय चितवनमा उपसचिव पदमा कार्यरत थिए। बावुले धेरै समय वाल्मीकि आश्रममा बिताएका कारण उनको परिचय यो क्षेत्रसँग त्यसभन्दा अघिबाटै थियो।

पाण्डेले विभिन्न सरकारी कार्यालयहरू काम गर्दा वाल्मीकि आश्रमका लागि योजना बनाउने कामहरु गरेको बताए। ‘ठूलो धार्मिक महत्व भएर पनि ओझेलमा पर्दै आएको वाल्मीकि आश्रमको प्रवद्र्धनका लागि म राष्ट्रिय योजना आयोगमा हुँदा योजना नै प¥यो, त्यो योजना कार्यान्वयन गर्नका लागि मैले जनप्रतिनिधिहरुलाई आग्रह पनि गरें तर कसैले वास्ता गरेनन्,’ पाण्डेले भने।

वाल्मीकि आश्रमको विकासका लागि २०६५ सालतिरै योजना बनिसकेको उनले बताए। २०७० सालमा रक्षा मन्त्रालयको सचिव भएर सेवा निबृत्त भएपछि पाण्डे यो पुल निर्माणकै लागि सकृय भए। त्यतिखेर पुल निर्माणको सम्झौता भइसकेको थियो। नेपाल सरकारका तत्कालीन मुख्यसचिव लिलामणि पौडेलले पुलको शिलान्यास गरे।

शिलान्यास भएपनि गण्डक बाँधको नजिकै भएका कारण झोलुंगे पुल निर्माण भारतले रोक्न खोजेको थियो। पाण्डेले तत्कालीन भारतीय राजदुत रञ्जित रेसँगको सम्बन्धको उपयोग गरी पुल निर्माणमा बाधा नपर्नेगरी सहमति बनाए।

‘पुलको आईई गर्न उस्तै झण्झट भयो। सरकारी कर्मचारीहरुसँग राम्रो सम्बन्ध भएपनि नेताहरुसँग सम्बन्ध नभएका कारण काम गर्न धेरै समस्या भए,’ पाण्डेले सुनाए। तर चितवन निकुञ्जले पुल बनाउन आईईमात्रैले नपुग्ने, युनेस्कोबाट अनुमति पनि ल्याउनु पर्ने बतायो। सरकारी सेवाकाक्रममा परिचित व्यक्ति, राजदुतहरुको सहयोग लिएर पाण्डेले युनेस्कोको अनुमति पनि ल्याए।

‘युनेस्कोले संरक्षणका विषयमा धेरै चासोहरु राख्यो। मैले आफ्नो देशभित्र आफ्नै भूमिबाट जान पाउनुपर्ने स्वतन्त्रता र धार्म मान्न पाउने अधिकारको कुरा गहनरुपमा उठाएँ, मेरो कुरालाई युनेस्कोका अधिकारीहरुले गम्भीररुपमा लिए। अन्ततः अनुमति पनि पाइयो,’ उनले सुनाए।

सबैतिरबाट अनुमति आयो तर ठेकेदारले काममा ढिलासुस्ती गर्न थाल्यो। पुल निर्माणका लागि धेरै समय त्रिवेणी क्षेत्रमै बिताएको पाण्डेले बताए।

‘म आफूँ पनि आध्यात्मिक व्यक्ति भएका कारण वाल्मीकि र त्रिवेणी धाम वरपर रहन रुचाउँछु। यी क्षेत्रका लागि केही गर्न सक्न पाए देशकै लागि उपलब्धी हुन्थ्यो भनेर म निरन्तर लागिरहें,’ पाण्डेले भने, ‘पुलको निर्माण त सकियो। अब यो पुल भएर वाल्मीकि आश्रमसम्म पुग्ने व्यवस्था मिलाउन पाए आनन्द हुन्थ्यो।’

पुलबाहेकका अन्य संरचना छिटो निर्माण गर्ने विषयमा पाण्डे चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्ज विभाग, सस्पेन्सन ब्रीज डिभिजनलगायतका कार्यालयसँग नियमिन सम्पर्कमा छन्। ‘अहिले यो पुलमा उभिन पाउँदा पनि मलाई धेरै खुसी लाग्छ, अब नेपालीहरुले आफ्नो धार्मिक क्षेत्रमा जान अर्को देशको बाटो प्रयोग गर्नु पर्दैन भन्ने कुराले मलाई असाध्यै खुसी बनाउँछ,’ उनले भने, ‘सरकारी कार्यालयमा ठूलो पदमा रहेर पनि देशका लागि केही गर्न सकिनँ जस्तो लाग्थ्यो।

त्यसैले रिटार्यड भएपछि लागि परें। अब सपना साकार हुने दिन नजिकिँदैछ।’ वाल्मीकि आश्रमसम्म पुग्ने पुल निर्माण भएपछि पर्यटन व्यवसायीहरु पनि त्रिवेणी क्षेत्रमा आकर्षित हुन थालेका छन्। पर्यटन मन्त्रालयले त्रिवेणी र वाल्मीकि आश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यकारुपमा अघि सारेको छ। पुरातत्व विभागले पनि यहाँको संरक्षण र उत्खनन् गर्न यस वर्ष बजेट छुट्टाएको छ।

सेतोपाटी


Leave a Reply

Your email address will not be published.


ताजा समाचार