जग्गा खरिदमै अल्झियो चौकुने सिमेन्ट उद्योग

सुर्खेत,१५ मंसिर ।

सुर्खेतको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने चौकुने सिमेन्ट उद्योग स्थापना जग्गा खरिदमै अल्झिएको छ । उद्योग स्थापना गर्ने भन्दै २०३५ सालमा खानी तथा भूगर्भ विभागले चौकुने गाउँपालिका–६, चौकुनेमा चुनढुङ्गा, माटोलगायतको परीक्षण गरिसके पनि अहिलेसम्म सिमेन्ट उद्योग स्थापना हुन सकेको छैन ।

साथै उद्योग स्थापनाको लाइसेन्स २०६६ सालमा मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले लिएको र हाल बल्लतल्ल जग्गा खरिद गर्न लागेको छ ।

अहिलेसम्म उद्योग स्थापनाले गति लिन नसकेपछि लाइसेन्स रद्द गर्नुपर्ने आवाज स्थानीय बासिन्दाले गरेका छन् भने निर्माण कम्पनीले भने जग्गा खरिद प्रक्रिया जारी रहेको र त्यो सकिएपछि उद्योग स्थापनाको दोस्रो चरणको काम थालिने जनाएको छ ।

चौकुने गाउँपालिका–६ का स्थानीय बासिन्दा जीवन देवकोटाले उद्योग स्थापनाको कामको गति निकै ढिलो भएको बताए । उनँले उद्योग स्थापनाका लागि कसैले पनि दबाब र पहल गर्न नसकेको बताउँदै जसका कारण पश्चिम सुर्खेतको विकास हुन नसकेको जिकिर गरे ।

यस्तै सोही स्थानकै खगिसरा ढकालले काम नगर्ने भए लाइसेन्स अर्कोलाई दिएर काम गर्न लगाउनुपर्ने बताए । उनले उद्योग स्थापना हुन्छ भनेको धेरै भए पनि अहिलेसम्म देखिने कुनै काम हुन नसकेको गुनासो गरे ।

उद्योग स्थापना हुन सके धेरैले घरमै रोजगारी पाई भारततिर जान नपर्ने, पश्चिम सुर्खेतको विकास हुने र यस क्षेत्रका मानिसको आयस्तरमा वृद्धि हुने थियो भन्दै उनले अब पनि काम नगर्ने कम्पनीको लाइसेन्स खारेज गरेर अर्को काम गर्नेलाई दिनुपर्ने बताए ।

चौकुने गाउँपालिकाले निर्माण कम्पनीले लाइसेन्स होल्ड गरेर राख्दा काम हुनै नसकेको ठहर गरेको छ । साथै काम नगर्ने कम्पनीलाई लाइसेन्स नवीकरण गर्न नदिने निर्णय पनि गाउँपालिकाले गरेको छ । गाउँपालिका अध्यक्ष खड्क विकले यति लामो समयसम्म काम नगर्ने निर्माण कम्पनीको लाइसेन्स नवीकरण गर्न नदिने गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले गरेको बताए ।

उनले निर्माण कम्पनीको लापरबाहीले उद्योग स्थापनाको कामले गति लिन नसकेको आरोप लगाए । निर्माण कम्पनी मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजका साइट इन्चार्ज एवं आयोजना अधिकृत लोकबहादुर अधिकारीले उद्योग स्थापनाका लागि जग्गा खरिद प्रक्रिया चलिरहेको बताए ।

उनले उद्योग स्थापनाका लागि खानी सञ्चालन गर्न करिब १५० रोपनी जग्गा आवश्यक पर्नेमा अहिलेसम्म करिब ८० रोपनी जग्गा खरिद गरिसकिएको र बाँकी तीन÷चार महिनामा सबै खरिद गरी सकिने जानकारी दिए । जग्गा खरिद प्रक्रिया सकिएपछि उद्योग स्थापनाको दोस्रो चरणको काम सुरु हुने दाबी उनले गरेका छन् । दोस्रो चरणमा खानीका लागि आवश्यक पर्ने संरचना, घरलगायतका काम हुनेछन् ।

जग्गा खरिद गर्दा मूल्य नमिल्ने, जग्गावाला कोही बाहिर बस्ने हुँदा केही समय लागेको स्वीकार्दै उनले अहिले भने तीव्र गतिमा काम भइरहेको जिकिर गरे । खानी भएको स्थलमा एक्साभेटरलगायतका सामग्री पनि पु¥याएसकिएको उनको भनाइ छ । खानी स्थलसम्म पुग्ने सडक पनि निर्माण भइसकेको छ ।

खानी विभागले २०३६ सालदेखि २०३९ सालसम्म चौकुने र बड्डीचौरसँगैको लखरपाटामा ड्रिलिङ गरी ढुङ्गा परीक्षण गरेको थियो । करिब तीन सय फिट गहिराइसम्म ड्रिलिङ गरी ढुङ्गा परीक्षण गरिएको थियो भने सातवटा पिल्लरसमेत निर्माण गरिएको थियो ।

सिमेन्ट उद्योग सञ्चालन भएमा दैनिक एक हजार पाँच सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने निर्माण कम्पनीले जनाएको छ । कम्पनीका परियोजना अधिकृत अधिकारीले उद्योगमा दुई हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गर्नुभयो । एक अध्ययनका अनुसार चौकुनेमा करिब चार सय वर्षसम्म उद्योगलाई पुग्ने ढुङ्गा पाइएको जनाइएको छ ।

गोरखापत्र

तपाईको प्रतिक्रिया